१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रयोगात्मक विधिका लागि विद्यालयकै पसल

रमेशचन्द्र अधिकारी

धनकुटा — ऐच्छिक रूपमा पशु विज्ञान विषय पठनपाठन हुँदै आएको धनकुटाको महालक्ष्मी नगरपालिका ७ को जनता माविले पशुपक्षीको औषधि बिक्री कक्ष सञ्चालन गर्दै आएको छ ।

प्रयोगात्मक विधिका लागि विद्यालयकै पसल

त्यस क्षेत्रमा फस्टाउँदै गएको पशुपालन व्यवसायलाई ख्याल गर्दै जनशक्ति उत्पादन गर्न पशु विज्ञान विषय पठनपाठन गर्दै आएको प्रधानाध्यापक नगेन्द्र भट्टराईले बताए । विद्यार्थीलाई प्रयोगात्मक विधिको सहजता र स्थानीयलाई सहज रूपमा पशु स्वास्थ्य उपचार दिलाउन पसल प्रभावकारी बन्दै गएको छ । ३ वर्षअघिदेखि विद्यालयमा पशु विज्ञान पढाइ गरिंँदै आएको छ ।


तर गत वर्षदेखि विद्यालयको हाता नजिकै रहेको भवनमा पसल सञ्चालन गरिएको भट्टराईले बताए । ‘अझ विद्यार्थीलाई प्रयोगात्मक विधिका लागि पसल प्रभावकारी बनेको छ,’ उनले भने, ‘स्थानीयले आफ्ना बिरामी पशुपक्षी उपचारका लागि ल्याउने र औषधि पनि सुलभ रूपमा वितरण गरिँदा सबैलाई लाभ मिलेको छ ।’


त्यसो त विद्यार्थीलाई प्रयोगात्मक विधि र प्रयोगशाला सञ्चालन गर्न समेत पसल सघाउ भएको छ । मासिक रूपमा औषत १५ हजारको औषधि बिक्री हुने गरेको पसल विक्रेताका रूपमा रहेका प्रशिक्षण सहायक यज्ञ दाहालले बताए । त्यहाँ बन्ध्याकरण तथा उपचारका लागि ल्याइएका पशुपन्छीको प्रयोगशाला जाँच भने नि:शुल्क गरिन्छ । विद्यालयले सञ्चालन गरेको पसल र पशुपक्षीको उपचारले राहत महसुस गरेको स्थानीय रामचन्द्र पौडेलले बताए । उक्त विद्यालयमा हाल कक्षा ९ मा २२, कक्षा १० मा २७ र ११ कक्षामा ४७ विद्यार्थी अध्ययनरत छन् ।


पसलबाट बिक्री भएको रकम प्रयोगात्मक विधिका लागि र औषधि खरिद गर्न खर्च हुने गरेको सहायक प्रशिक्षक पदम कटुवालले बताए । प्रत्येक टोल बस्तीमा जनशक्ति उपलब्ध गराउने उद्देश्यले विद्यालयले थालेको पठनपाठनमा स्थानीय तहले समेत चासो दिनु पर्ने सम्बद्ध शिक्षकको भनाइ छ । पढाइप्रति विद्यार्थीको आकर्षण बढदै गएको प्रमुख प्रशिक्षक रहेका पशु विज्ञानमा स्नातकोत्तर नितेशकुमार यादवको भनाइ छ ।


६० प्रतिशत प्रयोगात्मक विधिको पठनपाठन हुने भएकाले यसलाई धान्ने खर्च जुटाउन पसलको आम्दानीले सघाउ पुगेको प्रशिक्षक कटुवाल बताउँछन् ।


वार्षिक रूपमा प्रतिविद्यार्थी ११ हजारका दरले रकम सरकारले उपलब्ध गराउने भए पनि भ्रमण तथा प्रयोगशाला, प्रयोगात्मक शिक्षण विधिका लागि उक्त रकम अपुग रहेकाले विकल्पमा पसल सञ्चालन गरिएको संलग्न शिक्षकको भनाइ छ ।


पशु विज्ञान विषय आफ्नै घर बस्तीका लागि प्रभावकारी रहेको ११ कक्षामा अध्ययनरत अञ्जु थापामगर बताउँछिन् । पसलमा ल्याइने गाई बाख्रा तथा कुखुरा लगायतको उपचार गरिने उनले बताइन् । भविष्यमा दक्ष पशु स्वास्थ्यकर्मी बन्ने उद्देश्यले पशु विज्ञान रोजेको थापाले बताइन् ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?