२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पाहुनालाई कोदोको रोटी र वाचिपो

सिद्धिथुम्का महोत्सव
विप्लव भट्टराई

इलाम — ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धिथुम्का महोत्सव सुरु भएको छ । सिद्धिथुम्का सूर्योदय र सूर्यास्तसँगै हिमशृंखला र तराईका फाँट नियाल्न अब्बल मानिन्छ ।

पाहुनालाई कोदोको रोटी र वाचिपो

सुरुङ, भरना, थुम्काथुम्कीमा सजिएको चियाबारी, विभिन्न जातजातिको संस्कृतिले यो क्षेत्र घुम्नलायक छ । महोत्सवमा जिल्लाभित्र र बाहिरबाट उल्लेख्य संख्यामा आन्तरिक पर्यटक जम्मा हुने आयोजकको विश्वास छ ।


१६९३ मिटरको उचाइमा रहेको सिद्धिथुम्काबाट सूर्योदय, सूर्यास्त, हिमश्रृंखला र पूर्वाञ्चलका थुप्रै भू–भाग राम्ररी देख्न सकिन्छ । इलाम सदरमुकामवाट १५ किमि पश्चिममा रहेको सिद्धिथुम्का पुग्ने सडकको सहज पहुँच भएसँगै आन्तरिक पर्यटकको संख्या पनि थपिँदो छ । सिद्धिथुम्काकै उत्तरतर्फको अजम्बरे डाँडाबाट हुने दृश्यावलोकनले पनि पर्यटकको मन तान्ने गरेको छ । यो डाँडाबाट जिल्लाका अधिकांश स्थानीय तह र वडा देख्न सकिन्छ ।


पञ्चमी बजार छेउको खान्द्रुङ गुफा पनि पर्यटकको आकर्षणको केन्द्रबिन्दु भएको छ । पत्रैपत्रको चट्टानले बनेको यो गुफामा देवीदेवता र जनावरका आकृति हेर्न सकिन्छ । विभिन्न द्वारबाट छिरेर गुफाको अवलोकन गर्न सकिन्छ ।


कोदोको रोटी, फिलुंगे, वाचिपा, किनामा, आलम, गुन्द्रुकको अचार र महलगायत स्थानीय उत्पादनको स्वाद आगन्तुकलाई चखाउने स्थानीयले योजना बनाएका छन् । फाल्गुनन्द मन्दिर, पंखेलुङ झरना, सिद्धिदेवीको मन्दिरलगायत पनि आगन्तुकका लागि थप गन्तव्य हुनेछन् । सिद्धिथुम्काको पर्यटन विकाससँगै यस क्षेत्रको विकास गर्न स्थानीय महोत्सवमा जुटेका हुन् । महोत्सव ३ दिन अर्थात् मंगलबारसम्म चल्ने आयोजक समिति अध्यक्ष गोविन्द गुरागाईंले बताए ।


‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौं’ भन्ने नारा साथ सञ्चालित महोत्सवमा सांस्कृतिक कार्यक्रम पनि राखिएको छ । महोत्सवमा प्रमुख आकर्षणका रूपमा सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसहित सिद्धिथुम्का चुली, फुङफुङे झरना, ऐतिहासिक गुफा, मन्दिर, गुम्बा, देवीस्थान, प्राकृतिक, जैविक विविधताका साथै जातीय सांस्कृतिक नाचगान, स्थानीय खानपिनका परिकार छन् । इलामको चुरे क्षेत्रको आकर्षक दृश्य पनि महत्वमा आउने पर्यटकले हेर्न सक्नेछन् ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?