कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सामाजिक कार्यमा महिला सक्रिय

चुलोचौकामा सीमित महिला गाउँकै नेतृत्वमा
चन्द्र कार्की

तेह्रथुम — विद्यालयको दिगो आर्थिक स्रोत जुटाउन मछिन्द्र मावि सुदापले आयोजना गरेको सर्वपक्षीय भेलामा उपस्थितिका लागि स्थानीय मखमली महिला कृषक समूह सुदाप ४ की अध्यक्ष मोतीमाया मादेनलाई लिखित पत्र आयो ।

पत्रमा लेखिएको थियो ‘आगामी दिनमा विद्यालयको आर्थिक स्रोत जुटाउनका लागि सर्वपक्षीय रूपमा बृहत् छलफल गर्नुपर्ने भएकाले यहाँको अनिवार्य गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध छ ।’ पत्रमा विद्यालयका प्रध्यानाध्यापक कुलबहादुर बस्नेतको हस्ताक्षर थियो ।


केही समयअघिसम्म मोतीमायालाई गाउँ स्तरमा आयोजना हुने कुनै पनि सार्वजनिक महत्त्वको कार्यक्रममा बोलाइदैनथ्यो । मोतीमाया एक्ली थिइन् । गाउँघरमै सामान्य खेती किसानी गर्थिन् । बालबच्चा स्याहार्थिन् । श्रीमान् रोजगारीका लागि खाडी मुलुकमा थिए ।


उनको पहिचान यतिमै सीमित थियो । युरोपियन कमिसनको सहयोगमा महिला समूह मजबुतीकरण परियोजना गाउँमा भित्रियो । सोही परियोजनाको सहयोगमा गठन भएको समूहको नेतृत्व उनै मोतिमायाले सम्हाल्ने मौका पाइन् ।


परियोजनाको सहयोगमा समयसमयमा गाउँ र जिल्ला स्तरमा हुने तालिम, गोष्ठी तथा अन्य क्रियाकलापमा उनले सहभागिता जनाउँदै गइन् । यस्ता गतिविधिमा संलग्न हुँदै जाँदा उनले आफ्नो क्षमता र नेतृत्व विकास गर्ने मौका पाइन् । टोल र वडा स्तरमा हुने सार्वजनिक महत्त्वका क्रियाकलापमा भाग लिदै जाँदा उनको आवाज पनि समुदायले सुन्न थालेको छ । पछिल्लो समय समाजमा उनले बोलेका कुरा र विषयबस्तुले निकै महत्त्व राख्न थालेको वडा सचिव हरिप्रसाद कोइरालाले बताए ।


गाउँपालिकाले समयसमयमा आयोजना गर्ने वार्षिक खर्च विवरण र गत आवमा वडामा भएका विकास निर्माणका कामको समीक्षा र मूल्याङकन गर्न बोलाएको एक दिने सर्वपक्षीय छलफल कार्यक्रममा समेत उनको सहभागिता थियो ।


मोतीमायालाई वडा सचिव कोइरालाले पत्रचार गरी छफलफल कार्यक्रममा बोलाएका थिए । समूहमा आबद्ध भएपछि धेरै ग्रामीण महिलालाहरू घरको चुलोचौका छोडेर गाउँमा हुने सार्वजनिक महत्त्वका कार्यक्रममा भाग लिन सक्ने भएका छन् । अरूका अगाडि निर्धक्कसँग आफ्ना कुरा राख्न सक्ने, बोल्न नडराउने, समूहका सदस्यहरूलाई आपसमा मिलाएर समूहको नेतृत्व हाक्न सक्ने क्षमताको विकास यहाँका महिलाहरूमा हुँदै गएको वडा सचिव कोइरालाले बताए । ‘अहिले त म गाउँकी अगुवा महिला भएकी छु,’ कुराकानीका क्रममा मोतीमायाले भनिन् । समूहका ३३ जना महिला सदस्यको नेतृत्व उनैले गरेकी छन् ।


समूहमा आवद्ध भएपछि यहाँका सवै महिलाले लेखा व्यवस्थापन, दिगो कृषि, जलवायु परिवर्तन जोखिम न्यूनीकरण, जैविक मल बनाउने लगायतका धेरै विषयका व्यावहारिक तालिम पाएका छन् । नियमित तालिममा भाग लिँदै जाँदा आफ्ना अधिकारका विषयमा धेरै कुरा थाहा भएको स्थानीय कमला बराइलीले बताइन् । गाउँमा हुने छलफल र भेलामा पनि महिलाहरूले उपस्थिति जनाउँछन् । अधिकारका कुरा जानकारी भएपछि वडा तथा गाउँपालिका परिषदमा महिला, कृषि र बालबालिका जस्ता शीर्षकमा छुट्टिने रकमको समानुपातिक बाँडफाँडमा समेत उनीहरूले सहभागिता जनाउने गरेका छन् ।


क्षमता र नेतृत्व विकाससँगै आयआर्जन बढाउन महिलाहरूले सामूहिक बंगुर पालन गरेका छन् । पहिलोपटक खोरमा २२ वटा बंगुरका पाठा हुर्किरहेका छन् । बंगुर पालनले आयआर्जन बढाउन सघाउ पुर्‍याएको समूहकी सदस्य फिपरानी लिम्बूले बताइन् ।


समूहका ओतीमाया लिम्बू, पृथीमाया लिम्बू, भक्तमाया लिम्बू र हाङमा लिम्बूले अदुवा खेती गरेका छन् । समूहको कोषमा ७० हजारभन्दा बढी जम्मा भएको छ । सुरुमा ५ रुपैयाँबाट सुरु गरेको मासिक वचत अहिले बढाएर ५० रुपैयाँ पुर्‍याएका छन् । यो रकमलाई समूहका सबै महिलाले पालैपालो घुम्तीकोषका रूपमा आयमूलक काममा चलाउँछन् ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?