कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गुराँस क्षेत्र ‘उत्कृष्ट गन्तव्य’

कान्तिपुर संवाददाता

तेह्रथुम — गुराँस भूमि तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र नेपालका उत्कृष्ट सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा छनोट भएको छ ।

गुराँस क्षेत्र ‘उत्कृष्ट गन्तव्य’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै छनोट गरेका नयाँ पर्यटकीय गन्तव्य सूचीमा एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टीएमजे क्षेत्र परेको हो । मन्त्रालयले पर्यटन सम्भावना बोकेका तर ओझेलमा परेका १ सय नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित छनोट गरेको जनाएको छ । टीएमजे तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल हो ।


यस क्षेत्रको जैविक विविधता संरक्षण र पर्यटन प्रवद्र्धनमा सरकारी तथा गैरसरकारी संघसंस्थाले विगत दुई दशकदेखि काम गर्दै आएका छन् । टीएमजे क्षेत्रलाई मन्त्रालयले नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा राखेको छ ।


यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको नयाँ सूचीमा राख्न नेपाल पर्यटन बोर्ड, स्थानीय र प्रदेश सरकार समेतले सिफारिस गरी मन्त्रालयसमक्ष पठाएको प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थान प्रस्तावित भएको र तिनीहरूको प्रवद्र्धन गरिने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए ।


टीएमजे क्षेत्रलााई स्थानीयले समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न माग गर्दै आएका थिए । तीन जिल्लाका तत्कालीन २५ गाविसमा फैलिएको बृहत् लेकाली बन, नागी र घाँसे क्षेत्र समेत रहेको यो क्षेत्र संरक्षित र लोपोन्मुख वन्यजन्तु र जडीबुटी रहेको स्थान समेत हो ।


टीएमजे क्षेत्रलाई तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०५३ अनुसार ०५५ सालमा संरक्षण क्षेत्र घोषणा गरेको थियो । स्थानीयले यो घोषणलाई खारेज गरी वन ऐनअन्तर्गत समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गर्न मन्त्रालय समक्ष माग गरेपछि कार्यान्वयनमा आउन भने सकेको थिएन ।


टीएमजे क्षेत्र नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत भएसँगै हालको क्षेत्रफललाई विस्तार गरी कन्चनजंघा र मकालु सरक्षण क्षेत्रसम्म पुर्‍याउने विषयमा समेत वन मन्त्रालयसँग सहमति भएको तिवारीले बताए । यी सबै विषयमा नियमावली तयार गरी टीएमजे क्षेत्रको विकासका लागि प्रारम्भिक प्रस्तावना तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सहसचिव महेश्वर ढकाल र राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति संयोजक तथा प्रदेश सांसद तिवारीलाई वन मन्त्रालयले जिम्मेवारी दिएको छ ।


टीएमजे क्षेत्रमा ८ हजार ८ सय ७४ हेक्टर क्षेत्रफलमा घना गुराँस वन मात्र छ । यो क्षेत्रमा १३ जलाधार क्षेत्र र ३३ वटा पोखरी छन् । चीनको स्वायत्त क्षेत्र तिब्बतको झोमोलोङमा प्रकृति आरक्षसँग गाँसिएको मकालु वरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा संरक्षण क्षेत्रको बीचमा रहेको यो क्षेत्र भुटानको जैविक कम्प्लेक्समार्फत नेपाललाई भारत, चीन र भुटानसँग जोड्ने प्राकृतिक करिडोर समेत भएकाले टीएमजे क्षेत्र अन्तर्राष्ट्रिय पर्यटकको समेत रोजाइमा पर्ने ताप्लेजुङका सांसद योगेश भट्टराईले बताए ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?