२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

इटहरीका प्रमुख घरदैलोमा

प्रदीप मेन्याङ्बो

सुनसरी — तिहार सकिएलगतै इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरीले जनताका माग र अपेक्षा बुझ्न भन्दै घरदैलो थालेका छन् ।

इटहरीका प्रमुख घरदैलोमा

इटहरीको विकास निर्माण गर्न उपमहानगरपालिकाको कार्यकापालिकाले बनाएको योजना र स्थानीय मतदाताको अपेक्षा मेल खान्छ कि खाँदैन भनेर बुझ्न घरदैलो अभियानमा निस्केको प्रमुख चौधरीले बताए । चौधरीले मंगलबार कान्तिपुरसँग भने, ‘यो घरदैलो अभियान कुनै सस्तो लोकप्रियता कमाउन होइन । कार्यालयमा बसेर बनाएको योजना र स्थानीय बासिन्दाको अपेक्षाबीच तुलना र बुझ्न निस्केको हुँ ।’


उनले सहरका विभिन्न क्षेत्रमा आर्थिक अवस्था नाजुक भएका बासिन्दाका आर्थिकस्तर उकास्न के गर्न सकिन्छ भन्ने विषयमा पनि उनीहरुबाटै रायसल्लाह, सुझाव बटुल्नका लागि घरदैलो अभियानमा लागेको बताए । उपमहानगरपालिकाले पारित गरेका कतिपय योजनाहरुमा विवादसमेत आउने हुनाले घरघरमै पुगेर बास्तविक जनताको चाहना जान्न उनी प्रत्येक बिहान टेम्पो चढेर घुम्ने गरेका छन् । इटहरी १० आमझोंकीमा स्थानीयवासिन्दासँग उनले अपेक्षा बुझ्ने प्रयास गरे । समस्याहरु सुने । विकास निर्माणका लागि गाउँ, टोलका बासिन्न्दाले दिएको सुझाव आफ्नो डायरीमा टिपे ।


उपमहानगरपालिकाले विभिन्न वडाको विकासमा गरिने खर्चबारे अधिकांश वडावासीलाई जानकारी नभएकाले भ्याएसम्म भेटेका सबैलाई खुलस्त पारे । ‘उपमहानगरवासीको दरिलो पहुँच अझै उपमहानगरको कार्यालयमा छैन । कतिपयको पहुँच भए पनि आफ्ना कुरा राख्न सक्दैनन्' उनले भने, 'यस्तो अवस्थामा उनीहरुको कुरा सुन्ने, बुझ्ने र मनन गर्ने अवसरको रुपमा मैले घरदैलो अभियानलाई तीव्र पारेको छु ।’


नगर प्रमुख नै घरैमा आएर गाउँ, टोलको विकास गर्न सल्लाह सुझाव लिएपछि वडावासीहरु मख्ख परेका छन् । पहिलो चरणमा वडा १० का घरघरमा घुमिरहेका प्रमुख चौधरीले वडावासीसँग आफूले घोषणा गरेका योजनाहरु तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता पनि जनाए । उनले वडा नम्वर १० मा जातीय संग्राहलय, ट्रमा सेन्टर, बुढीगंगा किनारमा फनपार्क, क्यान्सर अस्पताल बनाउने विषयमा सम्भाब्यता अध्यन भइरहेको बताए । उनले घरदैलो अभियानलाई निरन्तरता दिनेसमेत बताएका छन् । मंगलबार नै वडा ११ को छोटी पुल पुगेर राय सुझाव टिपोट गरे ।

प्रकाशित : कार्तिक २७, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?