कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विपन्न समुदायलाई बासकै चिन्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सुरज ऋषिदेव मजदुरी गर्छन् । दिनमा पाँच सय रुपैयाँ कमाउँछन् । यो कमाइमा दुई छोराछोरीसहित ६ जनाको परिवार आश्रित छ ।

विपन्न समुदायलाई बासकै चिन्ता

बिर्तामोड नगरपालिका ३ स्थित अन्धुवा खोला किनारमा उनको सहित १० परिवारको बसोबास छ । बस्तीसम्म जाने बाटो छैन । बिजुली छैन । ट्युवेल र शौचालय पर्याप्त छैन । बर्षातमा सबैका घर डुबानमा पर्छन् ।


मुसहर समुदायका उनीहरू सबै भूमिहीन हुन् । उनीहरू अहिले ग्रामीण प्रशिक्षण केन्द्र कलवलगुडीको जमिनमा बसोबास गरिरहेका छन् । मुसहर बस्तीका कसैको पनि राम्रो घर छैन । चिसो मौसम सुरु भइसकेको छ । न्यानो लुगा र राम्रो टाँटीबेरा भएको घर नहुँदा उनीहरू प्रभावित हुन थालिसकेका छन् । मुसहर बस्तीमा आधारभूत आवश्यकता आवासकै ठूलो समस्या छ । ‘हाम्रो ठूलो समस्या भनेकै घर हो । मजदुरी गरेर घर बनाउन सकिएन,’ सुरजले भने, ‘मेरो एक जनाको कमाइले ६ जनाको पालन पोषण गर्नु परेको छ । कसरी बनाउनु घर ?’ उनले आफ्नै जमिन नभएकाले पनि घर बनाउन नसकिएको दु:खेसो पोखे ।


जिल्लामा सीमान्तकृत समुदायभित्र रहेका मुसहर जाति अति विपन्न वर्गमा पर्छन् । मुसहर बस्तीका पुरुषहरू काममा जान्छन् । महिला भने घरमै बस्छन् । ‘बस्ने घर नै दह्रो नहुँदा सबै कुरा कमजोर हुदो रहेछ,’ बिनोद ऋषिदेवले भने, ‘दैनिक ज्याला गरेर ल्याएको पैंसा चामल, तरकारी किन्दैमा सकिन्छ । अहिलेसम्म एउटा सानै भए पनि घर बनाउन सकिएन ।’


उनले दर्बिलो घर बनाउने कोसिस गरिरहेपनि अहिलेसम्म घर बनाउन नसकेको दु:ख सुनाए । उनी अर्काकोमा घर बनाउने मिस्त्री काम गर्छन् । तर, आफ्नै लागि उनले घर बनाउने पैसा जोहो गर्न सकेका छैनन् । बाँसको टाँटीबेरा भएको उनको घर वर्षेनी मर्मत गर्नुपर्छ ।


‘वर्षातमा सबैको घर डुबानमा पर्छ । टाँटीबेराको घर वर्षेनी मर्मत गरिएन भने भत्किएर बस्न नै नमिल्ने हुन्छ,’ उनले भने । उक्त बस्तीमा २० बालबालिका छन् । उनीहरूमध्ये १३ जना विद्यालय जान्छन् । बस्तीमा सरसफाइ छैन । स्वास्थ्यसम्बन्धी ज्ञानको कमी छ । सरसफाइ र स्वास्थ्यसम्बन्धी ज्ञानको कमीका कारण बस्तीका प्राय: बिरामी भइरहन्छन् । परिवार पाल्न धौधौ पर्ने उनीहरूसँग थप खर्च गर्ने पैसा हुँदैन । टाँटीबेराकै घर मर्मत गर्न तथा परिवारका सदस्यको औषधोपचार गर्नु परे ऋण लिनुको उनीहरूसँग विकल्प हुँदैन । अधिकांश परिवार ऋणमा डुबेका छन् । कसैले लघुवित्त विकास बैंकहरूबाट ‘किस्ता’ उठाएका छन् भने कसैले ‘साहु’ सँग ऋण लिएका छन् ।


‘परिवार पालेर किस्ता लिर्न उनीहरूलाई धौधौ पर्छ,’ स्थानीय सञ्चारकर्मी इन्द्रसिंह राजवंशीले भने, ‘कसैले सहयोग नगरे, उनीहरू आफैंले घर बनाउन सक्ने अवस्था छैन ।’ उनले बाजे पुस्तादेखि नै उनीहरू खरको छानो भएको झुप्रो घरमा बस्न बाध्य रहेको बताए । ‘मानिसको आधारभूत आवश्यकता भनेकै आवास हो । तर, उनीहरूसँग यही आवास पनि छैन,’ राजवंशीले भने, ‘यस विषयमा मैले स्थानीय सरकार तथा संघसंस्थालाई आग्रह गरेको छु । कसैले यिनीहरूलाई घर बनाइदिए यी दुखीहरूले ठूलो राहत पाउथे ।’

प्रकाशित : कार्तिक २८, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?