कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुझाव लिँदै जनप्रतिनिधि

कान्तिपुर संवाददाता

सुनसरी — चुनावमा भोट माग्न र जितेपछि धन्यवाद दिन घरघर डुलेका इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरी तिहार सकिएलगतै जनताको माग र अपेक्षा बुझ्न घरदैलो गर्न थालेका छन् ।

इटहरीको विकास निर्माण गर्न उपमहानगर कार्यकापालिकाले बनाएको योजना र स्थानीय मतदाताको अपेक्षा मेल खान्छ कि खाँदैन भनेर बुझ्न घरदैलो अभियानमा निस्केको प्रमुख चौधरीले बताए ।


‘यो अभियान सस्तो लोकप्रियता कमाउन होइन,’ उनले भने, ‘कार्यालयमा बसेर बनाएको योजना र स्थानीय बासिन्दाको अपेक्षावीच तुलना गर्न र बुझ्न निस्केको हो ।’ उनले सहरका विभिन्न क्षेत्रमा आर्थिक अवस्था नाजुक भएका बासिन्दाको आर्थिक जीवन स्तर उकास्न के गर्न सकिन्छ भन्ने विषयमा पनि उनीहरूबाटै राय सल्लाह सुझाव बटुल्नकालागि घरदैलो अभियानमा लागेको बताए ।


उपमहानगरले पारित गरेका कतिपय योजनामा विवाद समेत आउने हुनाले घरघरमै पुगेर बास्तविक जनताको चाहना जान्न उनी प्रत्येक विहान टेम्पो चढेर घुम्ने गरेका छन् । इटहरी १० आमझांकीमा स्थानीय बासिन्दासँग उनले जनअपेक्षा बुझ्ने प्रयास गरे । समस्याहरू सुने । विकास निर्माणका लागि गाउँ टोलका बासिन्दाले दिएको सुझाव आफ्नो डायरीमा टिपे ।


उपमहानगरले विभिन्न वडाको विकासमा गरिने लागत खर्चबारे अधिकांश वडाबासीलाई जानकारी नभएकाले भ्याएसम्म भेटेका सबैलाई खुलस्त सुनाए । नगरका प्रमुख नै घरैमा आएर गाउँ टोल र वडाको विकास गर्न अब के गर्न सकिन्छ भनेर प्रश्न गर्दै सल्लाह सुझाव लिएपछि वडाबासीहरू खुसी छन् ।


पहिलो चरणमा वडा १० को विभिन्न टोलका घरघरमा घुमिरहेका प्रमुख चौधरीले वडाबासीलाई अनौपचारिक शैलीमा भने, ‘तपाईहरू बस्नु भएको यो वडाको विकासका लागि यो वर्ष वजेटवाट ९० लाख रकम विनियोजन गरिएको छ । इटहरी १० स्थित ज्ञानोदय प्रावि, आमझोकी, छोटीपुल र सिमरवना हुँदै भिसी शाखा नहर जोड्ने ६ किलोमिटर ३ सय मिटर सडक कालोपत्रेमा उक्त बजेट

खर्च गरिनेछ ।’


उनले तीन वर्षमा ती योजनाहरू पूरा गर्ने प्रतिवद्धता पनि जनाए । उनले वडा १० मा जातीय संग्रहालय, ट्रमा सेन्टर, बुढिगंगा किनारमा फन पार्क, क्यान्सर अस्पताल वनाउने विषयमा सम्भाव्यता अध्ययन भइरहेको योजना सुनाए । उनले भने, ‘कतिपय कुरा तपाईहरूलाई चित्त नबुझ्न सक्छ । हो, त्यसैका लागि स्थानीयवासीको राय बुझ्न आएको हो ।’ उनले आफ्नो घरदैलो अभियानलाई निरन्तरता दिने बताए ।


वडा ११ को छोटी पुल पुगेर स्थानीय बासिन्दाले दिएको चिया नास्तासँगै राय सुझाव टिपोट गरे । उनले भने, ‘इटहरीमा तीन वर्षभित्रमा भित्री सडकहरू कालोपत्रे गरेर गाउँलाई सहरसँग जोड्ने कार्यलाई तीव्रता दिने अभियानमा स्थानीयलाई सक्रिय बनाउन घरदैलो उचित लाग्यो ।’

प्रकाशित : कार्तिक २८, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?