१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अव्यस्थित घरटहरा हटाउँदै गाउँपालिका

कान्तिपुर संवाददाता

तेह्रथुम — गाउँपालिका केन्द्र शुक्रबारे बजारलाई व्यवस्थित बनाउन छथर गाउँपालिकाले बजार क्षेत्रका अव्यवस्थित घरटहरा हटाउन सुरु गरेको छ । बजार व्यवस्थापन समितिमार्फत गाउँपालिकाले भत्काउन थालेको हो । 

बजार क्षेत्रका घरअगाडि निर्माण भएका छाप्रा र टहराले सौन्दर्य बिगारेको र सडक समेत अतिक्रमण गरेकाले गाउँपालिकाले हटाउने निर्णय गरेको अध्यक्ष सन्तविर लिम्बूले बताए । बजारलाई आकर्षक बनाउन गाउँपालिकाले बजारका घरको अगाडि भाग र छानामा समेत एकै प्रकारको रङ प्रयोग गर्न स्थानीयलाई सूचना गरेको छ । बजारको घरको स्वरूप, रङ र छाना एकै प्रकारको बनाउने निर्णय गाउँपालिकाले गरेकाले सोहीअनुसार काम अगाडि बढाइएको बजार व्यवस्थापन समिति सचिव धामबहादुर कार्कीले बताए ।


गाउँपालिका केन्द्र जोड्ने मुख्य ग्रामीण सडकको चौडा गरी सवारी आवागमनलाई सहज बनाउने कार्य समेत गाउँपालिकाले अगाडि बढाएको छ । यी सडक ड्ेरन सहित ७ मिटरका हुनेछन् । यी सडकलाई जोड्ने सहायक सडक ५ मिटरका हुने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।


प्रत्येक वडाका प्राकृतिक, सांस्कृतिक र धार्मिक स्थलको संरक्षण र प्रवद्र्धनका लागि योजना छनौट गरी बजेट समेत छुट्याइएको छ । त्यस्तै गाउँपालिका भित्रका ९ माध्यमिक विद्यालय, गाउँपालिका केन्द्र भवन, ६ वडा कार्यालय र ६ स्वास्थ्य संस्थामा ४ लाख रुपैंयाको लागतमा विद्युतीय हाजिरी मेसिन मसेत जडान गरिएको छ । गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्ष, कृषि, पशु, शिक्षा, स्वास्थ्य, योजना र सामाजिक विकास लगायतका शाखामा २ लाखको लागतमा सिसी क्यामेरा समेत जडान गरेको छ ।


सिसी क्यामरा निगरानीको लागि अध्यक्षको कार्यकक्षमा २/२ वटा कन्ट्रोलर मनिटर राखिएको छ । कार्यालयभित्र हुने सम्पूर्ण कामको प्रत्यक्ष रूपमा अनुगमन निरीक्षण अध्यक्ष लिम्बूले गर्छन् । गाउँपालिकाले बजारवासीलाई सूचना प्रविधिमा पहुँच पुर्‍याउने उद्देश्यले बजारको बीच भागमा १ दशमलव ५ एमबीपीएस क्षमताको फ्रि वाइफाइसमेत जडान गरिदिएको छ ।


भर्खरैमात्र इन्टरनेट पहुँच पुगेको यो गाउँपालिकामा वाइफाइ फ्रि भएपछि विदेशमा आफन्त हुने, विद्यार्थी र अन्य क्षेत्रमा संलग्नहरूले समेत सञ्चार सुविधा पाएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । यी सम्पूर्ण योजनाको अनुगमन निरीक्षणका लागि गाउँपालिका उपाध्यक्ष तारा ढकालको संयोजकत्वमा समिति बनाइएको छ ।

प्रकाशित : कार्तिक २८, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?