कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

छोरी बचाउ, छोरा पढाउ अभियान

पहिलो सन्तान छोरी जन्मिने परिवारलाई ३ हजार प्रोत्साहन रकम, दोस्रो सन्तान पनि छोरी जन्मिए त्यो बच्चा बालिक हुँदा २५ हजार पाउने व्यवस्था 
विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरले छोरी बचाऊ, छोरा पढाऊ अभियान सञ्चालन गरेको छ । पहिलो सन्तान छोरी जन्मिने परिवारलाई महानगरले ३ हजार प्रोत्साहन रकम दिँदै आएको छ । हालसम्म ५० परिवारले उक्त रकम लिएको महानगरको अभिलेख छ ।

त्यसैगरी दोस्रो सन्तानपनि छोरी जन्मिए त्यो बच्चा बालिक हुँदा २५ हजार पाउने व्यवस्था गरिएको महानगर प्रमुख भीम पराजुलीले बताए ।


विराटनगर महानगरपालिकाले पाँच वर्षभित्रमा ढल र नालासहितको ४ सय किलोमिटर सडकमा कालोपत्रे गर्ने भएको छ । नगरभित्र करिब ७ सय किलोमिटर सडक छ । बाँकी रहेको ३ सय किलोमिटर सडक कालोपत्र गर्न महानगरले सहरी विकास मन्त्रालय र एसियाली विकास बैंकलाई आकर्षित गर्ने योजना बनाएको छ । एसियाली विकास बैंकको १ अर्ब ९४ करोड रुपैयाँ लगानीमा हाल महानगरको ७५ किलोमिटर सडक कालोपत्र गर्ने र ४६ किलोमिटर ढल र नाला निर्माण भइरहेको छ ।


‘यो योजना दुई वर्षभित्र सकिनेछ,’ महानगर प्रमुख पराजुलीले भने । उनका अनुसार एसियाली विकास बैंकले तेस्रो फेजमा महानगरभित्रका सडकमा करिब अढाई अर्ब लगानी गर्ने तयारी गरेको छ । सहरी सघन विकास कार्यक्रमअन्तर्गत अहिले २ अर्ब लगानीमा १५ वटा सडकको ७५ किलोमिटर पिच र नाला निर्माण कार्य भइरहेको छ । यो योजना पनि दुई वर्षभित्र पूरा हुनेछ ।


यही क्रममा सहरी विकास मन्त्रालयले थप १५ वटा सडकको ७५ किलोमिटर कालोपत्र गर्न अध्ययन गरिसकेको छ । एसियाली विकास बैंकसँग नगरको ढल, नाला र खानेपानीका लागि योजना माग गरेको पराजुलीको भनाइ छ ।


महानगरको आन्तरिक आय, वित्तीय समानीकरण आम्दानी, राजस्व बाँडफाँट र सर्सत अनुदान गरी वार्षिक ४ अर्ब ७४ करोड ८५ लाख ८८ हजार बजेट हो । त्यसमध्ये अनुमानित २ अर्ब ८० करोड ६० लाख विकास बजेट हो । त्यो बजेट शिक्षा, स्वास्थ्य, सामाजिक रहनसहन र पूर्वाधार विकास खर्च गर्ने महानगरको लक्ष्य छ ।


नगरभित्र १५–१५ बेडका दुईवटा अस्पताल निर्माणका लागि यसपालि ४ करोड रुपैयाँ छुट्याएको छ । त्यसैगरी गुरुकुल नाट्य घर निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याएको नगर प्रमुख पराजुलीको भनाई छ । यहाँको सहिद मैदानमा रात्रिकालीन खेलकुदका लागि प्रदेश सरकार, महानगर, मोरङ व्यापार संघ र उद्योग संगठनको सयुक्त लगानीमा फर्ड लाइटको दीर्घकालीन व्यवस्था गरिने र त्यसका लागि करिब ३ करोड खर्च हुने पराजुलीले बताए ।


महानगरपालिकाले नगरभित्रका ५ वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउन ती विद्यालयलाई जनही ५०–५० लाख उपलब्ध गराएको छ । हरेक वर्ष थप ५ वटा विद्यालयलाई नमुना बनाउने लक्ष्य महानगरको छ । नमुना घोषणा गरिएका विद्यालयले भौतिक पूर्वाधार विकास गरी कक्षा १ देखि अनिवार्य रूपमा अंग्रेजी माध्यममा पढाउनुपर्ने महानगरले मापदण्ड बनाएको छ ।


त्यसैगरी प्रदेश सरकारको ४ करोड र महानगरको समपूरक कोषको १ करोडमा बैजनाथ रंगशलामा कभर्ड हल निर्माण गर्ने तयारी गरिएको छ । त्यहाँ स्विमिङ पुल निर्माण गर्न महानगरले १ करोड रकम छुट्याएको छ । महानगरले विराट राजाको दरबार बनाउने र त्यसको डीपीआर निर्माणका लागि १ करोड बजेट छुट्याएर निर्माण उपसमितिको संयोजकमा सुरेन्द्र गोल्छालाई तोकेको छ ।


विश्व बैंक र सहरी विकास मन्त्रालयको डेढ अर्ब लगानीमा महानगरले बुढीगंगामा महानगरले प्रदेश स्तरीय बसपार्क निर्माण गर्ने तयारी गरेको छ । त्यसैगरी महानगरको वडा ५ मा विश्व बैंकको १ अर्ब लगानीमा आधुनिक पार्क निर्माण हुनेछ ।


५ बिघा ७ कट्ठामा तीन वर्षमा निर्माण भइसक्ने यो योजनाको डीपीआर निर्माण भइसकेको पराजुलीले बताए । त्यसैगरी प्रदेश सरकार र महानगरको अढाई करोड बजेटमा सीमावर्ती जोगवनी नाकामा औद्योगिक गेट र महानगर र उद्योग संगठनको लगानीमा विराटनगर ३ मा प्रदर्शनीस्थल निर्माण हुने बताइएको छ ।


‘सीमित स्रोतसाधन र कर्मचारी अभावका कारण सोचेजस्तो काम गर्न सकिएको छैन,’ उनले भने संघीय सरकारले महानगरलाई उपमहानगरको सूचीमा राखेर अनुदान रकम पनि ठग्यो । आवश्यकताअनुसारका कर्मचारी पनि अझै उपलब्ध हुन सकेको छैन ।’ बजेट र कर्मचारी अभावकै कारण जेनतेन चल्नेबाहेक चित्तबुझदो काम गर्न नसकिएको पराजुलीको गुनासो छ ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?