राजनीतिक व्यक्तित्व उद्यममा

आनन्द गौतम

ताप्लेजुङ — तात्कालीन नेकपा माओवादी ताप्लेजुङको स्थायी कमिटी सदस्य चन्द्रकला गुरुङको दैनिकी अल्लोको कपडा बुनेर बितिरहेको छ । कपडा बुनाइको तालिमपछि उनले मिक्वाखोला गाउँपालिका २ खोक्लिङमा उद्योग सुरु गरेकी छन् । 

हिजोआज पार्टीको जरुरी कामबाहेक घरैमा बस्ने उनी अधिकांश समय तानमै हुन्छिन् । स्थानीय तहको निर्वाचनमा मिक्वाखोला गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी उनको नाम पार्टीले प्रदेशको समानुपातिक सांसदका लागि सिफारिस गरेको थियो । दुबै सम्भव नभएपछि राजनीतिलाई पनि निरन्तरता दिँदै उद्यममा लागेकी हुन् ।


निर्वाचनअघि राप्रपाबाट कार्यकर्तासहित कांग्रेस प्रवेश गरेकी शान्ति मादेनको दैनिकी पनि उद्यममा बितिरहेको छ । उनले हिंसामा परेर घरमा बस्न नसकेका महिला, अपांग र एकल महिलालाई तालिम दिएर सुरु गरेको ढाका बुनाइ अहिले उत्पादन केन्द्रमा परिणत भएको छ । आफ्नैमा सीप सिकेका महिला ढाकाको कपडा बुन्न सक्षम भएपछि र नियमित काम गर्ने इच्छा देखाएपछि उद्यम स्थापना गरेकी हुन् ।


कञ्चनजंघा ढाका बुनाइ केन्द्रकी अध्यक्ष उनले घरेलु तथा साना उद्योग विकास समितिमा संस्था दर्ता गराएकी छन् । १० जना महिलाबाट उत्पादन सुरु गरेसँगै कम्पनी दर्ता गराएको मादेन बताउँछिन् । आफू पनि बुन्ने र अरूलाई पारिश्रमिक दिएर बुनाउने उनले उत्पादित सामग्री जिल्लामै बिक्री गरिरहेकी छन् ।


जिल्ला कार्यसमितिको सदस्य बनाउने सर्तसहित भित्र्याएको कांग्रेसले विधानका कारण उनलाई जिम्मेवारी दिएको छैन । तर जिल्ला कार्य समितिको बैठकदेखि पार्टीका हरेक काममा उनको उपस्थिति भने अनिवार्य गराएको छ ।


अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य उर्मिला थेवेले पनि सिलाइ केन्द्र घरमै खोलेकी छन् । सिरिजंगा गाउँपालिका १ सिनामको वडा अध्यक्ष समेत रहेकी थेवेको पनि चन्द्रकला र शान्तिको जस्तै दिनचर्या छ । उनले दिगो उद्यम सञ्चालनका लागि सिनाममा एकतले भवन बनाएकी छन् । कञ्चनजंघा महिला विकास केन्द्रको नाममा उद्यम सञ्चालनमा छ ।


तीनै जना महिलाले बजार खोज्ने काम भने आफैंले गर्दै आएका छन् । ‘बजारमा चिया खायो भने पैसा तिर्नै पर्‍यो,’ शान्तिले भनिन्, ‘निर्वाचन लड्ने बेलाको मूल्यांकन चिया खुवायो खुवाएन भन्नेसम्मको हुँदोरहेछ, त्यसका लागि रकम चाहियो, उद्यम नगरेर केले पुर्‍याउनु ?’ घर परिवार चलाउन र रोजगारी दिन उद्यम सुरु गरेको उनले बताइन् । शान्तिको उद्योगमा ढाकाको साढी, बर्को, चोलो, अल्लोको कोट बनाइन्छ । ‘तिहारमा बिदामा गएका साथीहरू फर्किएका छैनन्, अब केही दिनभित्रै काम सुरु भइहाल्छ,’ उनले भनिन्, ‘यसअघि उत्पादित सामान चाडबाडमा बिक्री भएर सकिए ।’


चन्द्रकलाले खाडीका दौरा सुरुवाल र अल्लोको कोट बुन्दै आएकी छन् । ‘यहाँ पाउने कच्चा पदार्थ यहीं बनाउने र नपाउने संखुवासभाबाट ल्याएकी छु,’ चन्द्रकलाले भनिन्, ‘अहिलेसम्म बजार पनि राम्रै छ ।’

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?