कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

थोत्रा कपडाबाट मनग्ये कमाइ

पुराना कपडा पेलेर सिरक डस्ना बनाएर मासिक ३ लाखसम्म आम्दानी गर्दै
उद्योगमा भारतीय युवा रोजगार
कान्तिपुर संवाददाता

तेह्रथुम — पुराना भएर फाल्नुपर्ने कपडाको रुवा बनाएर भारतीय युवाले मनग्ये कमाइ गरिरहेका छन् । भारतीय युवा ट्रयाक्टरमा पुराना कपडा पेल्ने मेसिन जडान गरेर गाउँगाउँ घुमिरहेका छन् ।

थोत्रा कपडाबाट मनग्ये कमाइ

भारतको मोतीहारी जिल्ला दरपा ग्रामपञ्चायतका ५० वर्षीय शिवधारी राम १२ वर्षदेखि तेह्रथुममा छन् । जिरिखिम्ती बजारमा शिवधारी बस्त्रालय उद्योग सञ्चालन गरेर भारतीय नागरिकले महिनामा ३ लाखसम्म आम्दानी गरिरहेका छन् । उनको उद्योगमा ७ जना भारतीय युवाले रोजगार पाएका छन् ।


पुराना भएर प्रयोग नै गर्न नमिल्के कपडालाई पेलेर रुवा बन्ने भएपछि गाउँलेहरू पुराना कपडाबाट रुवा बनाउन व्यस्त छन् । लगाएर थोत्रा भएका कपडा, पुराना सिरक, डस्नालाई पेलेर रुवा बनाएर पुन: प्रयोग गर्न सजिलो भएपछि जाडो याम सुरु हुनासाथ उद्योगमा स्थानीयको भीड लागेको सञ्चालक रामले बताए ।


पुरानो कपडा पेलेर रुवा बनाएको प्रतिकिलो २५ रुपैयाँ र सिलाएर डसना र सिरक बनाएको प्रतिकिलो ७० रुपैयाँ ज्याला दिने गरेको उनले बताए । ट्रयाक्टरमा मेसिन जडान गरेर गाउँगाउँ पुगेको उद्योगले रुवा बनाएर सिरक र डसना बनाइरहेको छ । जाडोको सिजनमा पुराना कपडा पेलाउन आउनेको भीड लागेको सञ्चालक रामले बताए ।


थोरै लागतमा खुलेको सो उद्योगले स्थानीयका थोत्रा कपडा तह लगाएको छ भने उद्योग सञ्चालकले पनि नेपाली भूमिमा राम्रो आम्दानी गरेर भारत लगिरहेका छन् । थोत्रा कपडा पेलेर नयाँ सामग्री बनाउने उद्योग सञ्चालनमा आएसँगै जिल्लाका सार्वजनिकस्थल अहिले चिटिक्क देखिन थालेका छन् । बजार र ग्रामीण व्यापारिक केन्द्रमा अहिले कतै पनि थोत्रा कपडा देखिँदैनन् ।


कपडा प्रशोधन उद्योग स्थापना भएपछि जिल्लाबासीले आफूले प्रयोग गर्दै आएका पुराना कपडा खोला खोल्सा र सार्वजनिक स्थलमा फ्याक्न छोडेको लालीगुराँस नगरपालिका ७ का वडा अध्यक्ष दवेन्द्र खडकाले बताए । प्रयोग गरेको कपडा व्यवस्थापन हुने र बजारमा पाइने रेडिमेट सिरक डसनाभन्दा सस्तो र टिकाउ हुने गरेकाले उपभोक्ताले पुराना कपडाको पुन: प्रयोगलाई बढाएका छन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?