कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लेखापढी व्यवसायमा किशोरी

प्रदीप मेन्याङ्बो

सुनसरी — उपमहानगरका किशोरी मालपोत कार्यालय आसपासका लेखापढी सेन्टरमा कानुनी लिखत बनाउने काम गर्न थालेका छन् ।

घरजग्गा किनबेच, लेनदेन, अंशबन्डा, बकसपत्रको तमसुक लेख्न, विभिन्न फाँटमा कागजपत्र पुर्‍याउन, सेवाग्राहीलाई सहीछाप, ल्याप्चे लगाउन सहयोग गर्नमा उनीहरू व्यस्त हुन थालेका हुन् ।


धरानस्थित मालपोत कार्यालयबाहिर डेढ दर्जन लेखापढी सेन्टर छन् । ती सेन्टरमा प्लस टुदेखि स्नातक अध्ययनरत धरानका करिब २० जना किशोरी दुई वर्षदेखि तमसुक लेख्न व्यस्त हुने गरेका छन् । राजु गौतमको माउन्ट एभरेस्ट लेखापढी तथा कानुनी सेवामा आबद्ध लक्ष्मी राईले भनिन्, ‘बिहान कलेज जान्छु । १० बजेपछि साँझ ५ बजेसम्म फर्ममा व्यस्त हुन्छु ।’


समयको सदुपयोग पनि हुने, पकेट खर्च पनि आर्जन हुने, लेखापढीबारे काम पनि सिकिने र कार्यालयका कर्मचारी र अन्य सेवाग्राही पनि धेरैसँग चिनजान हुने भएकाले रमाइलो काम पाएको उनले बताइन् । उनले दैनिक कम्तीमा पाँच सय त हात पर्ने गरेको बताइन् । लेखापढी सेन्टरमा बसेर घर जग्गा, लेनदेन, अंशबन्डा, बकसपत्र आदिको वैधानिक रूपमा तमसुक लेख्नका लागि अधिकांश किशोरीले लाइसेन्ससमेत लिएका छन् । उनीहरूले बार एसोसिएसनले खुलाएको परीक्षा सुनसरी जिल्ला अदालतमार्फत लिखित र मौखिक अन्तर्वार्ता उत्तीर्ण गरेर लाइसेन्स लिएका हुन् ।


लक्ष्मी राईजस्तै धरानका अनु राई, उस्मिता भण्डारी, मिनु कार्की, नर्वदा राई, अनुष्का खडका, जुनु बुढाथोकी, अनु खड्का, अनिषा परियार, बिनु राईलगायत किशोरी बिहान कलेज वा प्लस टु धाउँछन् र दिउँसो लेखापढी सेन्टरमा सेवाग्राहीका लागि फर्म लेखिदिने गर्छन् ।


कतिपय कानुन पढेका वकिललाई रजिस्ट्रेसन फारम भर्न र निवेदनसमेत लेख्न आउँदैन तर उनीहरूलाई कपाली तमसुक लेख्नदेखि जग्गा खरिदबिक्री, बैना, लेनदेनको तमसुक सबै लेख्न पोख्त भएका छन् । स्नातक दोस्रो वर्ष अध्ययनरत अनु खड्काले भनिन्, ‘सुरु सुरुमा त निकै गाह्रो काम रोजिएको जस्तो लाग्यो तर सिक्दै गएपछि अहिले सजिलो भएको छ ।’


उनीहरूले कमाएको रकमले कलेजमा फि तिर्ने, मन परेका लुगा किन्ने, बाँकी रहेको पैसा बचत गर्ने गरेका छन् । प्राय: सबैले लेखापढीको काम सिकेको र लाइसेन्ससमेत प्राप्त गरेकाले भविष्यमा आफ्नै लेखापढी सेन्टर खोलेर बस्न सक्षम भएका छन् ।


पूर्वका अधिकांश लेखापढी सेन्टरले पुरुषलाई मात्र राख्ने गरेको छ तर धरानका लेखपढी सेन्टरहरूले एसईई गरेर प्लस टु वा कलेज अध्ययनरत किशोरीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न दिएको माउन्ट एभरेस्ट लेखापढी तथा कानुनी सेवाका सञ्चालक राजु गौतमले बताए । उनले भने, ‘लेखापढी सेन्टरमा कार्यरत धरानका किशोरी लाइसनधारी भइसकेका छन् ।


उनीहरू कामप्रति दिनभर उत्सुक भएर सेवाग्राहीलाई चित्त बुझाउन सफल छन् ।’ उनले किशोरीहरूलाई सिकाउने क्रम जारी नै रहेको बताए । कतिपय जटिलखालका तमसुक, फारम लेख्न र भर्नका लागि अगुवाबाट सिक्ने गरेको राजेश गौतमले बताए । लेखापढी सेन्टरमा सेवाग्राहीले दिएको कामको संख्याअनुसार दैनिक पारिश्रमिक किशोरीहरूले प्राप्त गर्ने गौतमले बताए ।


चिनेजानेका साथीभाइको सम्पर्कमार्फत ती किशोरी लेखापढी सेन्टरमा काम गर्न आएका हुन् । मालपोत कार्यालयबाहिर रहेको लेखापढी सेन्टरमध्ये माउन्ट एभरेस्ट लेखापढीमा तीन, राजु श्रेष्ठको जोजोलोपामा चार, बलराम राईको पारुहाङमा तीन, पुष्कर पोखरेलको रजिस्ट्रेसन सेवा शिविरमा चार, रमेश लिम्बू आङदेम्बेको टेम्के हलेसीमा २, मनोहर कार्कीको भोजपुरमा २ र सन्तोष लिम्बूको सजिलो लेखापढीमा किशोरीले लेखापढीको काम गर्ने गरेका छन् ।


मालपोत कार्यालय धरान शाखामा भर्खरै सरुवा भएर आएका प्रमुख दिलसेर राईले भने, ‘अरूतिरको लेखापढी सेन्टरमा प्राय: पुरुष देखिएका थिए । धरानमा भने महिला त्यो पनि प्लस टु वा कलेज अध्ययरत किशोरीको बाहुल्य देखेँ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?