राष्ट्रिय परिचयपत्र वितरण हुने

संघीय सरकारले राष्ट्रिय परिचयपत्र वितरण मंसिर ३ देखि गर्दै 
पहिलोपटक पाँचथरका १ लाख १० हजार नागरिक र सिंहदरबारमा कार्यरत ७ हजार कर्मचारीलाई वितरण
कान्तिपुर संवाददाता

पाँचथर — संघीय सरकारले राष्ट्रिय परिचयपत्र वितरणको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यो मंसिर ३ देखि वितरण गरिने भएको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दीपक काफ्लेका अनुसार हालसम्म पाँचथरका ५० हजार ७ सय ९४ सर्वसाधारणसहित सिंहदरबारमा कार्यरत ३ हजार २ सय कर्मचारीको विवरण संकलन र छपाइ सँगसँगै गरिएको छ । काफ्लेका अनुसार छापेर सकिएका राष्ट्रिय परिचयतपत्र मंसिर ३ मा पाँचथर सदरमुकाम फिदिममा राष्ट्रिय कार्यक्रमको आयोजना गरी वितरण गरिनेछ ।


केन्द्रले गत असार ५ मा फिदिमस्थित जिल्ला प्रशासन कार्यालयबाट विवरण संकलन सुरु गरेको थियो । जिल्लाका ८ मध्ये ४ वटा स्थानीय तहमा पहिलो चरणको विवरण संकलन सकिएको छ । दुई वटामा जारी रहेको र बाँकी दुई वटामा टोली खटाउने तयारी भइरहेको केन्द्रका निर्देशक शिवराज जोशीले बताए । सरकारले आर्थिक वर्ष २०६६/०६७ मा अघि बढाएको राष्ट्रिय परिचयपत्र वितरणको अवधारणालाई कार्यान्वयनको चरणमा लैजान सरकारले गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमार्फत प्रक्रिया सुरु गरेको हो ।


पहिलोपटक पाँचथरका १ लाख १० हजार नागरिक र सिंहदरबारमा कार्यरत ७ हजार कर्मचारी गरी १ लाख १७ हजारलाई प्रारम्भिक रूपमा परिचयपत्र वितरण गर्ने सरकारको तयारी छ ।


सरकारले वितरण गर्न लागेको परिचयपत्रमा चिप्ससहितको स्मार्ट कार्डमा बाहकको १० औंठा छापसहितको बैयक्तिक विवरण समावेश हुन्छ । राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा आएपछि बाहकको सवैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिँड्ने झन्झटबाट मुक्ति मिल्ने जनाइएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?