२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जग्गा जोड्दै गाउँपालिका

जग्गा प्राप्ति गर्ने गाउँपालिकामा सुनकोसी, लिखु, खिजिदेम्बा, चम्पादेवी र चिशंखुगढी
सिद्धिचरण नगरपालिका अझै जग्गाविहीन

ओखलढुंगा — स्थानीय तहहरूले गाउँपालिका केन्द्रका लागि धमाधम जग्गा जोड्न थालेका छन् । स्थानीय तह निर्वाचन भएको एक वर्षमा बल्ल गाउँपालिकाले केन्द्रका लागि जग्गा टुंगो लगाएका हुन् । आठ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिका बाहेक सात गाउँपालिका जग्गाविहीन थिए ।

त्यसमध्ये पाँचवटा गाउँपालिकाले जग्गा प्राप्ति गरिसकेका छन् । दुईवटा गाउँपालिकाले अझै जग्गाको टुंगो लगाएका छैनन् । जग्गा प्राप्ति गर्ने गाउँपालिकामा सुनकोसी, लिखु, खिजिदेम्बा, चम्पादेवी र चिशंखुगढी छन् । जग्गा टुंगो नलागेका गाउँपालिकामा मानेभन्ज्याङ र मोलुङ छन् । ‘जग्गादाता भेटिइसकेको छ । पास गर्न भने बाँकी छ ।’ मानेभन्ज्याङ गाउँपालिका प्रमुख मोतिराज राईले भने, ‘अब छिट्टै टुंगो लगाएर पास गर्ने प्रक्रियामा छौँ ।’ मोलुङ गाउँपालिकाले पनि जग्गादाता भेटे पनि कुन जग्गालाई टुंगो लगाउने भन्ने निर्णय गरिसकेको छैन ।


जग्गा प्राप्ति गरिसकेका सुनकोसी र लिखु गाउँपालिकाले भने कार्यालय सञ्चालनका लागि अस्थायी

प्रिफ्याब भवन समेत निर्माण गरिसकेको छ । ‘मंसिरबाटै हामी आफ्नै प्रिफ्याब भवनबाट सेवा सुचारु गर्नेछौँ ।’ सुनकोसी गाउँपालिका प्रमुख रुद्र अधिकारीले भने, ‘अहिले जस्तो कोचिएर बस्नु पर्दैन । कर्मचारी र सेवाग्राही सबैलाई केही सहज हुन्छ ।’ एक वर्षसम्म साँघुरो कार्यालयबाट सेवा दिनुपर्दा गाउँपालिकामा स्थापना गरिएका विभिन्न शाखा प्रभावकारी हुन सकेका छैनन् ।


अधिकांश गाउँपालिका केन्द्रमा शिक्षा, आयुर्वेद, महिला बालबालिका, कृषि, पशु, स्वास्थ्यलगायतका दर्जनौं शाखा र कर्मचारी बस्ने कार्यालय समेत अभाव रहँदै आएको छ । ‘सबै शाखा स्थापना गर्ने हो भने १५ वटाभन्दा धेरै हुने रहेछन् ।’ चिशंखुगढी गाउँपालिका प्रमुख निशान्त शर्माले भने, ‘त्यसका लागि सानो भवनमा सम्भव छैन । अब भवन निर्माणका लागि संघीय सरकारले बजेट उपलब्ध गराउँछ भन्ने सुनेकाले त्यसैको पर्खाइमा छौँ ।’


कम्तीमा १३ रोपनी क्षेत्रफल जग्गा गाउँपालिका केन्द्रका लागि नि:शुल्क उपलब्ध गराउने मापदण्ड छ । त्यसैअनुरूप १७ रोपनी सम्म जग्गा गाउँपालिका केन्द्रले प्राप्ति गरेका छन् । सिद्धिचरण नगरपालिकाले भने साविकमा रहेको आफ्नै जग्गामा पूर्वाधार थप गरेको छ । तर थप गरिएको पूर्वाधार र नगरपालिका कार्यालय परिसर पर्याप्त हुन नसकेको गुनासो छ । निर्वाचनअघि नै सरकारले भवन निर्माणका लागि उपलब्ध गराएको रकम जग्गा विवादका कारण खर्च हुन सकेन ।


आठ स्थानीय तहमध्ये तीनवटा केन्द्रमा अझै बंैक सञ्चालनमा आउन सकेका छैनन् । तयारी गरिरहे पनि चम्पादेवी, सुनकोसी र चिशंखुगढीमा बैंक सञ्चालनमा आउन नसकेका हुन् । विद्युत्, टेलिफोन, इन्टरनेट र आवश्यक कार्यालयका लागि भवन अभाव जस्ता समस्याले बैंक सञ्चालनमा आउन नसकेका हुन् ।


पाँच केन्द्रमा प्रहरी छैनन्

पाँचवटा स्थानीय तहका केन्द्रमा प्रहरी चौकी छैन । लिखु गाउँपालिकाको केन्द्र यसम, मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चा, सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्क, चम्पादेवी गाउँपालिकाको केन्द्र ताप्केडाँडा र चिशंखुगढी गाउँपालिकाको केन्द्र सेर्नामा प्रहरी चौकी स्थापना भएको छैन ।


‘गाउँपालिकाको केन्द्रमा प्रहरी नहुँदा नजिकको चौकीबाट प्रहरीले धाउँदै आएका छन् ।’ जिल्ला प्रहरीका डीएसपी अनन्तराम शर्माले भने, ‘हामीले केन्द्रमा सुरक्षा आवश्यक भएको भनी गृह मन्त्रालयमा माग गरेका छौं । तर टुंगो लागिसकेको छैन ।’


प्रहरी चौकी नभएका केन्द्रमा नजिकका चौकीबाट धाएर नियमित सुरक्षा दिन केही कठिनाइ हुने गरेको प्रहरीको गुनासो छ । गाउँपालिकाका केन्द्रमा सुरक्षा दिन जिल्लामा कम्तीमा ४० प्रहरी जनशक्ति आवश्यक रहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?