नवजात शिशुको ज्यान गयो

समयमा रिफर नगर्दा शिशुको ज्यान गएको परिवारको आरोप

संखुवासभा — समयमा उपचार नपाउँदा नवजात शिशुको ज्यान गएको छ । जिल्ला अस्पताल खाँदबारीले बिरामीलाई समयमा अन्यत्र रिफर नगर्दा नवजात शिशुको ज्यान गएको परिवारले आरोप लगाएका छन् ।

खाँदबारी नगरपालिका–४ चिप्ले गाउँकी इन्दिरा राईले २४ घण्टे प्रसूति सेवा समयमा नपाउँदा उनको नवजात शिशुको ज्यान गएको हो । सुत्केरी व्यथाले च्यापेपछि इन्दिरा सोमबार जिल्ला अस्पताल भर्ना भए पनि उनको उपचार भएन ।


अस्पतालले समयमै अन्यत्र रिफर नगरिदिँदा नवजात शिशुको मृत्यु भएको परिवारले आरोप लगाएका हुन् । जिल्ला अस्पतालले चिकित्सक नभएका कारण उनको उपचार हुन नसेको र सामान्य उपचारपछि अन्यत्र रिफर गरिएको दाबी गरेको छ । निक साइमन नामक संस्थाले सुरक्षित सुत्केरी सेवाका लागि शल्यक्रियाद्वारा सुत्केरी गराउन नियुक्ति गरेका दुईमध्ये एक जना चिकित्सकको समय अवधि सकिएको छ ।


अर्का एक जना बिदामा छन् । सोमबार बिहान अस्पताल भर्ना भएकी इन्दिरालाई साँझ ५ बजेपछि मात्रै जिल्ला अस्पतालले प्रसूति गराउन नसक्ने भन्दै अन्यत्र रिफर गरेको उनका श्रीमान् भुवन राईले बताए । लगातार रक्तस्राव भइरहेकी इन्दिरालाई लिएर धरान लागे पनि शिशुलाई बचाउन नसकिएको उनले बताए ।


दुर्गममा कच्ची बाटोका कारण समयमै अस्पताल पुग्न नसक्दा नवजात शिशुको मृत्यु भएको राईले बताए । तुम्लिङटार र हिले सडक खण्ड कच्ची र खाल्डाखुल्डी भएकाले १० घण्टा लगाएर धरान पुगियो,’ उनले भने, त्यहाँ पुग्दा पेटभित्रै शिशुको ज्यान गइसकेको रहेछ ।


शल्यक्रिया चिकित्सक छैनन्

निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व गराउन संखुवासभा जिल्ला अस्पताल खाँदबारीमा राखेका दुई जनामध्ये एक जना चिकित्सकको समय अवधि सकिएपछि समस्या भएको छ ।


एक जना चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा ठप्प भएको हो । निक साइमन संस्थाले राखेका चिकित्सक डा. युवराज बस्नेत दसैंअघि नै समय करार अवधि सकिएपछि अस्पताल छाडिसकेका छन् । प्रसूति सेवा गराउने चिकित्सक व्यवस्थापन नगर्दा जिल्ला अस्पतालमा पटकपटक प्रसूति सेवा अवरुद्ध भएको छ ।


जिल्ला अस्पतालमा चिकित्सक नभएपछि २४सै घण्टा दिइने प्रसूति सेवा एक साताबाट ठप्प भएको हो । संस्थाले सुरक्षित मातृत्व गराउन राखेको अर्का चिकित्सक डा. शैलीका श्रेष्ठसमेत घर बिदामा बसेकी छन् ।


चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही मारमा परेका छन् । प्रसूति गराउन आउने संखुवासभाका विभिन्न स्थान र छिमेकी जिल्ला भोजपुरका सुत्केरी अस्पताल आएर फर्कने गरेका छन् ।


शल्यक्रिया गर्ने चिकित्सक नभएपछि निक साइमनले राखेका स्टाफ नर्स र एनेस्थेसियाका चिकित्सक पनि जिल्ला बाहिर गएका छन् । यो संस्थाले करार अवधि सकिएपछि पनि चिकित्सक व्यवस्था गर्न आनाकानी गरिरहेको स्थानीयको आरोप छ ।

प्रकाशित : मंसिर १, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?