कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मेन्छ्यायाम डाँडाबारे विवाद

निर्माणाधीन मन्दिर र पूजास्थलको काम स्थगित
किराँत धर्म मान्ने लिम्बू समुदायले माङहिम (मन्दिर) बनाउन सुरु गरेपछि युमा धर्म मान्ने लिम्बू समुदायको विरोध

तेह्रथुम — तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने मेन्छ्यायाम डाँडाको विषयलाई लिएर पूर्वका लिम्बू समुदायबीच विवाद सुरु भएको छ ।

मेन्छ्यायाम डाँडाबारे विवाद

किराँत धर्म मान्ने लिम्बू समुदायले माङहिम (मन्दिर) बनाउन सुरु गरेपछि युमा धर्म मान्ने लिम्बू समुदायका विभिन्न संघ संस्थाले त्यसको विरोध गरेका हुन् ।


विरोधपछि निर्माणाधीन मन्दिर तथा पूजा स्थलको काम रोकिएको छ । डाँडाको शीरमा किराँत धर्मावलम्वीले घेबाबारा गरी मन्दिर निर्माण गर्न थालेपछि युमा धर्म मान्ने लिम्बू समुदायले लिम्बू जातिको ऐतिहासिकता र मौलिकता नष्ट भएको भन्दै विरोध सुरु गरेका हुन् ।


मेन्छ्यायाम डाँडाको अस्तित्व संकटमा पर्न थालेको भन्दै विरोधमा उत्रिएका लिम्बू समुदायले मेन्छ्यायाम डाँडा संरक्षण समिति नै गठन गरेका छन् । समितिले मेन्छ्यायाम डाँडामा पत्रकार सम्मेलन गर्दै लिम्बू समुदायको इतिहास र मौलिकतासँग जोडिएको डाँडामा कुनै पनि भौतिक संरचना निर्माण गर्न नदिने घोषणा गरे ।


समिति सचिव भिमसेन लिम्बूले लिम्बू समुदायको हरेक संस्कारसँग जोडिएको मेन्छ्यायाम डाँडामा सिमेन्ट, रड, इँटालगायतका सामग्री प्रयोग गरेर भौतिक संरचना निर्माण गर्दा लिम्बू समुदायको संस्कार र अस्तित्वमाथि आक्रमण भएको आरोप लगाए ।


एकाथरी धर्म मान्ने लिम्बू समुदायले सवै धर्म र संस्कार मान्ने सवै जाति समेतले स्वीकारेको मेन्छ्यायामको ऐतिहासिकतामाथि नै अतिक्रमण गरेको किराँत याक्थुङ चुम्लुङ मैयाखोला गाउँपालिका ताप्लेजुङका सचिव सुजन थोक्लुङले बताए । मेन्छ्यायाम डाँडा तेह्रथमको मेन्छ्यायाम र ताप्लेजुङको मैयाखोला गाउँपालिका र संखुवासभाको चैनपुर नगरपालिकाको संगमस्थल हो ।


लिम्बू भाषामा मेन्छ्यायामको अर्थ तरुनी हुन्छ । लालीगुराँस नगरपालिका तेह्रथुमका मेयर अर्जुन माबोहाङले किराँत धर्म मान्ने लिम्बू समुदायले आफ्नो जातीय संस्कार छोडेर ब्राहमण क्षेत्रीको जस्तो यज्ञ तथा होमादी गर्न थालेकाले त्यसको विरोध गरेको बताए । किराँत धर्मावलम्वीले प्राकृतिक रूपमै बनेको मेन्छ्यायाम डाँडाको स्वरूप बिगारेर भौतिक संरचना निर्माण गरेकाले रोक्न उनले निर्माण पक्षलाई आग्रह गरे ।


मेन्छ्यायाम डाँडाको इतिहास केही फरक भएकाले यो डाँडामा बलीभोग, होम होमादी, मूर्ति पूजा, मदिरा जन्य भौतिक पूर्वाधार निर्माण लगायतका केही पनि काम र पूर्वाधार निर्माण गर्न नहुने मेयर माबोहाङको भनाइ छ । ‘नयाँ बन्ने संरचनाका कारण मेन्छ्यायाम डाँडाको मौलिकता नै हराउँछ,’ माबोहाङले भने । किराँत धर्मावलम्वीहरूले मेन्छ्यायाम डाँडामा लिम्बू जातिको संस्कार विपरीत कार्य गरेको त्यसको विरोध गरिएको उनको भनाइ छ ।


लिम्बू जातिहरू तागेरानिङवाफुमा युमा माङका सन्तान भएको र लिम्बूहरू जन्मिदै युमाधर्मी भएको भन्दै युवा साम्यो महासभा धरानले पनि पनि किराँत धर्म मान्ने लिम्बूहरूले मेन्छ्यायाम डाँडामा निर्माण थालेको भौतिक संरचनाको विरोध गरेको छ ।


किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेनेले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको मेन्छ्यायाम डाँडामा कुनै पनि जातीय र धार्मिक संरचना निर्माण गर्दा यस क्षेत्रको समग्र पर्यटन व्यवसायमा नै असर पर्ने भएकाले निर्माण भइरहेका भौतिक संरचना हटाउनुपर्ने बताए ।


डाँडामा निर्माणाधीन ७ तले मन्दिर किराँत धर्म मान्ने लिम्बू समुदायले एकलौटी रूपमा बनाउँदा अन्य धर्ममान्ने लिम्बूहरूमाथि अन्याय हुने उनको तर्क थियो ।


किराँत धर्म तथा साहित्य उत्थान संघले भने मेन्छ्यायाम डाँडा संरक्षण समिति र युमा साम्योवालाको गतिविधिमा आपत्ति जनाएको छ । किराँत धर्मावलम्वीले ०५२ देखि सोही स्थानमा पूजाआजा गर्दै आएको र पूजालाई निरन्तरता दिन मन्दिर निर्माण गर्न थालिएको संघका तेह्रथुम अध्यक्ष राजकुमार तेयुङले बताए ।


आफूहरूले धार्मिक रूपमा संरक्षण गर्न थालेको डाँडालाई पुन: संरक्षणको नाममा युमाधर्मावलम्वीले हस्तक्षेप गरेको भन्दै किराँत धर्मावलम्वीहरूले आक्रोस पोखेका छन् । संघले पनि मेन्छ्यायाम डाँडैमा पुगेर सोमबार पत्रकार सम्मेलन गरी युमाधर्मावलम्वीले गरेको कार्यको विरोध गर्ने जनाएको छ ।


मन्दिर निर्माणका लागि तेह्रथुमको मेन्छ्यायाम गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका र ताप्लेजुङको मैवाखोला गाउँपालिकाकासँग स्वीकृति लिएरै मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समिति अध्यक्ष मणिकुमार चोङबाङले बताए ।


मन्दिर निर्माण र आसपास क्षेत्रमा अन्य भौतिक पूर्वाधार निर्माण गर्न मेन्छ्यायाम गाउँपालिकाले झन्डै ७ लाख विनियोजन गरेको छ । लिम्बू समुदायको धर्मग्रन्ध मुन्धुमको केन्द्र भागमा तागेरा निङवाफुमा रहेको र उनलाई समग्र लिम्बू जातिले युमा भनी पूजाआजा गर्दै आएका छन् ।


मेन्छ्यायाम डाँडा जुनसुकै धर्म र जातिको साझा थलो भएकाले यसको सरक्षणमा लाग्न मेन्छ्यायाम डाँडा संरक्षण समितिले आह्वान गरेको छ ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?