कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डेंगुका १० संक्रमित फेला

सुनसरी — धरान उपमहानगर क्षेत्रका वडामा तीन सातायता डेंगु रोगीको संख्या बढिरहेको छ । गत कात्तिक १४ मा धरान–१० का एक युवामा डेंगु रोग देखापरेपछि अरूमा पनि डेङ्गु देखा पर्न थालेको हो । 

एक निजी अस्पतालसहित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका डेङ्गु रोगीहरू आइतबारसम्ममा १० जना पुगेका छन् ।


अत्यधिक ज्वरो आएपछि उपचारका लागि अस्पताल पुगेका धरान–१५ बाझगरा र धरान–१७ रेलवेका दुई जनामा पछिल्लो पटक डेंगु फेला परेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनीहरूका अनुसार ज्वरो आएपछि उपचार गर्न आएका विरामीको रगतको ल्याव परीक्षण गर्दा डेंगु भेटिएको हो ।


विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका प्रमुख डा. बसुधा खनालका अनुसार तीव्र ज्वरो आएपछि प्रतिष्ठानमा उपचारका लागि आएका २९ विरामीमध्ये पछिल्लो समयमा दुई जनामा डेङ्गु संक्रमण भएको पाइएको छ ।


उनले भनिन्, ‘प्रतिष्ठानमा उपचार गर्न आएकामध्ये दुई जनामा देखिएको छ । हामीले कुन टाइपको डेङ्गु संक्रमण भएको भनेर मलिक्युलर लेवलसम्म परीक्षण गरिरहेका छौं ।’ प्रतिष्ठानमा सरकारले नै डेङ्गु नियन्त्रणका लागि आवश्यकता अनुसार आधुनिक प्रविधिसहितको किट उपलव्ध गराएको डा. खनालले बताइन् । उनले २० मिनेटमै डेङ्गु पत्ता लाग्ने ल्याव वीपी प्रतिष्ठानमा रहेको बताइन् ।


प्रतिष्ठानमा दुई जनामात्र डेङ्गु फेला परे पनि बाँकी आठ जनालाई प्रतिष्ठान बाहिरको निजी अस्पतालमा उपचार गर्न आएका विरामीमा डेङ्गु देखा परेको हो । पछिल्लो समयमा ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा डेङ्गु फैलिएको चिकित्सकले बताएका छन् ।


धरानका ११, १६, १७, १५ र १० वडामा डेङ्गु प्रभावित क्षेत्रका रूपमा देखिएपछि उपमहानगरपालिकाले औषधि छर्किने कार्यलाई निरन्तरता दिइरहेको सदस्य सुवास राईले जानकारी दिए । प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका डा. नारायण भट्टराईका अनुसार डेंगु एडिस एजेप्टाई नामक लामखुट्टेको टोकाइबाट डेंगु फैलिने गरेको छ । उनका अनुसार रातको समयमा भन्दा बिहान र दिउँसो उक्त लामखुट्टे सक्रिय हुने भएकाले सचेत हुनुपर्ने बताए ।


उपमहानगर सामाजिक विकास शाखाका अधिकृत गणेशप्रसाद खतिवडाले डेंगु प्रभावित वडामा औषधि छर्किरहेको बताए । उनले सूचनाका लागि माइकिङ र बिहान–बेलुका दुई पटक औषधि छर्किरहेको बताए । डेङ्गु नियन्त्रणका लागि धरान उपमहानगरले चालु आर्थिक वर्षमा २ लाख बजेट विनियोजन गरेको जनाएको छ ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?