सांसदको रकम पार्टी भवनमा खर्च नगरिने

नगर र गाउँका लागि बजेट

ताप्लेजुङ — प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पार्टी भवन निर्माणका लागि गरिएको प्रस्ताव अस्विकार गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम नगर र गाउँपालिकामा लगाएका छन् ।

प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा ५० लाख रुपैयाँका एक/एक योजना दुईवटा निर्वाचन क्षेत्रमा वितरण गरेका छन् । चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङ जोड्ने तमोर करिडोरअन्तर्गतको सिंवादेखि थिवासम्मको सडकका लागि ५० लाख रुपैयाँ छुट्याएका छन् ।


यो फक्तालुङ गाउँपालिकामा पर्छ । यो सडक निर्माण भएसँगै सदरमुकामदेखि गाउँपालिका सम्मको दूरी चार घण्टाको हुन्छ । सुकेटारदेखिको सडक घुमाउरो भएकाले हाल सदरमुकामदेखि गाउँपालिका केन्द्र तापेथोक पुग्न सात घण्टा लाग्छ ।


५० लाख रुपैयाँको अर्को योजना सिदिङवा गाउँपालिकाको काबेली–मिश्रटार–बरडाँडा–सिहंदेवी–साब्लाखु भन्ज्याङ सडक स्तरोन्नतिमा छुट्याएका छन् । बाँकी रकम प्रत्येक गाउपालिकामा दुई र नगरपालिकामा छ योजनामा छुट्याएका छन् । उनले पार्टी भित्रका आफूसँग असन्तुष्टलाई पनि बजेटले जोडेका छन् । पूर्वसांसद भुपेन्द्र थेवेको वडा सिनाम माविको खेल मैदानमा १० लाख रुपैयाँ लगाएका छन् ।


निर्देशिका अनुसार बजेटको आकार सबैभन्दा बढी ५० र कम १० लाख रुपैयाँको छ । सिरिजंगा गाउँपालिका केन्द्र तेल्लोक माविमा रंगशाला निर्माणमा २५ र सिनाम आधारभूत विद्यालय खेल मैदानमा १० लाख रुपैयाँ छुट्याएका छन् ।


पाथीभरा याङवरकको थुम्बेदिन साप्लेखोप खेल मैदानमा २५ र हरिन्दे विद्यालयदेखि कालिका माविसम्म सडक निर्माणमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । आठराई त्रिवेणीमा चुवाखोला संगमचोक देउराली सडक स्तरोन्नतिमा २५ र परमसिंह मावि खेल मैदानमा १५ लाख रुपैयाँ रहेको छ ।


मेरिङदेनको लंवा खोला जल विद्युतको कुलो निर्माणमा २५ र थिङ्लाबु थुङथाप फाकुम्बा जोड्ने सडक स्तरोन्नतिमा १५ लाख रुपैयाँ विनियोजन भएको छ । मैवाखोलाको टिमुरे खोला कल्भर्ट निर्माणमा २५ र जनकल्याण आधारभूत विद्यालय तेल्लाबुङ खेल मैदान स्तरोन्नतिमा १० लाख रुपैयाँ छुट्याइएको छ । मिक्वाखोला गाउँपालिकाको थलङ–साँवा–फुङ्फुङे झरना जोड्ने सडकका लागि २५ र मोती मावि खोक्लिङ खेल मैदानमा १० लाख छुट्याइएको छ ।


फुङलिङ नगरपालिकाभित्र चिच्चोरा खोल्सा तटबन्धका लागि १८, हर्राबोटे सिँचाइ योजनामा १०, सिम्ले ढाँडगाउँ खेल मैदानमा १०, छत्रे धारा बरबोटे खानेपानी टयांकी निर्माणमा १०, जनता मावि हाङदेवा विद्यालय भवन निर्माणमा १० र फुरुम्बोको बाँझेनी खानेपानी योजनाका लागि १३ लाख विनियोजन गरिएको छ । कार्यविधि अनुसार प्रशासनिक खर्च ४ लाख छुट्याइएको छ ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?