बहुवर्षीय योजना अलपत्र

कुम्भराज राई

ओखलढुंगा — बजेट निकासा रोकिएपछि जिल्लाभित्र सञ्चालित दर्जनौं बहुवर्षीय योजना अलपत्र परेका छन् । ठेक्कामार्फत काम गरिएका त्यस्ता योजनाको बजेट निकासा रोकिएको छ । ठेकेदारले भुक्तानी नपाएपछि थप काम गर्न नसकेको बताएका छन् ।

केन्द्र सरकारले बजेट र शीर्षक सहित बहुवर्षीय योजना ठेक्का लगाएका थिए । अर्थ मन्त्रालयले बजेट प्रदेश सरकारलाई पठाइसकेको भनेपछि निकासा रोकिएको हो । हर्कपुर सडक डिभिजन कार्यालयअन्तर्गत ठेक्का लागेका १३ वटा योजनाको निकासा रोकिएको छ ।


मोलुङ करिडोर, लिखु करिडोर, दूधकोसी करिडोर जस्ता महत्त्वपूर्ण योजना प्रभावित भएका छन् । ‘यसले निकै ठूलो असर परेको छ । भइरहेका काम एकाएक रोकिन पुगे ।’ जिल्लाबाट निर्वाचित संघीय सांसद यज्ञराज सुनुवारले भने, ‘मैले तत्काललाई केन्द्र सरकारले बजेटको व्यवस्था गरिदिन पहल गरे पनि सम्भव भएन ।’


अर्थ मन्त्रालयले प्रदेश सरकारलाई बजेट पठाएकाले अब ती योजना प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने पत्र विभागले सम्बन्धित डिभिजन कार्यालयलाई पठाएको छ ।


‘ती सबै ठेक्काअन्तर्गतका योजना प्रदेश सरकारलाई हस्तान्तरण गर्नु भनेर केन्द्रबाट परिपत्र आएको छ ।’ हर्कपुर सडक डिभिजन प्रमुख विजय थापाले भने, ‘त्यसैले हामीले सोही पत्रअनुसार आइतबार मात्र प्रदेश सरकारलाई पत्राचार गरेका छौँ ।’


हस्तान्तरण प्रक्रिया पूरा भएपछि प्रदेश सरकार मातहत बजेट फुकुवा हुने आशा गरिएको थापाले बताए । सर्वसाधारणले केन्द्र र प्रदेश सरकारको अधिकार विवादले गर्दा विकास प्रभावित भएको गुनासो गरेका छन् । वर्षेनी थोरै थोरै बजेटको काम गरेर पूरा गर्नुपर्ने योजना प्रभावित हुँदा विकासको गति झनै ढिला हुने प्रतिक्रिया सर्वसाधारणको छ ।

प्रकाशित : मंसिर ४, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?