१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जनहितका काममा नगर

नगरपालिकाद्वारा गर्भवतीलाई नि:शुल्क र ज्येष्ठ नागरिकलाई आधा शुल्कमा एम्बुलेन्स सेवा उपलब्ध
जितेन्द्र साह

सुनबर्सी, मोरङ — यहाँका महिला प्रसूति सेवाका लागि वरिपरिका अन्य नगर वा सहर जानुपथ्र्यो । सुनबर्सी नगरपालिकाले प्रयोगविहीन एक भवनमा ३ शय्याको प्रसूति केन्द्र खोल्यो ।

जनहितका काममा नगर

स्वास्थ्य स्थिति जटिल भएका बिरामीलाई तत्काल अस्पताल पुर्‍याउन वाहन थिएन । यसका लागि एम्बुलेन्स किन्यो । गर्भवतीलाई नि:शुल्क र ज्येष्ठ नागरिकलाई आधा शुल्कमा एम्बुलेन्स सेवा उपलब्ध गरायो ।


नगरका अधिकांश कच्ची सडक ग्राभेल गरियो । नगरको १ सय ३ किमि सडकमध्ये अहिले ८० प्रतिशत ग्राभेल भयो । ३ वर्षभित्र ५३ किमि कालोपत्रे गर्ने योजनाअनुरूप नगरपालिका चरणबद्ध ढंगले अघि बढेको छ । सुरुमा ठूला योजनामा हात हाल्नेभन्दा जनताको अत्यावश्यक समस्या समाधानमा नगरपालिका केन्द्रित बन्यो । जनहितमा गरिएका रचनात्मक कार्यका लागि यो नगरपालिका अहिले उदाहरणीय बनेको छ ।


‘प्रसव पीडाले छट्पटिएकालाई अन्यत्र लैजाँदा ओहोरदोहोरमा झमेला थियो, गर्भवती र परिवारजनले तनाव बेहोर्नुपथ्र्यो,’ नगरप्रमुख कालीप्रसाद दासले भने, ‘अहिले नगरभित्रै नि:शुल्क प्रसूति सेवा दिन पाउँदा खुसी लागेको छ ।’ तत्कालका लागि खानेपानी आयोजनाको एक खाली भवनलाई नगरपालिकाले प्रसूति केन्द्र बनाएको हो ।


‘भौतिक पूर्वाधार भएन भन्दै रोइकराइ गरिरहनुभन्दा भएको स्रोतसाधनको अधिकतम प्रयोग गर्ने नीति लिएका छौं,’ उनले भने, ‘सुविधा सम्पन्न आधुनिक प्रसूतिगृहका लागि यस क्षेत्रका सांसद, प्रदेश सरकार र संघीय सरकारलाई भनिरहेकै छौं ।’ उनले यो केन्द्रलाई कुनै पनि परिस्थितिमा बन्द हुन नदिने बताए । ‘खानेपानी आयोजना पूरा भएपछि भाडामा घर लिएर भए पनि सेवा सञ्चालन गर्छौं,’ उनले भने ।


सर्वसाधारणको उपचारमा ढिलाइ हुन नदिन नगरपालिकाले ३ साताअघि मात्रै एम्बुलेन्स किनेको छ । ‘थप एक एम्बुलेन्सका लागि संघीय एवं प्रदेश सरकारलाई भनेका छौं,’ दासले भने ।


फागुनदेखि सुरु भएको चौबीस घन्टे प्रसूति केन्द्रमा मासिक औसत ४ सेवाग्राही आउने गरेको स्टाफ नर्स तबसुम बेगम बताउँछिन् । यो ८ महिना अवधिमा ३४ स्थानीय महिलाले यो केन्द्रमा सन्तान जन्माएका छन् । ‘अहिलेसम्म यहाँ सेवा लिन आएकामध्ये कसैलाई पनि अन्य अस्पतालमा रेफर गर्नुपरेको छैन,’ उनले भनिन् ।


जटिल प्रकृतिको प्रसूति समस्या भएकालाई अन्य ठूला अस्पतालमा लानुपरे वाहन एवं औषधोपचार खर्च नगरपालिकाले बेहोर्छ । ‘यहाँ प्रसूति सेवाका लागि आउनेलाई अन्य अस्पताल लैजानुपरे लाग्ने खर्च नगरपालिकाले बेहोर्छ,’ नगरप्रमुख दासले भने, ‘स्वास्थ्यमा जटिल समस्या आएर घरबाटै अन्य अस्पतालमा लगिएका गर्भवतीलाई पनि ५० प्रतिशत उपचार खर्च उपलब्ध गराउँछौं ।’


नगरपालिकाले स्थानीय शिक्षित र दक्ष जनशक्तिको सदुपयोग गर्ने नीतिमा समेत जोड दिएको छ । एक फिल्ड अनमीसहित प्रसूति केन्द्रमा कार्यरत चार प्रशिक्षित स्वास्थ्यकर्मी स्थानीय हुन् । सरकारको तीनवर्षे नि:शुल्क नर्सिङ योजनामा पढ्न पाएकी बेगम पनि स्थानीय चेली हुन् ।


जनस्तरमै चालेको आधारभूत कार्यले गर्दा यो नगरले सरकारी एवं गैरसरकारी निकायका उच्च अधिकारीहरूको ध्यानसमेत तान्न सफल भएको छ । स्थानीयलाई प्रोत्साहित गर्न मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजले बर्सेनि सुनबर्सीका दुई छात्रालाई अर्धशुल्कमा नर्सिङ पढाउन राखेको प्रस्तावलाई नगरप्रमुखले स्वीकारेका छन् ।


‘हामी आधा शुल्क छुट गर्छौं, आधा नगरपालिकाले बेहोरोस्,’ कलेजका प्राचार्य सन्तबहादुर अधिकारीले नगरप्रमुखलाई भेटेरै भने, ‘यसो भएपछि यहाँका जेहेन्दार छात्राले नि:शुल्क पढ्न पाउँछन् ।’ नगरप्रमुख दासले घरदैलोसम्मै आएको यो सुवर्ण अवसर गुम्न नदिने बताए ।


यो नगरपालिकाले ठूलाठूला गफभन्दा जनउपयोगी गतिविधि सञ्चालन गरेको थाहा पाएर अधिकारी र प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेल दासलाई भेट्न सुनबर्सी पुगेका थिए । यहाँको १ र ६ वडामा लागू सुनबर्सी सुरक्षित आमा कार्यक्रमलाई आउँदो आवदेखि नगरभर सञ्चालन गर्ने तयारी छ ।


पूर्ण खोप लगाएका बच्चालाई विशेष उपहार र बाल मृत्युदर घटाउन नगरमा कुपोषणपीडित बालिकाको खोज अभियान थालिएको छ । नगरपालिकाले आव ०७५/७६ को बजेटमा सीप विकास प्रशिक्षण एवं बिक्री केन्द्रका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘वर्षभरि निरन्तर सीप प्रशिक्षण कक्षा सञ्चालन गर्नु र सिर्जित सीपलाई सोही केन्द्रबाट बेच्नु हाम्रो उद्देश्य हो,’ दासले भने । यो नगरपालिकाको आदिवासी एवं दलित बस्तीमा घरघरै हस्तकलाका सामग्री निर्माण गरी हाटबजारमा बिक्री गरिन्छ ।


उसले नगरकै मध्यस्थित परम्परागत डायनिया बजारभित्रै एक सूचना प्रविधियुक्त आईटी मार्केट बनाउने भएको छ । एक प्राविधिक समिति बनाएर निर्माण थालिने यो योजनामा करिब ४५ लाख रुपैयाँ खर्चिने नगरप्रमुख दासले बताए ।


एक स्थानीय तहमा एक १५ शय्याको अस्पताल निर्माण गर्ने सरकारी लक्ष्यअनुरूप नगरपालिकाले प्रस्ताव अघि सारिसकेको छ । यसै वर्षदेखि सुरु गर्ने गरी उसले अन्तरनगरस्तरीय मेयर कप क्रिकेट टुर्नामेन्टका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।


८३ करोड ८३ लाख २७ हजार रुपैयाँ बजेटको अधिकांश भाग उसले स्वास्थ्य, शिक्षा, खेलकुद, संस्कृति, आधारभूत भौतिक पूर्वाधार र खेलकुद विकासका लागि छुटयाएको छ । यो नगरमा आधारभूतदेखि उच्च शिक्षासम्म निजी एवं सामुदायिक गरी ५७ विद्यालय छन् ।

प्रकाशित : मंसिर ४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?