२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मनकामनामा एकादशी मेला धुमधाम

बालबालिका, युवादेखि वृद्धवृद्धासम्मको उल्लेख्य सहभागिता
दीपेन्द्र शाक्य

संखुवासभा — ‘वारि जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना...’ स्वर्गीय गायक खेमराज गुरुङको यो लोकभाकाबाट ख्याति कमाएको पूर्वकै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामनामा मेला लागेको छ ।

मनकामनामा एकादशी मेला धुमधाम

हरिबोधिनी एकादशीका अवसरमा खाँदबारी नगरपालिका ९ स्थित अरुण किनारमा रहेको मनकामना मन्दिरमा आइतबार रातिबाट मेला लाग्न सुरु भएको हो । यहाँ लागेको मेला दुई दिनसम्म चल्छ ।


मेला भर्न, पूजा पाठ गर्न र युवा जोस देखाउँदै बजारमा रमाइलो गर्न वृद्धवृद्धा देखि युवायुवतीहरूको घुइँचो लागेको छ । मनकामनामा पूजा गरेर बल माग्दा मनोकामना पूरा हुने, आफूले चिताएको पुग्ने र दीर्घायु हुने लगायतका मान्यतो छ । प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा मेला लाग्ने गर्छ । बैदेशिक रोजगारका लागि र लाहुर जाने भनेर घर छोडेर जान सयौं युवाहरूले मनोकामना र यात्रा पूरा होस् भनेर भाक्ने गर्छन् ।


विशेष गरेर मेलामा युवायुवतीको निक्कै जमघट बढेको छ । बिहानैबाट मादल बजाएर एकादशी बजारैमा भन्ने गीतको तालमा रमाइलो गर्दै युवायुवतीहरू जोसका साथ मनकामना बजारमातर्फ लागिरहेका थिए । अरुण नदीको बगर र मनकामनाको चहुरमा रातभर भक्तजनहरू जम्मा हुने र जाग्रम बस्ने गर्छन् ।


वृद्धावृद्धा, बालबालिका र युवायुवती बजार हेर्न र एकादशीका तालमा मादल बजाउँदै नाचगानमा व्यस्त हन्छन् । एकादशीको लोक भाकामा केटा र केटी पक्ष मिलेर दोहोरी खेल्नेको भीड जताततै देख्न सकिन्छ । यो पुरानै चलन हो । भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा लगायत तराईका विभिन्न जिल्ला र विदेशी पर्यटकहरूको समेत मेलामा भीड लाग्ने गरेको छ । एकादशीका अघिल्लो दिन बिहानैबाट मनकामना दर्शन गर्न आउने र मेला भर्नेहरू प्रत्येक वर्ष यहाँ आउने गर्छन् ।


जिल्लाको विशेष महत्त्व बोकेको यो धार्मिक तीर्थ स्थलको संरक्षण अभावमा कतै यसको अस्तित्व नै गुम्ने डर पनि उत्तिकै रहेको खाँदबारी नगरका प्रमुख मुरारीप्रसाद खतिवडाले बताउँछन् । उनका अनुसार मन्दिर तथा मनकामना बजार व्यवस्थापन समितिले समेत यस्को संरक्षणमा ध्यान नपुर्‍याउँदा समस्या उत्पन्न भएको हो । ‘नगर प्रमुखको अध्यक्षतामा बृहत्तर मनकामना विकास समिति गठन भएको छ,’ उनले भने, ‘अब संरक्षणमा जुट्ने छौं । मनकामनामा वर्षेनी एकादशीका बेला २० हजार बढी भक्तजनहरू आउने गर्छन् । मेलामा सहभागी भएपछि दर्शनार्थीहरूले अरुण नदीमा नुहाएर व्रत लिने चलन रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए ।


उनका अनुसार तिहारका बेला भाइटीका लगाउन नपाएका चेली र माइतीले समेत मनकामना मन्दिर परिसरमा रातभर जाग्रम बसेर आफ्नो दाजुभाइलाई तिहारको फूलका माला लगाइदिने चलन पनि छ । यसरी नै चेलीको हातबाट टीका थाप्न नपाएका माइतीले समेत बजारमा आएका युवतीहरूसँग बहिनीको नाता गाँसेर फूलमाला र टीका थाप्ने गर्छन् । दुवै पक्षले दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै विहान अरुण नदीमा स्नान गरेर घर फर्कने चलन छ ।


मनकामनामा रातभर जाग्रम बसेर भोलिपल्ट विहान वा एकदशीका दिन व्रत बस्नाले मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ । विसं १९३२ सालमा स्थापना भएको यो मन्दिरमा त्यो बेलादेखि नै भक्तजनको भीड भने लाग्ने गरेको स्थानीय बसिन्दाले बताए ।


मेलामा मदिरा नियन्त्रण

मनकामना मन्दिर परिसरमा लागेको एकादशी मेलाबाट प्रहरीले आइतबार राति स्थानीय मदिरा नियन्त्रणमा लिएको छ ।


प्रहरीका डीएसपी श्यामकुमार सारुमगरका अनुसार बिगतका वर्षहरूमा मेलामा झैझगडा हुने गरेकाले यो वर्ष मदिरा नियन्त्रणमा लिइएको हो । हरेक वर्ष ठूलो एकादशीको दिन राति लाग्ने मेलामा मदिराको कारण झगडा हुने गरेको थियो ।


प्रहरीले मेला प्रवेश गर्ने मुख्य गेटबाट खुकुरी पनि बरामद गरेको उनले बताए । खुकुरी र मदिरा नियन्त्रणमा लिएपछि शान्तिपूर्वक ढंगले मेला सम्पन्न भएको उनले बताए । प्रहरीले जुवाजन्य लङगुरबुर्जा र फिरफिरे पनि नियन्त्रणमा लिएको थियो । मेलामा प्रहरी र सशस्त्र परिचालन गरिएको थियो ।

प्रकाशित : मंसिर ४, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?