कोचाकोच कैदीबन्दी

क्षमता ३००, कैदी ७४१

मोरङ — विराटनगरस्थित मोरङ कारागारमा कैदीबन्दीको संख्या क्षमताभन्दा तेब्बर भएपछि समस्या भएको छ । २ सय ५० जना बस्ने क्षमता भएको पुरुष कारागारमा ७ सय ४१ छन् । ५० जना बस्ने क्षमता भएको महिला कारागारमा ७ जना आश्रित बालबालिकासहित र ९१ जना बस्न बाध्य छन् ।

कारागारका निमित्त प्रमुख उमेश घिमिरेले क्षमताभन्दा तेब्बर कैदबन्दीले खानेपानी, कैदीबन्दीलाई घुमफिर गर्ने ठाउँको अभाव, जीर्ण सुरक्षा घेरा, सुरक्षाकर्मीको ब्यारेक अभाव र भूकम्पमा चर्किएको कार्यालय भवनले समस्या भएको बताए ।


पुरुष कारागारका चौकीदार नवीन राईले क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुत्न, बस्न, हिँडडुल गर्न समस्या भएको गुनासो पोखे । ‘कैदीबन्दीहरू सानो ठाउँमा कोचिएर बस्नु पर्दा पटक–पटक बिरामी पर्नेलगायत समस्या भएको छ,’ उनले भने, ‘कारागारमा अपराधीलाई सुध्रिने वातावरण हुनुपर्ने हो तर यहाँ क्षमताभन्दा बढी संख्या भएकाले समस्या भएको छ ।’


कैदीबन्दी तनावमुक्त भएर कारागारभित्र बस्ने स्थिति नभएको उनले सुनाए । ‘अनेक मानसिक तनावमा रहेका उनीहरूलाई हिँडडुल गर्न, नियमित व्यायाम गर्न, पानी खान, फ्रेस भएर बस्ने वातावरण यहाँ भएन,’ राईले भने, ‘कारागारभित्र कोचाकोच भएर बस्न बाध्य भए पनि दैनिक कैदीबन्दीको संख्या थपिने क्रम रोकिएको छैन ।’


उनले कारागारभित्र घुम्ने ठाउँको अभावले कैदीबन्दीमा जोर्नी दुख्ने, घुँडा जाम हुने र शरीर अत्यधिक दुख्ने समस्या देखिएको बताए । ‘घुम्ने ठाउँ अभाव, खानेपानीको समस्याले यसअघि कैदीबन्दीको मृत्यु समेत भएको थियो’, उनले भने, ‘घुँडा जाम हुने समस्याबाट पीडित कैदीबन्दीलाई बाहिर उपचारका लागि पठाउने गरिएको छ ।’ कारागारभित्र खानेपानीको समस्या तत्काल समाधान गर्न उनले माग गरे ।

यस्तै, महिला कारागारका कैदीबन्दीले क्षमताभन्दा बढी संख्या भएपछि समस्या हुनु स्वाभाविक भएको बताइन् । बन्दी जीवन बिताइरहेकी कबिता मण्डलले नियमित सरसफाइको आवश्यकता हुने महिला बन्दीको संख्या आवश्यकताभन्दा बढी भएको बताइन् । ‘महिलाहरू नियमित स्नान गर्न पनि लाइन बस्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘संख्या बढी भएकाले शान्तपूर्वक बस्न सक्ने अवस्था छैन ।’

महिला कारागारकी चौकीदार जिन्नत खातुनले महिला कैदीबन्दीको संख्या थपिने क्रम नरोकिएको बताइन् ।


निमित्त प्रमुख घिमिरेले कारागारको क्षमता ३ सय भएको र हाल ७ जना आश्रित बालबालिकासहित ७ सय ४१ जना बस्न बाध्य भएको बताए । उनले भने, ‘सबभन्दा बढी लागूऔषध मुद्दाका कैदीबन्दी दैनिक थपिने गरेकाले कारागार व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।’


उनले जोर्नी दुख्ने, श्वासप्रश्वास, मानसिकसम्बन्धी रोग कैदीबन्दीमा भएको बताए । ‘अब जाडोको मौसम आएसँगै छालासम्बन्धी रोगी बढ्ने जोखिम छ,’ उनले भने । कोशी अञ्चल अस्पतालमा भएको स्वास्थ्यसम्बन्धी सुविधाले पनि कैदीबन्दीको संख्या बढाएको उनले बताए । अन्य जिल्लाका बिरामी कैदीबन्दीलाई पनि यहाँ नै ल्याएर थपिदै आएको उनले सुनाए ।


घिमिरेले जीर्ण सुरक्षा घेरा, सीमित स्रोत साधनमा कैदीबन्दीको संख्या थपिने क्रम जारी र भूकम्पले चर्किएको सानो भवनमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या भएको बताए । उनले भने, ‘खिया लागेर जीर्ण भइसकेको काँडे तारको सुरक्षा घेरामा पर्खाल लगाउनुका साथै सुरक्षाकर्मी बस्ने ब्यारेक आवश्यक छ ।’

प्रकाशित : मंसिर ४, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?