कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मेची पुल जोड्ने सडक नबन्दा फड्केबाटै आवतजावत

पर्वत पोर्तेल

भद्रपुर, झापा — नेपाल–भारत सीमा जोड्ने दक्षिणी नाका भद्रपुरको मेची नदीमा ६ महिनाअघि पुल बन्यो । बल्लतल्ल बनेको पुलमा न सर्वसाधारण पैदल हिँड्न पाएका छन्, न त सवारी आवागमन नै छ ।

मेची पुल जोड्ने सडक नबन्दा फड्केबाटै आवतजावत

कारण, भारत र नेपाल दुवैपट्टिको क्षेत्रमा अहिलेसम्म पुल जोड्ने सडक नै छैन । पुल हुँदाहुँदै सर्वसाधारण र सवारी बाँसको फड्केबाटै आवतजावत गर्न बाध्य छन् ।


भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठका अनुसार पुल पश्चिम बंगाल र विहारको सिमानामा गएर टुंगिएको छ । बंगाल र विहार दुवै राज्यले पुलको सडक आफ्ना राज्यतिर जोड्ने अड्डी गरिरहेका छन् । ‘पुलको सडकमा बंगाल र विहार दुवै राज्यको तानातान छ’, मेयर श्रेष्ठले भने, ‘यही तानातानले भारतीय सडकसँग पुल जोडिन पाएकै छैन ।’


मेयर श्रेष्ठका अनुसार काँकडभिट्टाको मेची पुलले बंगालसँगको सम्बन्ध जोडिएकै छ । अब विहारसँगको सम्बन्ध भद्रपुरको पुलले कायम गर्नेछ । उनले भने, ‘विहारसँग सम्पर्क स्थापित गर्ने योजना मुताविक नै यो पुल बनेको हो ।’ उनले केही दिनअघि विहारका मन्त्री, सांसद र विधायकहरूसँग छुट्टाछुट्टै भेट गरी पुल जोड्ने सडकलाई तत्काल निर्माण सुरु गर्न आग्रह गरेको जनाए । उनले भने, ‘विहार सरकारले डीपीआर तयार गरेर चाँडै काम सुरु गर्ने जनाएको छ ।’


स्रोतका अनुसार केही भूमाफियाहरूले आफ्नो जमिन भएतिर सडक जोडिनुपर्ने भन्दै बखेडा झिक्न सुरु गरेका छन् ।


‘आफ्नो जमिनबाट सडक बन्दा जमिनको भाउ बढ्ने लालचाका कारण भूमाफिया सक्रिय छन्’, भद्रपुरका एक स्थानीयले भने, ‘पुल जोड्ने सडक बन्न ढिला हुनुको एउटा कारण यो पनि हो ।’


नेपालतर्फ पनि पुलको बाटो मूल सडकसँग जोडिएको छैन । स्थानीयले मुआब्जाको माग गरेपछि विवाद बल्झिएको छ । बाटोका लागि भद्रपुर ५ का २२ घरधुरी र तीन सरकारी कार्यालयको जमिन अधिग्रहण हुन्छ ।


तर, हुलाकी सडक परियोजनाले यसअघि नै मुआब्जा दिइसकिए पनि उनीहरूले जमिन छाड्न आलटाल गरिरहेको भए पनि शनिबारदेखि नगरपालिकाको निर्देशनमा हटाउन सुरु गरिएको छ । जमिन खाली हुने वित्तिकै मूल सडकसँग पुलको सम्पर्क कायम हुनेछ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उद्घाटन गर्ने कार्यक्रम बन्दै छ । त्यही कारण पैदल यात्रुलाई समेत वारपार गर्न रोकेर रंगरोगन सुरु गरिएको छ । ‘सम्भवत: मंसिर १०, १२ गतेभित्र प्रधानमन्त्रीले पुल उद्घाटन गर्नुहुनेछ’, श्रेष्ठले भने, ‘त्यसअघि नेपाल र भारत दुवैतर्फको सडक निर्माण सक्ने योजना छ ।’


२०६६ साल माघ २१ मा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदारले पुल शिलान्यास गरेका थिए । करिव ४० करोडको लागतमा ९ वर्षपछि पुल बनेको हो ।

प्रकाशित : मंसिर ४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?