गीतमा बिदेसिने कथा

संगीतमय बन्यो मनकामना

संखुवासभा — पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मनकामना धाम सोमबार साँझ संगीतमय बन्यो । मनकामनामा लागेको एकादशी मेलामा आयोजित स्वर्गीय खेमराज गुरुङ स्मृति साँझमा लोक गायक बद्री पंगेनी पंगेनी मुख्य आकर्षक बने ।

गीतमा बिदेसिने कथा

जब उनको पहिलो गीत सुरु भयो, दर्शक एकाएक भावुक भए । बिदेसिएका नेपालीको पीडालाई गीतमा उतारेका गायक पंगेनीले मेलामा गाउँदा दर्शक श्रोताको आँखा रसाए ।

बाध्य भइयो परदेशमा छिर्न

मैले पढ्दा लाएको ऋण तिर्न

आमा बिदा पाउदिन अहिलेको साल

पनि आमा घरमा आउँदिन ।


यो गीत गाउँदा उपस्थित दर्शकहरूमध्ये बृद्धहरूले त आँसु थाम्नै सकेनन् । उनले नेपाली युवाहरू बिदेनिु परेको र घरमा बुढा आमाबुबा एक्लै बस्दाको पीडालाई गीतमार्फत प्रस्तुत गरे । पहिलो गीतबाट गायक पगेनीले दर्शकलाई रुवाए पनि त्यसपछिका गीतबाट उनले दर्शकलाई नचाए ।


उनले मेला उद्घाटनका लागि आएका राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरू र स्थानीय तहमा जनप्रतिनिधिलाई व्यंग्यसमेत गर्दै गीत सुनाए । विदेशिएका युवाहरूको कथाव्यथालाई गीतमा प्रस्तुत गरिसकेपछि बद्रीले गीतबाटै नेताहरूलाई व्यंग्य गरे ।


निर्वाचनको समयमा जनतासँग गरेका बाचा पनि गीतमार्फत नै सम्झाए । अनि गाउँका समस्या र विकास निर्माणका कुरा गीतबाटै उल्लेख गरे । उनले ‘रातो पछ्यौरी’, ‘ससुरालीमा’ जस्ता चर्चित गीत गाएर दर्शकलाई नचाए । बद्रीले दर्जन गीत गाए । दर्शक पनि नाचिनैरहे ।


‘रातो पछ्यौरी’ बोलको गीत गाउँदा ससाना बालबालिकादेखि पाका उमेर समूहकाहरू समेत स्टेज अगाडि पुगेर नाच्न थाले । उनले ‘खान्न मत पिँडालु कोक्यायो’ बोलको गीत गाए यसमा पनि सबैले नाचेर उनलाई साथ दिएका थिए ।


‘झ्याउरेको तालैमा’ बोलको गीत प्रस्तुत गर्दा स्टेजदेखि स्टलसम्म नाच चल्यो । बढ्दै गैरहेको रात र चिसोको कुनै प्रवाह नगरी दर्शकहरू मज्जाले नाचे । उनले स्वर्गीय गायक खेमराज गुरुङलाई पनि सम्झिए । कार्यक्रममा आएका राष्ट्रिय र स्थानीय कलाकारहरूले खेमराजको चर्चा गरेका थिए । स्थानीय गायकहरूले आफ्नाभन्दा पनि खेमराजले गाएका र लेखेका गीत गाउँदै उनलाई सम्झिए ।


दर्शकको मागअनुसार आयोजकले राति २ बजेसम्म सांस्कृतिक कार्यक्रम चलाए । मेला र सांस्कृतिक कार्यक्रम हेर्न संखुवासभा लगायत भोजपुर, तेह्रथुम र धनकुटाका भक्तजन र स्थानीय बासिन्दा आएका थिए । मंसिर महिनाको चिसो सिरेटोको प्रवाह नगरी दर्शक रमाएका थिए । हरेक वर्ष हरिबोधनी एकादशीको अघिल्लो रातबाट यहाँ मेला लाग्छ ।


यसलाई व्यवस्थित बनाउन बृहत्तर मनकामना विकास समितिले यो वर्षबाट अगुवाइ गरेको छ । मनकामना धामको विकास र संवद्र्धनका लागि धार्मिक, सांस्कृतिक पर्यटन र प्रवद्र्धनको प्रचार भन्ने नारासाथ एकादशी मेला आयोजना गरिएको हो ।

प्रकाशित : मंसिर ५, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?