२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

देउसी रकम समाज सेवामा

संकलित रकमबाट बजार सफाइ, अनाथ बालबालिकालाई सहयोगका काम 

धनकुटा — देउसी भैलोबाट संकलित रकम सामाजिक काममा खर्चने क्रम बढेको छ । यस्तो रकमले वनभोज जाने, अरू गतिविधिमा खर्च गर्नेभन्दा समाजका लागि काम गर्ने क्रम बढेको हो ।

छथरजोरपाटी गाउँपालिका २ स्थित जोरपाटी बजार व्यवस्थापन समितिले तिहारका अवसरमा देउसी भैलो खेलेर संकलित रकमले बजार सरसफाइका लागि डस्बिन खरिद गरेको छ । समितिले आयोजना गरेको देउसी भैलोबाट १ लाख ७ हजार संकलन गरेको छ ।


उक्त रकममध्येबाट बजारमा सरसफाइ अभियानसँगै डस्बिन खरिद गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र पुलामी मगरले बताए । फोहोर संकलन गर्न १५ स्थानमा व्यवस्थित डस्बिन राखिएको मगरले जानकारी दिए । ‘हामी सामूहिक भावनाका लागि देउसी भैलो खेलेका थियौं,’ उनले भने, ‘एकातिर संस्कृति जोगियो भने अर्कोतर्फ सरसफाइ कार्यमा सघाउ पुगेको छ ।’


बजार क्षेत्रमा सरसफाइ कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो समितिले डस्बिन खरिद गर्ने निर्णय गरेको मगरको भनाइ छ । बजार क्षेत्रको सरसफाइका लागि गाउपालिका र वडा कार्यालयले समेत सहयोग गर्ने बताएको छ । सरसफाइका लागि समितिले गरेको कार्य सकारात्मक भएको भन्दै वडाले सरसफाइ कार्यक्रमका लागि ५० हजार रकम छुट्याइएको छ । बजार क्षेत्रलाई स्वच्छ सफा बनाउन समितिसँगै सहकार्य गर्ने मगरले बताए ।


यसैगरी किरात संस्कार संस्कृति संरक्षण समिति हिलेले आयोजना गरेको देउसीबाट १ लाख संकलन गरेको छ । संकलित रकमबाट भाषा संस्कृति क्षेत्रका लागि खर्च गरिने संस्थाका सल्लाहाकार जीवन राईले बताए । आफ्ना जातीय भाषा संस्कृति लोप हुन नदिन अनुसन्धान कार्यमा समेत रकम खर्च गरिने उनले जानकारी दिए ।


सल्लेरी जनसेवा सांस्कृतिक समूह महालक्ष्मी नगरपालिका ९ मूर्तिढुंगाले १ लाख ११ हजार संकलन गरेको छ । संकलित रकम सामाजिक कार्यमा खर्च गरिने खगेन्द्र मादेनले जानकारी दिए । गत साल पनि उक्त समूहले २ लाख रकम संकलन गरेको थियो । जसबाट गत वर्ष नै आफ्नो गाउँबस्तीमा खेल मैदान निर्माण गर्न रकम खर्चिएको मादेनले बताए ।


यस्तै फरक उद्देश्यका साथ समान उमेरका असाहायका लागि खर्च जुटाउन यहाँका नमुना बालबालिकाले देउसी भैलो खेलेर २६ हजार रकम संकलन गरेका छन् । उनीहरूले जिल्लामा रहेका कयौं बालबालिका उचित संरक्षणको अभावमा लेखपढ गर्न समेत असमर्थ रहेकाले तिहार भित्रिएसँगै देउसी भैलोबाट रकम जुटाउँदै छन् ।


धनकुटा नगरपालिका ४ मा रहेको उक्त बाल क्लबमा आवद्ध बालबालिकाले आफ्नै योजना र प्रयासमा देउसी भैलो आयोजना गरेका हुन् । त्यो पनि असाहाय बालबालिकाको सहयोगार्थ । नमुना बालक्लबको प्रयास यति बेला प्रशंसनीय र नमुना योग्न नै बन्दै गएको स्थानीयको भनाइ छ ।


बाजागाजा र नेपाली मौलिक पहिरनका साथ बालबालिका टोलबस्ती र बजार क्षेत्रमा नाचगान प्रस्तुत गरेको क्लबका अध्यक्ष निराकार अधिकारीले बताए । चाडपर्वलाई उद्देश्यका साथ मनाउन आफूहरू जुटेको अधिकारीको भनाइ छ । उनले असाहाय देउसी भैलोबाट संकलित रकम बालबालिका लागि खर्च गरिने बताए ।


‘एकातर्फ चाडपर्व मनाउँदा छुट्टै प्रकारको रमाइलो महसुस भयो’, उनले थपे, ‘अर्कोतर्फ हामी जस्तै उमेरका कतिपयले खर्च अभावमा विद्यालयको मुख देख्न सकेका छैनन्, हामी उनीहरूका खातिर देउसी भैलोबाट संकलित रकम जम्मा गर्‍यौं ।’ क्लबका कोषाध्यक्ष दिपेन्द्र कार्कीको पनि समान भनाइ छ ।

क्लबका पदाधिकारीको सक्रियतामा एक सातासम्म तयारी गरेर देउसी भैलो खेलेको उनले बताए ।


संकलित रकममध्ये खर्च कटाएर असाहाय बालबालिकाको पहिचान गरेर वडा कार्यालय वा स्थानीय तहमार्फत रकम हस्तान्तरण गरिने क्लबका पदाधिकारीको योजना छ । पाख्रिबास कला साहित्य समाजले पनि देउसी भैलो खेलेर संकलित रकम साहित्यिक गतिविधिमा खर्च गरिने समाजका अध्यक्ष रोशन परियारले बताए ।

प्रकाशित : मंसिर ५, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?