बाबुछोराद्वारा अपांगता भएकी बालिका बलात्कृत

अर्जुन राजवंशी

दमक — अपांगता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरादह नगरपालिकाबाट बाबुछोरासहित चार जना पक्राउ परेका छन् ।

बाबुछोराद्वारा अपांगता भएकी बालिका बलात्कृत

पक्राउ पर्नेमा गौरादहका ५८ वर्षीय खड्गबहादुर बराइली, उनका दुई छोराहरू २८ वर्षीय प्रवीन र २४ वर्षीय छत्रमान तथा सोही स्थानका ४४ वर्षीय पुरुषोत्तम बराइली छन् ।


उनीहरूलाई पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमरबहादुर थापाले जानकारी दिए । राम्रोसँग बोल्न नसक्ने बालिकालाई उनीहरूले विभिन्न मितिमा बलात्कार गरेको प्रहरी निरीक्षक थापाले बताए ।


पुरुषोत्तमले कात्तिक १० गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । प्रवीन बराइलीले कात्तिक २३, उनका भाइ छत्रमानले २४ र उनीहरूका बुबा खड्गबहादुरले कात्तिक २८ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।


उनीहरूले बालिकालाई आफ्नो घरमा, नजिकैको बाँस झ्याङमा र एकपटक बालिकाकै घरमा जबरजस्ती करणी गरेका थिए । घरमा पीडित बालिका र उनकी आमा बस्दै आएका छन् । बालिकाको बुबा घरमा नभएको प्रहरीले जनाएको छ ।


उनीहरूले बालिकालाई पैसासहित विभिन्न प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भिन्नाभिन्नै व्यक्तिबाट पटकपटक बलात्कृत हुँदा बालिकाले घटनाबारे आमालाई सुनाएकी थिइन् । बालिकाकी आमा पनि सुस्त श्रवणकी छन् ।


अति विपन्न र केही नजान्ने परिवारका पीडित ढिला गरी मात्र प्रहरी कार्यालयमा आइपुगेका थिए । स्वास्थ्य परीक्षणपछि पीडित बालिकालाई दमकस्थित आफन्तको शरणमा राखिएको छ । पक्राउ परेका चारै जनाविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा चलाएको प्रहरी निरीक्षक थापाले बताए ।


यो घटनासँगै एक साताको अवधिमा दमक र गौरादह नगरपालिकामा मात्र तीन जना बालिका बलात्कृत भएको घटना बाहिर आएको छ । मंगलबार राति दमकस्थित हम्सेदुम्से सामुदायिक जंगलमा लगेर १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथर घर भई दमकमा डेरा गरी बस्ने २८ वर्षीय दीपक धमला पक्राउ परेका छन् ।


उक्त घटनाको दुई दिनअघि आइतबार मावलीमा बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको आरोपमा कमल गाउँपालिका ६ का २८ वर्षीय सञ्जीव राई पक्राउ परेका छन् । बालिकाको पेटमा ५ महिनाको गर्भ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?