टुक्रे योजनामै अधिकांश बजेट

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सडक, पुल, कल्भर्ट र कजवे प्राथमिकतामा

दमक र मोरङ — स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत झापाका सांसदले पुल, कल्भर्ट, सडक, भवन निर्माण योजनालाई प्राथमिकता दिएका छन् । प्रतिनिधिसभातर्फ जिल्लामा ५ निर्वाचन क्षेत्र छ ।

टुक्रे योजनामै अधिकांश बजेट

क्षेत्र १ का सांसद राम कार्कीले सडक निर्माण, स्तरोन्नति र कालोपत्रेलाई प्राथमिकता दिएका छन् । क्षेत्र २ की पवित्रा निरौला खरेलले भवन निर्माणलाई प्राथमिकता दिइन् । क्षेत्र ३ का राजेन्द्र लिङेन, ४ का लालप्रसाद (एलपी) साँवा र ५ का केपी शर्मा ओलीले पुल, कल्भर्ट र कजवे निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।


कार्यक्रमअन्तर्गत सांसदले एउटा योजनामा न्यूनतम १० लाखदेखि अधिकतम १ करोड ४० लाख रुपैयाँसम्म विनियोजन गरेका छन् । कार्कीले १ नम्बरमा १९ योजना छनोट गरे जसमा सबैभन्दा बढी ९ वटा सडक निर्माण, स्तरोन्नति र कालोपत्रेका छन् ।


स्ल्याब, कल्भर्ट र पुल निर्माणका ६ योजना छन् । विद्यालय परिसर घेराबारा र शौचालय निर्माणका २ योजना छनोट गरेका छन् । अपूरो नाला निर्माण, आदिवासी जनजाति, दलित महिला उत्थानका लागि सीपमूलक कार्यक्रम, साहित्यिक कार्यक्रम सञ्चालन तथा सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनका लागि समेत उनले बजेट विनियोजन गरेका छन् । ती योजनालाई १० देखि बढीमा ५० लाखसम्म विनियोजन गरिएको छ ।


सांसद खरेलले क्षेत्र २ मा २० योजना छनोट गरेकी छन् । तीमध्ये ११ योजना विद्यालय, सामुदायिक, ज्येष्ठ नागरिक, गुम्बा, स्मृति भवन निर्माणका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रभित्रका ६ सडक निर्माण गर्ने योजना छनोट गरेकी छन् । यस्तै घैलाडुब्बा र अर्जुनधारास्थित नमुना बजारमा पक्की नहर निर्माणलाई पनि बजेट विनियोजन गरिएको छ ।


खरेलले बिर्तामोड २ स्थित सन्थाल जातिको आवासका लागि जस्तापाताको छाना निर्माण गर्न १० लाख रुपैयाँ विनियोजन गरेकी छन् । क्षेत्र ३ मा लिङदेनले पनि २० योजना छनोट गरेका छन् । उनले पुल र कल्भर्टलाई प्राथमिकतामा राखेका छन् ।


बिर्तामोड र भद्रपुर नगरपालिका तथा बाह्रदशी र कचनकवल गाउँपालिकामा गरी ९ पुल र कल्भर्ट निर्माणमा उनले बजेट विनियोजन गरेका छन् । ४ सडक निर्माण तथा स्तरोन्नति, ४ धार्मिक तथा शैक्षिक भवन निर्माण तथा हल्दिबारी र कचनकवल गाउँपालिकाका सामुदायिक विद्यालय सुधार योजना अघि सारेका छन् ।


क्षेत्र ४ मा सांसद साँवाले १५ योजना छनोट गरेका छन् । उनले पनि पुल, कल्भर्ट र कजवे निर्माणलाई प्राथमिकतामा राखे । उक्त शीर्षकमा ७ योजनामा उनले बजेट विनियोजन गरेका छन् । उनको छनोटको दोस्रोमा ग्राभेल गर्ने योजना छ । विद्यालय भवन निर्माण, खोला तटबन्ध, कृषिउपज संकलन केन्द्र निर्माणका योजनामा बजेट विनियोजन गरेका छन् ।


प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचनका लागि ८ योजना छनोट गरेका छन् । उनले गौरादह बजारबाट स्कुलचौन जाने बाटामा पर्ने गेउरियामा, ग्वालडुब्बा बजारपूर्व बैगुनधुरा हुँदै महाभारा जाने बाटाको सुकुना होली र केरखा बजारबाट गोसखान हुँदै गौरादह जाने बाटाको डयाङग्री खोलामा पुल निर्माणका लागि ५० लाखका दरले एक करोड ५० लाख विनियोजन गरेका छन् ।


गौरीगन्ज क्याम्पसपूर्व दक्षिण लेहरा खोलामा पक्की पुलका लागि २५ लाख तथा रंगपुर–बाह्रघरे खण्डको चाँदु होलीमा कल्भर्ट निर्माण गर्न ५० लाख विनियोजन गरेका छन् । दमक नगरपालिकाभित्र विपन्न आवास निर्माण शीर्षकमा १ करोड ४० लाख विनियोजन गरिएको छ ।


गौरीगन्ज ५ चिल्लारास्थित मुसहर बस्तीमा घर निर्माणका लागि २५ लाख तथा दमक ८ स्थित ज्येष्ठ नागरिक भवनका लागि १० लाख रुपैयाँ छुटयाएका छन् । जिल्लाका पाँचै सांसदले ४ करोडका दरले विभिन्न योजनामा बजेट विनियोजन गरेका हुन् ।


सडकलाई प्राथमिकता

मोरङमा सडक निर्माण योजनाले प्राथमिकता पाएको छ । ६ संसदीय निर्वाचन क्षेत्रमा उक्त कार्यक्रमअन्तर्गत आएको २४ करोड बजेटका लागि छनोट गरिएका ९८ योजनामा ४४ सडक परेका छन् ।



पूर्वाधार निर्माणका लागि मात्रै बजेट खर्च गर्न सकिने भएकाले सांसदले सहिद स्मृति प्रतिष्ठानदेखि प्रहरी चौकी भवन निर्माण योजना छनोट गरेका छन् । जिल्लाका १७ स्थानीय तहमध्ये सबैभन्दा बढी विराटनगर महानगरमा ३ करोड ३५ लाखको २१ योजना छनोट भएका छन् । दोस्रोमा सुन्दरहरैंचा नगरपालिकामा २ करोड ५० लाखको १२, जहदा गाउँपालिकामा २ करोड २५ लाखको १०, रंगेलीमा २ करोड १० लाखको ६ योजना परेको छ ।


क्षेत्र १ का सांसद घनश्याम खतिवडाले मिक्लाजुङ, केराबारी गाउँपालिका, उर्लाबारी र लेटाङ नगरपालिकामा बराबर गरी १/१ करोडका योजना वितरण गरेका छन् । क्षेत्र २ का मीनेन्द्र रिजालले रतुवामाई नगरपालिकामा सबभन्दा बढी १ करोड ३० लाख, सुनवर्षीमा १ करोड १० लाख र रंगेलीमा ७० लाख, पथरीशनिश्चरेमा २५ लाख, कानेपोखरीमा ५५ लाखका योजना छनोट गरे ।


वर्षौंदेखि निर्माण हुँदै आएको सडकका योजनामा सांसदले १४ करोड ४ लाख विनियोजन गरेका छन् । महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक सञ्जय ठाकुरले सडकका योजनामा वर्षौंदेखि विनियोजन भएको बजेटबाट सडकमा हालिएको माटो र ग्राभेल सगरमाथाजति अग्लो भइसकेको हुनुपर्ने हो तर अझै हिलाम्मे अवस्थामै रहेको बताए ।


‘अझैसम्म सडकमा बजेट खन्याएर कहिलेसम्म सर्वसाधारणलाई नेताहरूले ढाँट्न सक्छन्,’ उनले भने, ‘पञ्चायतदेखि गणतन्त्रसम्म देशको बाटो बन्न नसक्नु हाम्रो दुर्भाग्य भन्नुपर्छ ।’ खुसी नेपाली, समृद्ध नेपाल बनाउन उत्पादन बढाउन सहयोग पुग्ने योजना ल्याउनुपर्नेमा सांसदहरू अझै सडक, बत्ती, नाला, पर्खाल, मन्दिरमै बजेट विनियोजन गरिरहेको उनले बताए ।


४४ सडकको योजनामध्ये ८ करोड ३० लाख लागतमा १९ सडक कालोपत्रे गर्न र २५ वटामा माटो र ग्राभेलका लागि ५ करोड ७४ लाख विनियोजन भएको छ । निर्वाचन क्षेत्र १ मा १ करोड ८० लाखमा ५, क्षेत्र २ मा १ करोड ३० लाखमा ३, क्षेत्र ३ मा १ करोड ९० लाखमा ४, क्षेत्र ४ मा ५० लाखमा १, क्षेत्र ५ मा १ करोड १० लाख १ र क्षेत्र ६ मा १ करोड ७० लाखमा ५ सडक कालोपत्रे गर्न बजेट छुटयाएको छ ।


यस्तै, सडकमा माटो तथा ग्राभेल गर्न क्षेत्र १ देखि ६ सम्म क्रमश: ८९ लाखमा ४, २ करोड ४० लाखमा ५, ४५ लाखमा ३, २८ लाखमा २ र १ करोड ५ लाखमा ६ योजना छनोट गरिएको जिसस मोरङले जनाएको छ । क्षेत्र २ मा कालोपत्रेका लागि ३५ लाख विनियोजन गरेको सुगा बजारबाट भोटेघुम्ती जाने सडक नै नभएको स्थानीय जनप्रतिनिधिले बताए ।


सांसदहरूले विद्यालय भवन, सांस्कृतिक भवन, अधुरो भवन, मन्दिर निर्माण, सोलार बत्ती, कभर्डहल, सुकुम्बासीको आवास, बाँध, खानेपानी, पर्खाल निर्माणमा योजना छनोट गरेका छन् । यस्तै, कल्भर्ट निर्माणका लागि जिल्लाभरि ७५ लाखको ६, पुल निर्माणमा १५ लाख, केराबारी गाउँपालिकाको लोहन्दा र विराटनगरको केसलियामा तटबन्ध निर्माणका लागि २९ लाख, ९ सामुदायिक भवनका लागि १ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । ज्येष्ठ नागरिकका लागि सामुदायिक भवन निर्माणको ३ वटा योजनामा ४० लाख, क्षेत्र १ र ४ मा क्याम्पस भवन निर्माणको ५ योजनामा १ करोड ५ लाख विनियोजन गरिएको छ ।


छरिँदै बजेट

खोटाङ संवाददाताका अनुसार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विभिन्न योजनामा बाँडफाँट गरेका छन् ।


भट्टराईले प्रस्तुत कार्यक्रमअनुसार केपिलासगढी गाउँपालिकाको शुक्रबारे–पत्कुरु मैयु सडकमा १५ लाख, सुङेल–सालपा पर्यटन सडक १५ लाख, ऐंसेलुखर्क गाउँपालिकाको जलेश्वरी–देम्लीटार सडक ३० लाख, रावाबेंसी गाउँपालिकाको निगाले–जौबारी–नुनथला चौकी सडकका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाको रेग्मीटार–भण्डारेबेंसी–हलेसी सडकलाई ५० लाख, माल्खु–चुरीवन–सायखु–ताराखसे सडकलाई १३ लाख, दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिकाको महुरेगढी बहुप्राविधिक शिक्षालय भवन पूर्वाधार निर्माण गर्न २० लाख, छिप्तीबेंसीटोल–दिखुवाखोला सडकका लागि १७ लाख बजेट विनियोजन गरिएको छ ।


त्यस्तै मनमाया राई खानीडाँडा विमानस्थल–भुलभुले ढकालबेंसी सडकमा २० लाख, काहुले चिउरीडाँडा–लामदुवाली सडकमा २० लाख र पुरानो बैंक चौक–पोखरी सिँढी निर्माणमा १० लाख बजेट विनियोजन गरिएको छ ।


त्यसैगरी साकेला गाउँपालिकाको साकेला मावि कृषि बाली विज्ञानका लागि भवन निर्माणमा ५० लाख, टेम्के–कर्मादोर्जे निर्माणाधीन गुम्बा निर्माण र सडक निर्माणमा २० लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कोल्ड स्टोर निर्माणमा १० लाख, याम्खा–काहुले–स्यालगौडे छितापोखरी सडकका लागि २० लाख बजेट छुटयाइएको भट्टराईले सुनाए ।

प्रकाशित : मंसिर ११, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?