कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पाँचथरमा पर्यटक भित्र्याउने योजना

पर्यटकको आकर्षण बढाउन रिसोर्ट निर्माण, नदीमा र्‍याफ्टिङ चलाउने र प्याराग्लाइडिङका सुविधा दिँदै
आनन्द गौतम

पाँचथर — सदरमुकाम फिदिमबाट १३ किलोमिटर दूरीमा रहेको तमोर नदी नजिकै रिसोर्ट बनाइरहँदा बरुण तुम्बापोलाई भविष्य के होला भन्ने अन्योल थियो । नाफा कमाउनेभन्दा पनि उनमा लगानी उठ्ला कि नउठ्ला भन्ने चिन्ता धेरै थियो ।

चार महिना नपुग्दै तुम्बापो उत्साहित भएका छन् । निर्मल श्रेष्ठसँग संयुक्त लगानीमा सञ्चालित रिसोर्ट आसपास कटेज, पौडी पोखरीजस्ता आकर्षण थप्ने तयारीमा उनी जुटेका छन् । रिसोर्टले उनलाई एकदिन पनि खाली बस्न दिएको छैन । दसैं, तिहारजस्ता चाडमा पनि फुर्सद नपाएका उनकामा प्रत्येक बिहान दुई/चार टोली खाना खाने हुन्छन् ।


दिउँसो घुम्न आउने पनि कम छैनन् । बाहिरबाट आएका पाहुना त माझीटारको यो रिसोर्टमा अनिवार्यजस्तै पुग्ने गरेका छन् । अलि तलको रिसोर्टमा भिडभाड बढिरहँदा सहरका बासिन्दालाई भने चिन्ता छ । खोला किनारैकिनार बनिरहेको सडकका कारण उनीहरू चिन्तित बनेका हुन् ।


पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल फिदिमे अत्यन्तै चिन्तित रहेको बताउँछन् । ‘फिदिमेहरू अत्यन्तै चिन्तित छौं र सरकारको पनि चिन्ता पाइयो,’ उनले भने, ‘त्यसैले फिदिममा पशु, कृषिजस्ता कार्यालय बढेका छन् ।’ आगन्तुकका लागि फिदिममा कम्तीमा एक दिन बस्ने वातावरण कसरी बनाउने भनेर योजना बनाउन लागिरहेको उनले सुनाए ।


त्यसका लागि तमोर नदीमा र्‍याफटिङ चलाउने, प्याराग्लाइडिङ उडाउनेजस्ता काम थालनी भएको छ । अहिले दुवै दर्ता प्रक्रियामा रहेको दीपकले सुनाए । सदरमुकाममा फाल्गुनन्दको ठूलो मूर्ति स्थापना गरिएको र ६० फुटको बुद्धको मूर्ति बनाउने काम पनि भइरहेकाले पर्यटक आउने पूर्वाधार बनाउन स्थानीय सरकार लागेको नेपाल बताउँछन् ।


लुब्रेकुटीमा पर्यटन विकासका लागि वातावरणीय प्रभाव मूल्यांकनलगायतको काम पनि भइरहेको नगरपालिकाले जनाएको छ । झापाको बिर्तामोडदेखि ताप्लेजुङसम्मका चहलपहल भइरहने ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरका कारण पनि हो । यहाँ देशभरका तीन लाख हाराहारीमा पर्यटक आउने गरेका छन् ।


पाथीभरा आउने पर्यटकको अहिलेसम्मको एक मात्र मार्ग झापा चारआलीदेखि इलामको फिक्कल, इलाम बजार, रक्से, राँके, पौवाभन्ज्याङ, फिदिम बजार भएर ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म हो ।

बिर्तामोडबाट बिहान हिंड्ने इलाम र पाँचथरमा खाना खाने, बेलुका ताप्लेजुङमा बस्ने र भोलिपल्ट बिहान पाथीभरा दर्शन गरेर फिदिम इलामसम्म पुगेर बस्ने गरेका थिए । यस्ले तीनैवटा जिल्ला सदरमुकामलाई फाइदा पुगेको थियो । अब वैकल्पिक मार्ग खुलेका छन् ।


तमोर नदीमाथि पुल बनेपछि ताप्लेजुङ दोभान भएर गुफा वसन्तपुर हँुदै धनकुटा, धरानको बाटो खुलेको छ । ताप्लेजुङ दोभानबाट पाँचथर माझीटार हुँदै धनकुटाको लेगुवाघाट भएर इटहरी निस्कने सडक त १ सय १० किलोमिटर दूरी मात्रैको छ । यो सडक यसै वर्ष पुरा हुँदै छ । अहिलेको चारआली–ताप्लेजुङ मेची राजमार्ग २ सय ४० किलोमिटरको छ । तमोर नदीको किनारैकिनार भएर बनेको सडकले इलाम र फिदिमका सदरमुकाम छुँदैन ।


सदरमुकाम हेर्नका लागि धाएरै आउनुपर्छ । पहिला स्वतस्फूर्त पर्यटक आउने सहरमा अब कसरी ल्याउने भन्ने चिन्ता थपिएको हो । सहरकालाई चिन्ता थपिँदा छोटो मार्ग आसपासका बासिन्दा भने संरचना निर्माणमा जुटेका छन् । सडक आसपास क्षेत्रमा व्यावसायिक पूर्वाधारको योजना बनेका हुन् ।


फिदिमलाई कसरी जीवन्तता राख्ने भनेर स्थानीय, प्रदेश र संघको प्रतिनिधिको हिसाबले आफू पनि लागेको प्रतिनिधिसभा सांसद वसन्त नेम्बाङ बताउँछन् । यसको एक मात्र उपाय पर्यटकीय विकास भएकाले त्यसमा सबै निकाय गम्भीर भएर लागेको उनले दाबी गरे ।

प्रकाशित : मंसिर १३, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?