नयाँ सहरले पायो जग्गा

रंगेली ४,६ र ७ वडाका बासिन्दाले दिए ८५ बिघा जग्गा
आफ्नो ४० बिघा जग्गामा सहर बसाउने मेयरको योजना बिफल
विनोद भण्डारी

विराटनगर — रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाको बजारभन्दा करिब ५ किलोमिटर टाढा रहेको आफनो जमिनमा ‘नयाँ सहर’ बनाउने रणनीति स्थानीयको पहलमा असफल भएको छ ।

बगडियाले उजाड हुँदै गएको रंगेली बजार क्षेत्रमा पर्ने वडा ४, ६ र ७ लाई बेवास्ता गर्दै ५ किलोमिटर टाढा पर्ने आफनो इँटाभट्टाको ४० बिघा जमिनमा नयाँ सहर बनाउने तयारी गरेका थिए ।


तर बजार क्षेत्रमा पर्ने नगरका तीनवटा वडाका बासिन्दाले नयाँ सहर निर्माणका लागि ८५ बिघा जमिन उपलब्ध गराएपछि मेयरको रणनीति असफल भएको हो । बगडियाले रंगेली ३ रन्जनीमा पर्ने आफनो ४० बिघा र स्थानीयको १० बिघा जमिनमा नयाँ सहर निर्माण गर्ने तयारी गरेका थिए ।


सहरी विकास मन्त्रालयले मोरङको पुरानो सदरमुकाम रंगेलीमा नयाँ सहर निर्माणकालागि ३० करोड लगानी गर्दै छ । उक्त रकमले करिव ५० बिघा जमिनमा नाला र ड्रेन सहितको १० किलोमिटर पक्की सडक, रंगशाला, कन्फरेन्स हल सहितका विकासका पूर्वाधार निर्माण गरेर सम्बन्धित जग्गाधनीलाई जग्गा फिर्ता दिएपछि त्यही जमिन घडेरीमा बिक्री गरेर नयाँ बस्ती बसालिन्छ ।


सरकारले नयाँ सहर निर्माण योजनाअन्र्तगत प्रदेश १ को मोरङको पुरानो सदरमुकाम रंगेली र झापाको गौरीगञ्जलाई पुनर्जीवन दिन छनौट गरेको थियो । सदरमुकाम सरेको १ सय ५ वर्षको इतिहासमा पूर्वाधारको विकास हुन नसक्दा रंगेलीबाट ठूला व्यापारी र स्थानीयबासी बसाइँ सर्नेक्रम बढ्दो रहेको छ ।


मेयरले नयाँ सहर निर्माणका नाममा वडा ३ मा पर्ने आफनौ इँटा भट्टाको जमिनको सदुपयोग गरेर करोडौंको खेलो फड्को गर्ने तयारी गरेका थिए । त्यसलाई सफल हुन नदिन र सुस्ताउँदो रंगेली बजारलाई पुनर्जीवन दिन रंगेली ६ का बासिन्दाले नयाँ सहर निर्माणका लागि ८५ बिघा जमिन दिएको कार्यपालिका सदस्य शंकरप्रसाद साहको भनाइ छ ।


सरकारले साविकको रंगेली वडा ४, ६ र ७ लाई लक्षित गरी नयाँ सहरको योजना दिएको हो । तर मेयरले वडा ३ मा लैजाने प्रयार गरेपछि त्यसको विरोध गर्दै साविक रंगेलीलाई प्राथमिकतामा राखेर योजना छनौट गरी वडा ६ का स्थानीयबासीले ८५ बिघा जमिन स्थानीयले उपलब्ध गराएको साहले बताए ।


वडा ६ का अध्यक्ष रुपेशकुमार मण्डल सहितको टोलीले नगरपालिकालाई ८५ बिघा जमिन उपलब्ध गराएको हो । सहरी विकास मन्त्रालयको मापदण्डअनुसार नै हुलाकी राजमार्गको रंगेली कानेपोखरी सडकले छुने गरी स्थानीयवासीको जमिन उपलब्ध गराइएको मण्डलले जनाए ।


रंगेलीमा नयाँ सहर विकासका लागि अध्ययन भइरहेको छ । वडा ३ रञ्जनीवासीले आफनो ४० बिघा सहित डेढ सय बिघा जमिन उपलब्ध गराउने तयारी गरिरहेका छन् ।

प्रकाशित : मंसिर १५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?