३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सडक, पुल निर्माण बन्द

मध्यपहाडी लोकमार्गबाट धार्मिक तथा पर्यटकीय भुलभुलेमा पुग्ने क्षतिबाट जोगाउने प्रयत्न
डम्बरसिं राई

खोटाङ — मध्यपहाडी लोकमार्गले धार्मिक तथा पर्यटकीय भुलभुलेमा क्षति पुग्ने भएपछि काम बन्द गराइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुलेलाई जोगाएर रिइस्टमेट गरी सडक बनाउन लागिएको हो । 

सडक, पुल निर्माण बन्द

भुलभुलेसँगै जोडिएर मध्यपहाडी लोकमार्ग बन्ने र सडकको चौडाइ बढाउने क्रममा भुलभुले समेत भत्किने भएकाले रिइस्टमेट गरी भुलभुले जोगाएर सडक खन्न बन्द गराइएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । भुलभुले नजिकैको भुल्के खोलामा निर्माणाधीन सडक पुल पनि बन्द गराइएको छ ।


उक्त सडक पुल निर्माणमा एक्साभेटर प्रयोग गरिएको र त्यसको कम्पनले भुलभुलेको पानी सुक्ने सम्भावना बढेकाले बन्द गराइएको भट्टराईले सुनाए । ‘धार्मिक तथा पर्यटकीय भुलभुले जोगाएर रिइस्टमेट गरी सडक बनाउनका लागि काम बन्द गराइएको हो ।’ भट्टराईले भने, ‘सम्पदा नष्ट हुने गरी विकासका काम गर्नु हुन्न ।’ भट्टराईले थपे, ‘यसबारेमा सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्छ ।’


सडकले भुलभुले नष्ट हुने भन्दै स्थानीयले संरक्षणको माग गर्दै आएका थिए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ का वडा अध्यक्ष माधव राईले भुलभुलेको भविष्य संकटमा पर्ने गरी काम गरिए त्यसको परिणाम राम्रो नहुने आक्रोश पोखे ।


‘यसबारेमा सम्बन्धित निकायसम्म ध्यानाकर्षणका लागि नगरपालिकामा लिखित अनुरोध गरिएको छ,’ राईले भने । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले पुन:इस्टमेट डिजाइन गरेर त्यसअनुसार काम गर्ने गरी बन्द गराइएको बताए ।


प्राकृतिक सम्पदाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय भुलभुलेको संरचनालाई असर नपर्ने गरी पुन: इस्टमेट गरेर त्यसअनुसार काम गर्नका लागि बन्द गराइएको प्रमुख रिजालले सुनाए । ‘प्राकृतिक सम्पदाले भरिपूर्ण भुलभुलेको संरचना नष्ट नहुने गरी पुन:स्टामेट गरेर काम गर्ने गरी बन्द गराइएको छ ।’


प्रमुख रिजालले भने, ‘अब केही दिनमै सडक विभागको प्राविधिक टोली आएर त्यो काम सुरु गर्छ ।’ रिजालले थपे, ‘भुलभुलेलाई आवश्यक पार्किङ सहितको ठाउँ राखेर मात्र पुन:इस्टामेट गरी त्यसैअनुसार काम गर्नुपर्छ ।’


मध्यपहाडी लोकमार्ग हेर्न इन्जिनियर भरत आचार्यले भुलभुलेको भविष्य संकटमा पर्ने जनचासो आएपछि छलफल भइरहेको बताए । यद्यपि के हुन्छ भन्ने निष्कर्षमा नपुगेको आचार्यले बताए ।


मध्यपहाडी लोकमार्ग निर्माणले धार्मिक तथा पर्यटकीय भुलभुलेको भविष्य संकटमा पर्ने चौतर्फी गुनासोपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्यद्वय रामकुमार राई र राजन राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लागयतका टोलीले गत कात्तिक ३० मा भुलभुलेको स्थलगत अनुगमन गरेको थियो ।


भुलभुलेलाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले करिब ३५ लाख रूपैयाँ खर्च गरेको छ । आजभोलि भुलभुलेमा दिनहुँ डेढ–दुई सयको हाराहारीमा पर्यटक आउने गरेको पुजारी दीर्घराज राईले बताए ।

प्रकाशित : मंसिर १७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?