२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

तीनजुरे क्षेत्रमा पर्यटकको चाप

२८ प्रजातिका गुराँस फुल्ने तीनजुरेको जंगलमा चिसो मौसम सुरु भएसँगै ‘क्याम्प फायर’ मा आउने पर्यटक बढे
घना जंगलबीचको खुला चौरमा रात बिताउँदा न्यानो र प्राकृतिक आनन्द
चन्द्र कार्की

तेह्रथुम — गुराँस क्षेत्र तीनजुरेको जंगलमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरेको जंगलमा चिसो मौसम सुरु भएसँगै ‘क्याम्प फायर’ मा आउनेको संख्या बढेको हो ।

तीनजुरे क्षेत्रमा पर्यटकको चाप

शान्त र मनमोहक रहेको तीनजुरेदेखि चौकीसम्मको जंगल क्षेत्रमा पूर्वी तराई र भारतका विभिन्न स्थानबाट आउनेको संख्या बढेको पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठले बताए ।


यो क्षेत्रमा दैनिक १० भन्दा बढी समूह आइरहेको श्रेष्ठले बताए । यहाँको जंगली क्षेत्रमा आएर पाल टाँगेर रात बिताउने र जंगलमै खानपान गरेर रमाउनेको संख्या बढिरहेको स्थानीय छिरिङ लामाले बताए । धरान, विराटनगर, दमक र इटहरीदेखि समूहमा आउने गरेको उनले बताए ।


खसी, कुखुरा, हाँस, भेडा लगायतका जनावर जंगलमै लगेर काट्ने र आगोमा सेकाएर खाने, नाचगान सहितको सांस्कृतिक कार्यक्रममा रमाउने र केही दिन र रात जंगलमै बास बस्ने चलन पछिल्लो समय बढेको छ । यो ‘क्याम्प फायर’ मा आउने युवाको संख्या बढेको छ ।


घना जंगल बीचको खुला चौरमा रात बिताउँदा न्यानो पनि हुने र प्राकृतिक आनन्द पनि प्राप्त हुने भएकाले धेरैको रोजाइ तीनजुरे क्षेत्रको जंगल परेको गायक समेत रहेका धराने युवा किशोर थुलुङले बताए ।

उनी वर्षमा एक पटक साथीहरूका साथमा क्याम्प फायरका लागि तीनजुरेको जंगलमा उक्लिने गर्छन् ।


‘यहाँको शान्त वातावरणमा क्याम्प फायरमा रमाउनुको मजा नै बेग्लै हुन्छ,’ उनले भने । सहरको भीडभाड र कोलाहलबाट निस्किएर प्राकृतिक सौन्दर्यमा रमाउँदै दिन र रात जंगलमा बिताउँदा छुट्टै आनन्द आउने यहाँ आउनेहरूको अनुभव छ । क्याम्प फायरमा आउनेहरूले खसी, बोका, कुखुरा, भेडाको थुमा, हांसजस्ता जनावर किनने भएकाले स्थानीय पशुपालक किसानलाई पनि राम्रै फाइदा पुगेको छ ।


जंगलभित्र क्याम्प फायरमा रमाउनेहरूले खानेकुरादेखि मदिरा समेत खरिद गर्ने भएकाले आसपासमा रहेका साना पसलहरू समेत राम्ररी चलेको घुर्मिसेमा पसल गरी वसेका युवराज खड्काले बताए ।

पर्यटकीय क्षेत्र तीनजुरेको आरआर गार्डेन, डुँडपानी, घुर्मिसे, पाँचपोखरी, फेदी, चौकी, मंगलवार, कालापनी र आसपासका घना जंगलभित्रका केही खाली चौर क्याम्प फायरका लागि उपयुक्त स्थान मानिन्छन् ।


यो क्षेत्रमा बाहै्र महिना पर्यटक आकर्षित गरी क्याम्प फायर सञ्चालन गर्न भौतिक पूर्वाधार निर्माणको काम समेत भइरहेको छ । यो क्षेत्रमा वर्षभरी नै पर्यटक भित्र्याउन तीनजुरे पहाड फेदीको जंगलमा जंगली जनावरका आकृति समेत कुदिएका छन् ।


बसन्तपुरवासीले यस क्षेत्रलाई पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले जंगल भित्र रहेका ठूला ढुंगा र रूखलाई कुँदेर जंगली जनावरको आकृति दिएका हुन् ।


तीनजुरे केही तल रहेको कैलास हिलको फेदीमा बाघ, गोही, छेपारो, कछुवा, डल्फिन, मयूर, जंगली घोडा, बंदेल, मृग लगायतका जंगली जनावरका आकृति कँुदिएका छन् । जंगलमा रहेका ठूला ढुंगामा हिमाली भेगमा पाइने चौंरी, याक र पहाड तराईमा पाइने सांडे गोरुको आकृति कुँदिएको छ ।


जंगलभित्र समुद्रमा पाइने गोही, डल्फिन र कछुवाको आकृति समेत कुँदिएको छ । यो सम्पूर्ण कामका लागि पर्यटन मन्त्रालय र नयाँ सहर आयोजनाले सहयोग गरेका छन् । प्राकृतिक पार्कको शैलीमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण बसन्तपुरदेखि तीनजुरे हुँदै चौकीसम्मको यो क्षेत्र पूर्वाञ्चलकै आकर्षक गन्तव्य हुने प्रदेश नम्बर १ का पर्यटन मन्त्री जगदिश कुशियतले बताए ।


जंगलभित्र भीमसेनले छेलो हानेको ढुंगा, सीताले जाँतो पिधेको, ढुंगामा सीताले सारी सुकाएको, बाघ, भालु, मृग लगायतका जंगली जनावरका पाइला लगायतका आकृति देखिन्छ । पात पतिङगर र झ्याउले छोपिएका यी आकृतिलाई सफा गरेर रंग लगाउने काम सम्पन्न भएको छ ।


जंगलभित्र निर्माण भइरहेका आकृति अवलोकनका लागि चारैतर्फ ढुंगाको सोलिङ गरेर पैदल बाटो बनाइएको छ । पर्यटन मन्त्रालयको सहयोगमा यो क्षेत्रलाई अहिले काँडेतारले घेराबारा गरिएको पार्क निर्माण अनुगमन समितिका संयोजक वीरबहादुर सुव्बाले बताए ।

प्रकाशित : मंसिर १७, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?