कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

व्यवस्थित भएनन् हटिया

विराटनगर सडकका साप्ताहिक हटियाले बढायो ट्राफिक जाम
महानगरको चालु आर्थिक वर्षमा हटिया व्यवस्थित गर्ने प्रतिबद्धता
देवनारायण साह

मोरङ — विराटनगर महानगरमा प्रदेश सरकारको गतिविधिले चहलपहल बढेको छ । चहलपहल बढेसँगै सवारी साधनको आवागमनमा पनि वृद्धि भएको छ ।

सवारी आवागनमा वृद्धिले महानगरभित्र जताततै सडक जामको समस्या बढेको छ । महानगरभित्रको जीर्ण सडक, एकसाथ चौतर्फी ढल, नाला, सडक निर्माण र सडकमा लाग्दै आएको साप्ताहिक हटियाले ट्राफिक जाम झनै बढाएको छ ।

महानगरले चालु आर्थिक वर्षमा सडकमा लाग्दै आएको साप्ताहिक हटियाहरू व्यवस्थित गर्ने प्रतिबद्धता जनाएको थियो । तर चालु आर्थिक वर्षको ५ औं महिना बित्न लाग्दासमेत हटिया व्यवस्थापन हुन सकेको छैन ।

महानगरको मूल सडकदेखि सहायक सडकहरूमा लाग्ने साप्ताहिक हटियाले ट्राफिक जामको समस्या जटिल भएको छ । सडकमै लाग्दै आएको हटियाले महानगरको सौन्दर्य बिगार्नुका साथै मानव बस्तीमा समेत असर पुर्‍याउन थालेका छन् ।

महानगरसँग जग्गाको अभाव छ भने उक्त हटियाहरूमा निम्न वर्गका सर्वसाधारणहरूले साना व्यवसाय गरेर आयआर्जन समेत गर्दै आएकाले हटिया व्यवस्थापन चुनौती भएको हो । महानगरमा मानव बस्तीको बिस्तारसँगै हटियाहरू लाग्दै आएकाले हटाउन चुनौती देखिएको हो । महानगरस्थित मूल तरकारी बजार ‘गुदरी हटिया’ वर्षौंदेखि सडकमै लाग्दै आएको छ ।

स्थानीय अमन श्रेष्ठले सडकमै लाग्ने गरेको हटियाले सडकमा आवतजावत गर्न सर्वसाधारणलगायत सवारी साधनलाई समेत समस्या भइरहेको छ । यसले अस्थायी राजधानीलाई कुरुपसमेत बनाएको उनी भन्छन् ।

गुदरी हटियाबाट महानगरले वार्षिक १२ लाख ३५ हजार संकलन गर्दै आएको राजस्वसमेत यस वर्ष उठाएको छैन । हटिया व्यवस्थित गर्ने महानगरको योजना अलपत्र भएपछि वर्षौंदेखि आइरहेको राजस्वसमेत यस वर्ष गुमेको छ ।

सडकमा नै लाग्दै आएको उक्त हटियाले आवागमनमा समस्या भएको गुनासो बढेपछि निर्माणाधीन एकीकृत तरकारी तथा फलफूल बजारमा सार्ने तयारी गरेको महानगर प्रमुख भीम पराजुलीले बताउँदै आएका छन् । तर एकीकृत तरकारी तथा फलफूल बजारमा थोक बिक्रेताका साथै कृषकलाई मात्रै आफ्ना उत्पादन बिक्री गर्ने कार्यविधि छ ।

पराजुलीले हाल गुदरी हटिया भएको ठाउँमा व्यावसायिक कम्प्लेक्स बनाएर महानगरको आय स्रोतमा वृद्धि गर्ने तयारी गरेको बताए । यस्तै, वडा १ को मंगलबारे, वडा २ को सोमबारे, इक्राहीको आइतबारे, कंचनबाडीको शुक्रबारे, आइतबारे, जामुनगाछी, राजबंशी चौकको आइतबारे, खार्जी, ढाटको बुधबारे र शुक्रबारे हटिया सडकमा नै लाग्दै आएको छ ।

यस्तै, चाँदनी चोकको बिहीबारे, कोचाखालको मंगलबारे, शान्ति चौक, वडा ७ को शनिहाट, वडा ८ को मंगलबारे र शुक्रबारे, वडा १० को सोमबारे, वडा १२ को शुक्रबारे, वडा १२ र १३ को आइतबारे र बिहीबारे हटिया पनि सडकमा नै लाग्दै आएको हो ।

वडा १३ को बुधबारे र शनिबारे, वडा १४ को बुधबारे, घिनाघाको आइतबारे, मिलनचौकको मंगलबारे हटिया पनि सडकमा लाग्दै आएको छ । यी हटियाबाट महानगरले वार्षिक राजस्वसमेत असुल्दै आएको थियो ।

गत आर्थिक वर्षमा महानगरले ठेक्का लगाएर १६ लाख ८० हजार राजस्वसमेत असुली गरेको थियो । तर यसवर्ष न त सडकको हटिया नै व्यवस्थित हुन सकेको छ न त राजस्व नै असुली हुन सकेको छ ।

महानगर कार्यालयस्थित मूल सडकमा शनिबार साप्ताहिक हटिया लाग्दै आएकाले आउजाउ गर्न ट्राफिक जामको समस्या झेल्न बाध्य रहेको स्थानीय बताउँछन् । जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेलले यहाँका मूल सडकहरूमा नै लाग्ने गरेको हटियाले ट्राफिक व्यवस्थापनलाई निकै प्रभावित पारेको बताए ।

‘जुन सडकमा जुन दिन हटिया लाग्छ त्यो दिन त्यो सडकबाट सवारी साधन चलाउनै नसकिने अबस्था हुन्छ,’ उनले भने, ‘ठूला सवारी चालकहरूले बैकल्पिक सडक प्रयोग गर्न बाध्य हुन्छ र साना सवारी र मोटरसाइकलहरू हटिया भएकै सडकबाट आउजाउ गर्दा दुर्घटनाको अत्यन्तै जोखिम हुन्छ ।’

महानगरलाई सडकहरूमा लाग्दै गरेको हटिया ट्राफिक व्यवस्थापनमा समस्या भएकाले सडकबाट हटाउन पटक–पटक आग्रह गर्दै आएको उनले बताए । ‘विराटनगर प्रदेश १ को अस्थायी राजधानी भएसँगै यहाँ सवारी साधनको अवागमनमा समेत वृद्धि भइसकेकाले ट्राफिक व्यवस्थापनमा निकै समस्या भइरहेको छ,’ उनले भने, ‘विराटनगर स्थापना भएदेखि सडकमा हटिया लाग्दै आएको छ तर अब विराटनगर नगरपालिकाबाट महानगरपालिका भइसकेकाले सडकको हटिया व्यवस्थापनको बिकल्प छैन त्यो कुरो महानगरले बुझ्नु जरुरी छ ।’

सडकमा लाग्दै आएको हटियाले सडक, बजार, बस्ती र समग्र महागनरको सौन्दर्यतासमेत बिगारेको उनको भनाइ थियो । सडक सफा, हरियाली र अवरोध मुक्त हुनुपर्ने र त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनको भनाइ छ ।

महागनर प्रमुख पराजुलीले विराटनगर अस्थायी राजधानी भएसँगै सवारी अवागमनमा वृद्धि भइसकेकाले सडकमा लाग्दै आएको हटिया व्यवस्थापनमा लागेको बताए । ‘प्रत्येक वडा अध्यक्षहरूलाई सडकमा लाग्दै आएको हटिया व्यवस्थापनको जिम्मेबारी दिएका छौं,’ उनले भने, ‘पहिले सडकबाट हटिया ब्यबस्थापन गरेर दीर्घकलीन रूपमा व्यवस्थित गर्ने नीति लिएका छौं ।’

प्रकाशित : मंसिर १७, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?