कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विदेशबाट फर्किएर गोठ स्याहार्दै

लक्ष्मी कृषि फार्म मा कार्यरत सवै श्रमिक महिला मात्रै

झापा — झापा मेचीनगर १ बाहुनडाँगीकी ३७ वर्षीया लक्ष्मी दंगालले खाडी मुलुक दुवई र ओमनमा ५/५ वर्ष बिताइन् । विदेशी होटलमा सेफको जागिरे लक्ष्मीको आम्दानी राम्रै थियो । उनलाई फेरि विदेशै फर्किने खास चाहना भएन ।

विदेशबाट फर्किएर गोठ स्याहार्दै

‘विदेश कति बस्नु भनेर गाउँ फिर्ने निधो गरें’, लक्ष्मीले सुनाइन्, ‘गाउँ त आएँ अव यहाँ के गरेर बस्ने भन्ने चिन्ताले लामो समय सतायो ।’ तर, उनले धेरै लामो समय चिन्तित बन्नु परेन । किनकि आफन्तको सरसल्लाहमा गाउँमै गाई पालेर वस्ने निष्कर्षमा लक्ष्मी पुगिन् । विदेशमा कमाएका मध्ये करिब ३० लाख रुपैयाँ गाई फार्ममा लगानी गर्ने निधो गरिन् । घरै छेउमा एक बिघा जमीन किनिन् । जर्सी गाईहरू मगाइन् । अनि व्यवसाय सुरु गरिन् ।


उनको ‘लक्ष्मी कृषि फार्म’ मा कार्यरत सवै श्रमिक महिला मात्रै छन् । ७ जना महिला श्रमिकले प्रत्यक्ष रोजगारी पाएका छन् । गाई दुहुने, घाँस काट्ने, गोठ सफा गर्ने कामदार फरकफरक छन् । लक्ष्मी आफंै पनि बिहान ४ बजेदेखि गोठमा खटछन् । भन्छिन्, ‘विदेशमा भन्दा गोठमा गाई स्याहार्दा बढी मजा भइरहेको छ ।’ खर्च कटाएर मासिक एक लाख रुपैयाँ चोखो आम्दानी हुने उनले बताइन् ।


जम्मा गाई ३० वटा छन् । त्यसमध्ये २० वटा गाई दुहुना छन् । केही ब्याउने अवस्थामा छन् । लक्ष्मीका अनुुसार दैनिक ५ सय लिटर दूध उत्पादन भइरहेको छ । केही स्थानीय डेरीमा र बाँकी दूध भारततिर निर्यात हुन्छ । ‘नेपाली डेरीबाट दूधको मूल्य पाइएन,’ लक्ष्मीले भनिन्, ‘नेपाली डेरीले सस्तोमा

किन्न खोज्छ ।’


उनका अनुसार भारतीय ग्वालाहरूले फर्मको दूध प्रतिलिटर ५० देखि ५२ रुपैयाँसम्म किन्छन् । जबकि स्थानीय डेरीले प्रतिलिटर ४५ रुपैयाँ मात्रै दिन्छ । ‘जसले एक रुपैयाँ बढी दिन्छ उसैलाई बेचिन्छ’, उनले भनिन्, ‘घाटा खाइखाइ बेच्नु छैन ।’ सुरुमा लक्ष्मीलाई व्यवसाय डुब्ने पो हो कि ? भन्ने ठूलो भय थियो ।


तर, अहिले उनलाई फार्म डुब्ने डर छैन । २०७३ सालदेखि व्यवसाय सुरु गरेकी उनका अनुसार करिव दुई वर्षको अवधिमा गाई फार्मको कुल लागत ३ करोड नाघिसकेको छ । उनले थप दुई बिघा जमिन भाडामा लिएकी छन् । त्यहाँचाहिं गाईका लागि घाँस लगाउने बताइन् । बाँकी जमिनमा अर्गानिक तरकारी फलाएर सहरतिर बिक्री गर्न पठाउने लक्ष्मीको योजना छ ।

प्रकाशित : मंसिर २०, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?