माछापालन कार्यक्रम अलपत्र

कान्तिपुर संवाददाता

दमक — झापाको गौरादह नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतमाछा ब्लक कार्यक्रम अलपत्र बनेको छ । तीन बर्ष अघि सुरु भएको ब्लक, बजेट अभावमा अलपत्र बनेको हो ।

व्यावसायिक माछापालन गर्दै आएका झापा गौरादह ९ बैगुनधुराका किसान दाना हाल्दै । तस्बिर : अर्जुन राजवंशी/कान्तिपुर

ब्लकमा दुई बर्षदेखि बजेट नआएको नगरपालिकाका कृषि शाखा प्रमुख प्रदीपकुमार श्रेष्ठले जानकारी दिए । गौरादहमा एक सय ३५ किसानले व्यवसायिक माछा पालन गर्दै आएका छन् । दुई बर्षदेखि बजेट निकासा नहुँदा ब्लक सञ्चालन अलपत्रमा परेको श्रेष्ठले बताए ।

Yamaha

उनले ब्लक सुरु भएपछि हौसिएर व्यावसायिक माछा पालनमा होमिएका किसान अहिले निराश बनेको बताए । ‘दुई वर्षअघि माछा पालनमा किसान जति उत्साहीत थिए । अहिले त्यो अवस्था छैन,’ श्रेष्ठले भने, ‘परियोजनाले माछा ब्लकका लागि कुनै बजेट तथा कार्यक्रम नै पठाएको छैन । यसबाट किसान निराश बनेको त छ नै, उनीहरूको लगानी पनि जोखिममा परेको छ ।’

गौरादह २ का किसान नारायणकुमार कार्कीले माछा ब्लक कार्यक्रम अलपत्र बन्दा आफूहरू मारमा परेको गुनासो गरे । उनले ब्लक सुरु भएपछि जमिन लिजमा लिएर पोखरी खनेको तर, अहिले उक्त कार्यक्रम नै सञ्चालन नहुँदा लगानी डुब्ने जोखिम बढेको बताए ।

उनले भने, ‘ब्लकअन्तर्गत पोखरी खन्दा अनुदान, वर्षेनी पोखरी मर्मतमा अनुदान, माछाका भुरा, दाना, प्राविधिकलगायत सुविधा पाइन्छ भनेर हामी माछा पालनमा लाग्यौं । तर, अहिले त्यो कार्यक्रम नै अलपत्र बन्दा हामीलाई गाह्रो भएको छ ।’ किसानले ठूलो लगानी गरिसकेकाले यसतर्फ सम्बन्धीत निकायको ध्यान जानुपर्ने उनको माग छ ।

गौरादहमा ०७३ मा साविक जिल्ला कृषि विकास कार्यालय अन्तर्गत माछा ब्लक सुरु भएको थियो । उक्त बर्ष ब्लकका लागि तीन करोड रुपैयाँ निकासा भएको थियो । तर, पहिलो बर्ष भएकाले ४२ लाख रुपैयाँ मात्र खर्च भएको श्रेष्ठले बताए । माछा ब्लक साविकका गौरादह नगरपालिका, बैगुनधुरा र तोपगाछी गाविसमा सञ्चालन गर्ने उल्लेख थियो ।

नयाँ संरचनाअनुसार बैगुनधुरा गौरादह नगरपालिकामा तथा तोपगाछी कमल गाउँपालिकामा गाभिएको छ । पहिलो वर्ष करिब १४ हेक्टरमा मात्रै माछापोखरी खनिएको थियो । बजेट भने ९५ हेक्टरका लागि निकासा भएको थियो ।

गौरादहमा तीन बर्षमा ४२.५ हेक्टर जमिनमा माछा पोखरी खनिएको छ । ३.५ टन प्रति हेक्टर उत्पादन रहेको गौरादहमा वार्षिक १४८.७५ टन माछा उत्पादन हुँदै आएको छ । उत्पादीत सबै माछा स्थानीय गौरादह, गौरीगञ्ज, दमक, केर्खालगायतका बजारमा खपत हुने गरेको छ ।

किसानले सरदर प्रतिकेजी दुई सयका दरले मूल्य पाउने गरेका छन् । ब्लक कार्यक्रम अलपत्र बनेपछि माछा किसानलाई गौरादह नगरपालिकाले भने केही रकम छुट्याएको छ । नगरपालिकाले गत वर्ष ३.५ हेक्टरमा नयाँ पोखरी खन्न र ३ हेक्टर पुराना पोखरी मर्मतका लागि अनुदान उपलब्ध गराएको थियो ।

यसपाली ३ हेक्टरमा नयाँ पोखरी खन्ने र ३ हेक्टर पुराना पोखरी मर्मतका लागि बजेटछुट्याएको छ । नगरपालिकाले नयाँ पोखरी खन्ने किसानलाई प्रति हेक्टर तीन लाख र पुरानो पोखरी मर्मतका लागि प्रति हेक्टर एक लाखका दरले अनुदान दिने गरेको कृषि शाखा अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित : मंसिर २०, २०७५ १०:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

युवक हत्या रहस्यमय बन्दै

८० जनालाई सोधपुछ
कान्तिपुर संवाददाता

धनकुटा — कात्तिक दोस्रो साता हिले बजारमा भएको युवक हत्याको घटनामा सम्लग्न अझै पत्ता लाग्न नसक्दा घटना रहस्यमय बनेको छ ।

दशैं तिहार अवसरमा लाग्ने मेला सञ्चालन गर्न गएका ३८ वर्षीय रामबहादुर चौधरीको मेलास्थलमा सुतिरहेको अवस्थामा कात्तिक १६ राति हत्या भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा हालसम्म ८० जनालाई सोधपुछ गरिसकिएको प्रहरीले जनाएको छ । एउटै घटनामा यत्ति धेरैसंग सोधपुछ गरिएको धनकुटा प्रहरीमा पहिलो पटक रहेको स्रोतले जनाएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका १५ का मृतक चौधरीलाई धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीको भनाई छ । घटनामा तत्काल प्रहरी नायव उपरिक्षक उमेश लम्सालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

तर लम्सालको सरुवा भएपछि पुन: प्रहरी निरीक्षक सुरज खडकाको नेतृत्वमा छानविन समिति गठन गरिएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । एक महिनाको अवधिमा घटनाको नजिक पुगेको उनको भनाइ छ । ‘हामी घटनाको अनुसन्धानमा गम्भीर भएर जुटेको छौं’, गुरुङले भने, ‘संलग्न व्यक्तिको पहिचान भएरै छोड्ने छ ।’

तर लामो समयसम्म घटनामा संलग्न पत्ता लाग्न नसकिएको स्थानीयले गुनासो गरेका छन् । मेला सञ्चालन गर्ने १६ जनाको समुह मध्ये अरु होटलमा सुतेका थिए । तर हत्या गरिएका चौधरी मात्र मेला स्थलमा एक्लै सुतेको प्रहरीले जनाएको छ ।

घटनामा प्रदेश प्रहरी कार्यालयबाट व्यूरो र पोलिग्राफ टोलीले गम्भीर रुपमा अनुसन्धान गरिहेको प्रहरी प्रमुख गुरुङले जानकारी दिए । अपराधमा सम्लग्न उम्कन नसक्ने पनि उनको दावी छ । अनुसन्धानका क्रममा टेलिफोन कल डिटेल पनि लिइने घटना अनुसन्धान टोलीका संयोजकखड्काले बताए ।

कल डिटेल्सका लागि पूर्वस्वीकृति लिनुपर्ने भएकोले प्रक्रिया अघि बढेको उनले जानकारी दिए । उनले घटनाबारे प्रदेशको २ समूह र जिल्लाको एक समूहले अनुसन्धान गरिरहेको बताए । यसैबिच मृतक चौधरीको पार्टनर समेत रहेका मुख्य ठेकेदार सुनसरीको भुम्काका राजु भनिने राजकुमार राई भने प्रहरी अनुसन्धान कै क्रममा धरौटीमा गत सुक्रवार छुटेका छन् ।

घटनास्थल हिले प्रहरी चौकीदेखि करिब २ सय मीटरको दूरीमा रहेको छ । पर्याप्त सुरक्षा व्यवस्था नभएको पनि स्थानीयको गुनासो चुलिएको छ ।

प्रकाशित : मंसिर २०, २०७५ १०:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT