कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विद्यालयबीच ‘मितेरी साइनो’

खोटाङ — आपसी सहयोग र शैक्षिक गुणस्तर बढाउने प्रतिबद्धतासाथ दुई विद्यालयबीच ‘मितेरी साइनो’ गाँसिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि र विराटनगर महानगर १३ को मोडर्न एरा बोर्डिङ स्कुलबीच मितेरी साइनो गाँसिएको हो ।

विद्यालयबीच ‘मितेरी साइनो’

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा सोमबार विद्यालयबीच मित लगाइएको हो ।


विद्यालयको गुणस्तर सुधार, भौतिक पूर्वाधार, शिक्षकको ज्ञान सिप आदान–प्रदान तथा विकास, विद्यार्थी तथा अभिभावकको क्षमता विकास गर्न मित लगाइएको जालपा माविका प्रअ तेजबहादुर राईले बताए । परम्पराअनुसार मित लगाएर एक आपसमा सम्वन्ध गाढा बनाएर दुबै विद्यालयको गुणस्तर सुधार गर्ने राईले सुनाए ।


जालपा माविले कठुवा र ठेकी तथा मोडर्न एरा बोर्डिङ स्कुलले खेल सामग्री साटा–साट गरेर मित लगाएको हो । मितको बचन स्थानीय शिक्षाप्रेमी प्रतिमान राई र विक्रमणि राईले बोलेका थिए । मितेरी कार्यक्रममा जालपा माविका प्रअ तेजबहादुर राई र मोडर्न एरा बोर्डिङ स्कुलका प्रिन्सिपल रामप्रासद घिमिरेले छबुँदे मितेरी सम्बन्ध सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । सम्झौतामा दुबै विद्यालयले आवश्यकता अनुसार शिक्षण सिकाइ क्रियाकलापमा परस्पर सुधार गर्न विद्यार्थी, शिक्षक, अभिभावक बीच विद्यालयको परस्पर भ्रमण गरी अनुभव साट्ने गर्ने उल्लेख छ ।


यसैगरी, शिक्षाको गुणस्तर बृद्धि गर्न शिक्षक तथा अभिभावकको क्षमता विकास गर्न कार्यशाला तथा गोष्ठी सञ्चालन गर्न र कक्षा कोठामा विद्यार्थीको सिकाइ अभिबृद्धि गर्न आ–आफ्नो विद्यालयमा कार्यान्वयन गर्ने गराउने, मितेरी सम्वन्ध कायम गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सकिन्छ भनि निरन्तर बहस तथा पैरवी गर्दै जाने बुँदा पनि समावेश छ ।


मितेरी सम्बन्ध भएका दुबै विद्यालयको भौतिक तथा गुणस्तर वृद्धिका लागि एक–आपसमा सहयोग गर्ने, दुबै विद्यालयको पहलमा साझा उद्देश्यहरू पूरा गर्न आवश्यक आर्थिक भौतिक तथा मानवीय स्रोतको खोजी गर्ने, अन्य आवश्यक कार्यहरू दोहोरो सहमतिको आधारमा गर्दै जानेलगायत बुँदामा हस्ताक्षर भएको हो ।


सम्झौताको रोहबरमा मन्त्री घिमिरे, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले हस्ताक्षर गरेका छन् ।


मन्त्री घिमिरेले दुई विद्यालयको मितेरी नाताले विद्यार्थीको उज्ज्वल भविष्यका लागि विद्यालयको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे । यसका लागि जालपा माविका लागि २५ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउने उनले बताए । पूर्व सांसद टंक राईले मितेरी परम्परालाई संस्थागत विकासका लागि पनि उपयोग गर्न यस्तो गरिएको बताए । मितेरी साइनो गाढा हुने भएकाले विद्यालय सुधारका लागि पनि उपयोगी हुने राईले बताए ।


जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजाल, स्थानीय शिक्षाप्रेमी जयश्वर राई लगायतले दुई विद्यालयबीचको नाता गाढा हुनुका साथै यसले विद्यालयको गुणस्तर सुधारमा समेत उल्लेख्य भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे । कार्यक्रममा शिक्षा महाशाखाका प्रमुख सूर्य उप्रेती, विराटनगर प्याब्सनका अध्यक्ष इन्द्र राईलगायतको समेत उपस्थिति थियो ।


प्रदेश सरकारले मितेरी कार्यक्रममा दुई मित विद्यालयलाई एक थान ल्यापटप उपलब्ध गराएको छ । उक्त ल्यापटप जापला माविलाई दिइएको प्रअ राईले सुनाए । मोडर्न एरा बोर्डिङका प्रिन्सिपल घिमिरेले मित विद्यालय जालपा माविलाई एक लाख रुपैयाँ उपलब्ध गराउने बचन दिएका छन् ।


विभिन्न निकायको अनुगमनमा खोटाङ आएका मन्त्री घिमिरेले जालपाकै ज्योति माविलाई दस लाख दिने घोषणा गरेका छन् । घिमिरेले मङ्गलबार बिहान ज्योति मावि निरीक्षणका क्रममा प्रदेश सरकारले दस लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

प्रकाशित : मंसिर २०, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?