१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पाथीभरामा थुप्रियो सिक्का

आनन्द गौतम

ताप्लेजुङ — प्रसिद्ध धार्मिक स्थल पाथीभरामा ठुलो परिमाणमा सिक्का पैसा थुप्रिएको छ । हाल ७० क्विण्टलभन्दा बढी सिक्का थुप्रिएको पाथीभरा भेट व्यवस्थापन समितिले जनाएको छ ।

पाथीभरामा थुप्रियो सिक्का

गत वर्ष यतिनै परिमाणमा सिक्का साटिएको थियो । एक वर्षमा भक्तजनले चढाएको सिक्का पाथीभरा मन्दिर परिसरको गोदाममा राखिएको छ ।


समितिका सदस्य सचिव उदय भट्टराइले कम्तीमा पनि ७० क्विण्टल भएको वताए । तिर्थयात्रीले चढाएको सिक्का माथिल्लो फेदीको कान्छिथानदेखि मन्दीर परिसरसम्मको संकलन गरिन्छ । पाथीभरामा बली चढाउने प्रथा कम भएसँगै सिक्का चढाउने चलन बढेको छ ।


बलिको साटो तीर्थयात्रीले पाथी, माना, मुठी चढाउने गरेका छन् । पाथीभराका कर्मचारी राजेन्द्र महतका अनुसार गत वर्षसम्म सिजनको समयमा एक दिनमा १४ पाथीसम्म सिक्का हुन्थ्यो । यो वर्ष बढेको छ ।


बडादसैं र चैते दसैंको समयलाई पाथीभराको सिजनको रूपमा लिइन्छ । यो वर्ष गत असोजमा एकै जनाले १६ पाथी चढाएका थिए । एक पाथीमा करिब २२ किलो हुन्छ । दर्शनार्थीको भिड हुने सिजनमा दैनिक दुई क्विन्टल बढी सिक्का जम्मा हुने कर्मचारी राजेन्द्र महत बताउँछन् ।


मौसम राम्रो हुँदा रामनवमी पर्वको समय फागुनदेखि वैशाख र दसैंको सिजन असोजदेखि मध्य मंसिरसम्मै भिड लाग्छ । सिक्का पैसा लिएर जानेले काफ्ले पार्टीदेखि नै चढाउने गरेका छन् । पाथीभरामा पाथीले भरेर चढाए राम्रो हुने विश्वास पछिल्ला दिन बढ्दै गएको छ ।


पाथीले चढाएपछि मानो र मुठीले पनि चढाउने भक्तजन धेरै हुने मन्दिरका पुजारी डिल्ली आचार्य बताउँछन् । नोट गणना भइसकेकाले अव सिक्का ल्याएर गणना गर्ने भट्टराईले बताए । सिक्का भने बोरामा लगाएर काफ्ले पार्टीसम्म बोकेर ल्याउनुपर्छ ।


त्यसपछि गाडीमा ल्याइन्छ । गहुँगो र एक जनाले २५/३० किलोभन्दा बोक्न कठिन हुने भएकाले ल्याउन समय लाग्ने भट्टराई बताउँछन् । मन्दिरमा चढाएको सिक्कामा माटो, अक्षता लाग्ने भएकाले यसलाई धोएर टल्काएपछि मात्रै बैंकले लिने गरेका छन् ।


सफा सिक्काको तौलको आधारमा नोट सटही हुन्छ । एक रुपैयाँको सिक्काको तौल चार र दुई रुपैयाँको पाँच ग्राम तौल हुन्छ । सुकिलो सिक्का भए ४ किलोको एक हजार रुपैयाँ हुन्छ ।


गनिरहन झन्झट हुने भएकाले सिक्का सटही गर्नेले यसरी नै हिसाब कारोबार गर्ने बैंकले जनाएका छन् । भिज्न र माटोमा पर्न नदिई राखे सिक्का नबिग्रने बैंकको दाबी छ । बैंकले खोट लागेको पैसा भने नलिएको पाथीभरा संरक्षण समितिका नविन निरौला बताउँछन् ।


गत वर्ष झापा दमकको कन्काई बैंकले धुने, टल्काउनेसमेत जिम्मा लिएर सिक्का लगेको थियो । राष्ट्र बैंकले माटो लागेको सिक्का रिट्ठाको धुलो, सरफ पानीले धोएर धानको ढुटोले सफा गर्न सुझाउने गरेको छ ।

प्रकाशित : मंसिर २०, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?