१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रानी–तरहरा सडक विस्तार

सुनसरी — भारतीय सीमा जोगवनी–रानीदेखि धरान तीनकुनेसम्मको कोसी करिडोरको ६ लेनको सडक तीन वर्षभित्र तयार हुने सडक विभागले जनाएको छ ।

रानी–तरहरा सडक विस्तार

मोरङको रानीदेखि सुनसरीको तरहरासम्मको ३४ किलोमिटरको सडक विस्तारका लागि ठेक्का लागिसकेका छन् ।


रानी–तरहराको अनुमानित बजेट ६ अर्ब रुपैयाँको छ । तरहरादेखि धरानसम्मको सडक विस्तारका लागि भने अझै ठेक्का लागेको छैन । तरहरा–धरानको तरहरादेखि धरानसम्मको १५ किलोमिटरका लागि करिव १ अर्व ५० करोडको अनुमानित बजेट छ । तर उक्त सडक ६ लेन नभएर चार लेनको मात्र हुने बताइएको छ ।


धरानसम्मका लागि हालसम्म ठेक्का नलागे पनि ठेक्का लगाउने प्रक्रिया भने भइसकेको सडक विभागले जनाएको छ । रानी–धरानसम्मको सडकको लम्बाइ ४९ किलोमिटर छ । ०७० सालमा टेन्डर खुले पनि सडकको छेउका रूख कटान, विजुलीको पोल र तार, खानेपानीको पाइप लाइन, इटहरी र खनारबीचको टेङ्ग्रा खोला लगायतको समस्याले सडक विस्तार गर्न ढिलाइ भएको विराटनगरस्थित सडक विभागका प्रमुख इन्जिनियर विनोदकुमार माउवारले बताए ।


सडक विभागले चार वर्षमा रानी–धरान सडक विस्तार पूर्णरूपमा पूरा हुने जनाएको छ । धरानबाट इटहरी पुग्न गाडीमा सरदर २० मिनेट र विराटनगर पुग्न डेढ घण्टा लाग्छ । फराकिलो सडक बनेका आधा समयमै पुगिन सकिने छ । उनका अनुसार रानी–तरहरासम्मको सडक विस्तारका लागि तीनवटा कन्स्ट्रक्सनले ठेक्का पाएका छन् ।


तीमध्ये आशिस निर्माण सेवा, कान्छाराम कन्स्ट्रक्सन र रमन तुदी जेभी रहेका छन् । ती कन्स्ट्रक्सनले १३ प्याकेजमा तीन/तीन किलोमिटर गरेर काम गरिरहेको इन्जिनियर माउवारले बताए । हालसम्ममा आशीर्वादले २ प्याकेज, रमनले ४ प्याकेज र कान्छारामले ६ प्याकेज बनाएर सडक विस्तार गरिरहका छन् ।


‘ठेक्का लागेपछि सडक विस्तारमा अनेक झमेलाले पहिला ढिलो भएको थियो,’ डिभिजन प्रमुख माउवारले भने, ‘अहिले संयन्त्र बनेकाले तीव्र गतिमा सडक विस्तार भएका छन् ।’ उनले तरहरा–धरानको सडक विस्तार भने आउँदो २ वर्षमा पूरा हुने बताए । उनले भने, ‘ठेक्का लाग्न बाँकी छ । सवै प्रक्रिया पूरा गरेर अर्थ मन्त्रालयमा पठाइसकिएको छ ।’


आवास क्षेत्र र सहरी क्षेत्रमा भन्दा तरहरा–धरान बीचमा चारकोशे जंगल भएकाले प्रक्रिया पूरा भएपछि झन तीव्र गतिमा सडक विस्तार हुने बताए । चारकोशे जंगलमा सडक विस्ताका लागि कटान गर्नुपर्ने रूखको गणना भइसकेको र कटानका लागि प्रक्रियाहरू भइसकेकाले विवादरहित हुने भएकाले चाँडै सडक विस्तार हुने उनले बताए । उनले भने, ‘आवासीय र बजार क्षेत्रमा फुटपाथ, ड्रेन र रेलिङको व्यवस्था हुने र जंगल क्षेत्रमा सडकमात्र हुने भएकाले तरहरा–धरान सडक छिटो बन्नेछ ।’


सडक विभागले नमुनाकालागि रानीदेखि उत्तरमा अढाइ किलोमिटर र बरगाछी चोकदेखि विराटनगर प्रवेशद्वारसम्म साडे चार किलोमिटर गरी ७ किलोमिटरको ६ लेनको कालोपत्रे सडक विस्तार भइसकेको छ । उनले ठेक्का पाएपछि सडक विस्तारमा ढिलासुस्ती गर्ने कन्स्ट्रक्सन कम्पनीलाई जरिवानसमेत तिराउने गरेकाले लापर्वाही नहुने बताए ।

प्रकाशित : मंसिर २१, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?