कर्मचारीबीच विवादले काम प्रभावित

कार्यालय प्रमुख फेकन साह र कर्मचारीबीच मनमुटाव
कार्यालयका कर्मचारी कामकाजमा नलगाएको र प्रमुखले काज लिएर बसेको विषयमा विवाद

मोरङ — पशु क्वारेन्टाइन कार्यालय विराटनगरमा कार्यालय प्रमुख र कर्मचारीबीचको विवादले काम प्रभावित भएको छ । विवादले चालु आर्थिक वर्षको पाँचौं महिना बित्न लाग्दासम्ममा पनि कुनै काम अघि बढ्न सकेको छैन भने कार्यालयको दैनिक कामकाजसमेत प्रभावित भएको हो । 

कार्यालय प्रमुख फेकन साह र कार्यालयका अन्य कर्मचारीबीच विवाद भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले विवाद मिलाउन खोज्दासमेत कार्यालय प्रमुख साहले अटेर गर्दै आएकाले कार्यालय सञ्चालनमा समेत समस्या भएको कर्मचारीले गुनासो पोखे ।


प्रमुख साहले कार्यालयमा कर्मचारीलाई कामकाजमा नलगाई आफैं काज लिएर मनोमानी गर्दै आएकाले कर्मचारीहरू विरोधमा उत्रँदा विवाद बढेको हो । पशु चिकित्सक केशव सिंहले आफूलगायत दुई पशु चिकित्सक र ३ पशु स्वास्थ्य प्राविधिक सरुवा भएर आएको तीन महिना बितिसक्दा पनि काममा नखटाएको गुनासो पोखे ।


‘हामी सरुवा भएर आएका कर्मचारीलाई काममा नखटाएर कार्यालय प्रमुखले आफू काज लिएर एकलौटी रूपमा काम गर्दै आउनुभएको छ,’ उनले भने, ‘हामीले पटकपटक काममा लगाउन आग्रह गर्दासमेत कार्यालय प्रमुखले आज भोलि भन्दै आल्टाल गर्दै आउनु भएको छ ।’


आफूहरूलाई न त फिल्ड कार्यालयको काममा खटाए न त कार्यालयमा नै काम नदिएपछि जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन जान बाध्य भएको उनले बताए । ‘कार्यालय प्रमुखबीचको विवादले प्रथम चौमासिकको कुनै काम अघि बढ्ने र अब दोस्रो चौमासिकको पनि नबढ्ने अवस्था छ,’ उनले भने, ‘कार्यालयमा कार्यरत १६ कर्मचारीले कात्तिक महिनाको तलवसमेत खान पाएको छैन ।’


जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक परेका बेलामा गाडी माग्दासमेत कार्यालय प्रमुख साहले अटेर गर्दै आएको थियो । पटकपटक गाडी माग्दा अटेर गरेपछि प्रमुख जिल्ला अधिकारीले बा१झ ७१७१ नम्बरको निसान पिकअप गाडी जिल्ला प्रशासनमा तानेको छ ।


गाडी तानेपछि करार सेवामा कार्यरत चालक श्रवणकुमार यादवलाई साहले अबवाश दिएको छ । सिंहले जिल्ला प्रशासनले चालक यादव गाडी चलाइरहेकोले अवकाश नदिन पत्राचार गर्दासमेत प्रमुख साहले अटेर गर्दै कातिकदेखि लागू हुने गरी अवकाश दिएको हो ।


कर्मचारीसँग विवाद गरी एकलौटी कार्यालय सञ्चालन गर्दै आएको गुनासो बढेपछि प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि मध्यस्थता गराएको थियो । सिंहले जसले पनि छलफल गराएर मध्यस्थता गराई दिएपछि कार्यालयमा उस्तै रबैया राखेपछि आफूहरू आजित भएको गुनासो पोखे ।


कृषि तथा पशुपक्षी विकास मन्त्रालयले साहलाई प्रदेश १ को भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभामा सरुवा गरेको थियो । तर प्रमुख साहले कर्मचारीलाई मिलाएर प्रभावकारी रूपमा कार्यालय सञ्चालन गर्न नसकेको भन्दै प्रदेश सरकारले उनलाई नखटाउने मन्त्रालयमा पत्राचार गरेको छ ।


कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मिति २०७५ मंसिर १६ को चलानी नम्बर ५३५ को पत्रमा २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन उल्लेख छ । प्रमुख साह मन्त्रालयमा समेत हाजिर हुन नगई पशु क्वारेन्टाइन कार्यालय विराटनगरमा बसिरहेका छन् ।


प्रमुख साहले केही कर्मचारी जिल्ला प्रशासन कार्यालयको मिलेमतोमा आफूलाई लखेट्न खोजेकाले विवाद भएको स्विकारे । ‘प्रदेश १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समेत आफूलाई सहयोग गरेनन्,’ उनले भने, ‘मन्त्रालयबाट २४ घण्टाभित्र हाजिर हुन आउन भनेर पत्र पठाएकोले अब चाँडै जान्छु ।’


जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सबै कर्मचारीलाई मिलाएर ऐन, नियम मातहत विपरीत कार्यालय सञ्चालन गर्न नसकेर सरुवा गराएको बताए ।


प्रमुख साहले कार्यालय र जनताको हितभन्दा आफ्नो व्यक्तिगत स्वार्थमा लागेकाले समेत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सरुवा गरिदिन आग्रह गरेको उनले बताए ।

प्रकाशित : मंसिर २३, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?