कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मेची पुल तयार

पुरानो सीमा नाका भद्रपुर–गलगलिया जोड्ने मेची खोलामा ५६० मिटर लम्बाइको पुल बन्यो
हुलाकी राजमार्ग निर्देशनालयले स्थानीय २२ घरपरिवारलाई मुआब्जा वितरण गर्‍यो
अर्जुन राजवंशी

भद्रपुर, झापा — पटक–पटकको शिलान्यासपछि निर्माण भएको नेपाल–भारत जोड्ने मेची पुलको उद्घाटन मिति तय भएको छ । मंसिर २६ मा प्रधानमन्त्री केपी ओलीले पुल उद्घाटन गर्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ । 

मेची पुल तयार

साढे छ दशकदेखिको निरन्तरको प्रयासबाट पूर्वी सीमा क्षेत्रमा नेपाल–भारत जोड्ने अर्को एउटा महत्त्वपूर्ण पुल उद्घाटन हुन लागेको हो । पुरानो सीमा नाका भद्रपुर–गलगलिया जोड्ने गरी मेची खोलामा ५६० मिटर लम्बाइको पुल निर्माण भएको छ ।


८ महिनाअघि नै पुल निर्माण सम्पन्न भए पनि बाटो निर्माणमा ढिलाइ हुँदा उद्घाटन मिति पछि धकेलिएको हो । मुआब्जाबारे लामो विवादपछि अहिले पुलसम्म पुग्ने बाटो निर्माणको कार्य धमाधम भइरहेको छ ।


हुलाकी राजमार्ग निर्देशनालयले स्थानीय २२ घरपरिवारलाई मुआब्जा वितरण गरेपछि पुलसम्म पुग्ने बाटो खुलेको हो । पुल उद्घाटन कार्यक्रमलाई लक्षित गरी पहिलो चरणमा १२ मिटर चौडाइको बाटो बनाउने कार्य भइरहेको योजना कार्यालय इटहरीका प्रमुख विजयकुमार महतोले बताए ।


पुलको पूर्वपट्टि भारततिर पनि एक सय ५० मिटर बाटो निर्माणको कार्य भइरहेको छ । ‘उद्घाटन कार्यक्रमलाई लक्षित गरी पुलको दुवैतर्फ बाटो बनाइरहेका छौं’, महतोले भने । पुल हुलाकी राजमार्ग निर्माण आयोजनाले निर्माण गरेको हो ।


हुलाकी राजमार्ग आयोजनाको ३३ करोड लागतमा पुल निर्माण सम्पन्न भएको निर्देशनालयको फिल्ड कार्यालय भद्रपुरका प्रमुख इन्जिनियर नन्दकुमार गुप्ताले बताए । आयोजनाले ०६६ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणको ठेक्का काठमाडौंको अनक–सूर्य जेभीले पाएको थियो ।


ठेक्का सम्झौता भएको एक महिनापछि माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छदारले पुलको तेस्रो पटक शिलान्यास गरेका थिए । शिलान्यास गर्दै गच्छदारले निर्धारित मिति तीन वर्षमा पुल निर्माण हुने दाबी गरेका थिए ।


तर, उक्त मितिको ९ वर्षपछि पुल निर्माण सम्पन्न भएर उद्घाटन हुन लागेको हो । त्यसअघि मेची पुल ०२४ मा तत्कालीन अञ्चलाधीश मनमोहन मिश्र र ०४१ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले शिलान्यास गरेका थिए ।


पटकपटकको शिलान्यास र विभिन्न कालखण्डको राजनीतिक खिचातानी खेपेको मेची पुलले बल्ल सार्थकता पाउँदा जिल्लाको पुरानो व्यापारिक केन्द्र भद्रपुरका नगरबासी उत्साहित बनेका छन् । ‘पुल उद्घाटन हुने खबरले निकै खुसी लागेको छ,’ ७१ वर्षीय मोहन अग्रवालले भने, ‘हामी केटाकेटी नै हुँदा मेची खेलामा पुल बनाउने रे भनेको सुनेका थियौं । तर, ढिलै भए पनि यही जुनीमा पुल बनेको देख्न पाइयो, निकै खुसी लागिरहेको छ ।’ अहिले अग्रवालको घर अघिल्लितिर मेची पुलसम्म जाने बाटो निर्माणको काम भइरहेको छ ।


६५ वर्षीय शशिचन्द्र गणेशले वर्षौंदेखिको एउटा सपना पूरा हुन लागेको बताए । पटकपटकको शिलान्यास कार्यक्रममा सहभागी भएका उनी यसपटक भने उद्घाटन कार्यक्रममा सहभागी हुन पाउने खबरले उत्साहित छन् । ‘निकै खुसी लागिरहेको छ । हामी सबै भद्रपुरबासीको यो नै एउटा ठूलो सपना थियो । जुन, अब पूरा भएको छ । यो पुलले फेरि भद्रपुरलाई ५० वर्षअघिको चहलपहलमा पुर्‍याउँछ भन्ने आशा जगाएको छ,’ उनले भने ।


पुल उद्घाटनको खबरले उत्साहित भद्रपुरबासी भारततर्फको बाटोले पूर्णता नपाउँदा भने खिन्नता व्यक्त गरिरहेका छन् । मेची पुलबाट भारततर्फको बाटो कता जोड्ने भन्ने स्पष्ट भइसकेको छैन । पुल भारतको पश्चिम बंगाल राज्यको भूभागमा पर्दछ ।


नजिकै बिहार राज्यको सिमाना छ । बंगाल राज्य सरकारले उक्त पुललाई नाकाका रूपमा विकास गराउने इच्छा देखाएको छैन । पश्चिम बंगालबाट पानीट्यांकी–काँकडभिट्टा नाका सञ्चालित छ । मेची पुलबाट भद्रपुर–गलगलिया नाका सञ्चालन गर्न बिहार राज्य सरकार सकारात्मक रहेको प्रदेश सांसद बसन्त बानियाँले बताए ।

‘यो नाका पूर्णरूपमा सञ्चालन गर्न बिहार राज्य सरकार सकारात्मक छ । हामी पहल गरिरहेका छौं । हामीले सरकारलाई पनि माथिल्लो स्तरबाट पहल गरिदिन दबाब दिइरहेका छौं’, उनले भने, ‘२६ गते पुल उद्घाटनका क्रममा प्रधानमन्त्रीले पनि केही बोल्नुहुन्छ भन्ने आशा छ ।’ उनले पुल उद्घाटनपछि भारततर्फ पनि चाँडै सडक निर्माण गरेर पूर्णरूपमा यातायात सञ्चालन हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : मंसिर २३, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?