कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बारीमा खेल मैदान

चौबिसे गाउँपालिका टोडे गाउँनजिक बारीको सानो गरालाई सम्याएर तयार पारेको स्थान भलिबल खेलमैदान

धनकुटा — मुस्किलले १५ मिटर क्षेत्रफललाई उनीहरूले आफ्नो उफ्रीपाफ्री गर्ने थलो बनाएका छन् । बारीको पाटामा खनी खोस्री गरेर मुस्किलले तयार पारेको खेल मैदानमा उनीहरू खेल्छन् ।

बारीमा खेल मैदान

स्कुल जाँदा खाजा खाने पैसा जम्मा पारेर किनेको भकुण्डो जोडले प्रहार गर्दा गुडेर टाढा पुग्ला भन्ने पीर भए पनि खेलको मजा लिन उनीहरू जुटेका छन् । चौबिसे गाउँपालिका २ को टोडे गाउँनजिक बारीको सानो गरालाई आफ्नै प्रयासमा सम्याएर तयार पारेको खेलमैदानमा भलिबल खेल्दै गरेका बालबालिकाको दैनिकी हो यो ।


बालबालिकाका लागि स्थानीय तहले कतिसम्म वास्ता र चासो देखाएका छन् भन्ने एउटा उदाहरणका रूपमा यसलाई लिन सकिन्छ । त्यसो त पहाडी भुबनावटका कारण फराकिलो चौर र खेलमैदान अभावमा अधिकांस ग्रामीण बस्तीमा चाहेर पनि बालबालिकाले धित मारेर खेल खेल्न भने पाएका छैनन् । यस्तै नियति उक्त गाउँँका बालबालिकाले भोग्दै आएका छन् ।


स्थानीय ११ वर्षीय सुदिप लिम्बूका अनुसार चार दिन लगाएर बारीलाई सम्याएर खेल मैदान बनाएका हुन् । बाँसको पोल र त्यहाँ डोरी टाँगेर ठाउँ बनाएका छन् । खेल खेल्ने, खेल खेल्ने रहर जागे पनि लिम्बु लगायत उनका साथीसंगी फराकिलो खेल मैदान अभावकै कारण भने जस्तो मजा लिन नसकेको बताउँछन् ।


‘बालिनाली काटेर खाली रहेको बारीमा सबै मिलेर खेल मैदान बनाएका हौं,’ लिम्बूले भने, ‘कहींबाट सहयोग छैन ।’ १४ वर्षीय सुजन देवान पनि खेल खेल्ने उपयुक्त मैदान अभावमा रमाइलो साथ खेल्न नपाएको बताउँछन् । तर आफैंले बनाएको खेल मैदानप्रति उनी गर्व गर्छन् । स्कुल छुटेपछि घर फर्किएर उनीहरू भेला भएर भलिबल खेल्न जाने गर्छन् । खेल मैदान रहेको बारीमा बाली लगाएपछि अन्यत्र खाली ठाउँ खोज्दै हिँड्नुपर्ने बालबालिका बताउँछन् ।


जिल्लामा पछिल्लो समय प्राय: भलिबल प्रतियोगिताका ठूला खेल हुनेक्रम बढदै छ । तर सहरी क्षेत्रमा मात्र सीमित रहेको खेलप्रेमीको गुनासो छ । गाउँ बस्तीमा व्यवस्थित मैदान अभाव रहेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष भोगेन्द्र थापाको भनाइ छ । ‘सहर बजार केन्द्रित खेल मैदान रहेको छ’, थापाले भने, ‘हामी ग्रामीण बस्तीमा मैदान निर्माणका लागि स्थानीय तहमार्फत आग्रह गरिरहेका छौं ।’


बाल्यकालदेखि खेल्ने उत्कृष्ट चाहना भएका बालबालिकाले पनि खेल मैदान अभावमा खेल खेल्न पाएका छैनन् । धनकुटा नगरपालिका ४ को नमुना बालक्लबका अध्यक्ष निराकार अधिकारी पनि बालमैत्री स्थानीय शासनको चर्का कुरा उठिरहेका बेला खेल क्षेत्रमा पनि बाल विकास तथा बाल सहभागिता हुनुपर्ने बताउँछन् ।


‘सामान्यत: खेल तथा व्यायाम गर्ने उपयुक्त थलो अभावमा बालबालिकाले आफ्ना गतिविधि गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘हामीले स्थानीय सरकारबाट धेरै आशा गरेका छौं, जसअनुसार पाएका छैनौं ।’


उता चौबिसे गाउँपालिकाका प्रमुख खजिन्द्र राईले खेलकुदलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको दाबी गर्छन् । उनले बालबालिकाको सवालमा भने जस्तो काम गर्न बाँकी रहेको बताए ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?