विराट ट्रेड एक्स्पोको तयारी पूरा

२७५ स्टलमा विभिन्न उत्पादन राखिने
३ लाख दर्शकले अवलोकन गर्ने अनुमान

मोरङ — विराटनगरमा हुन गइरहेको विराट ट्रेड एक्स्पो २०१८ को तयारी पूरा भएको छ । मोरङ व्यापार संघ विराटनगरले पुस ६ देखि १२ सम्म शान्ति चोक तीनपैनीमा आयोजना गर्ने छ । 

संघका अध्यक्ष पवन शारडाले नेपालमा उत्पादित तथा आयातित औद्योगिक उत्पादन तथा सेवालाई एउटै छानामुनि ग्राहकवर्गलाई जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको बताए ।


‘मुलुकको पहिलो उद्योग स्थापना भएको विराटनगरमा एक्स्पोमार्फत विभिन्न औद्योगिक उत्पादन तथा प्रविधिलगायतका बारेमा ग्राहक तथा उपभोक्ता वर्गले अवलोकन गरेर जानकारी प्राप्त गर्ने छन्,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ता, उत्पादक, निर्यातकर्ता लगायतलाई एकैथलोमा भेला गराएर औद्योगिक उत्पादन तथा सेवाबारे जानकारी गराउँछौं ।’


एक्स्पो तथा प्रदर्शनी समितिका संयोजक अनुपम राठीले एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकहरूको उत्पादित बस्तु तथा सेवाबारे उपभोक्ता तथा ग्राहक वर्गले जानकारी पाउने बताए ।


‘२४ हजार वर्ग मिटरमा २ सय ७५ स्टल रहने एक्स्पोमा ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ,’ उनले भने, ‘करिव १ करोड ७ लाखको लागतमा आयोजना हुने एक्स्पोमा ३० करोड बढी कारोबार हुने र आयोजकलाई १ करोड २० लाख रुपैयाँसम्म आम्दानीको लक्ष्य छ ।’ एक्स्पोमा ३ सय ३९ स्टल निर्माण गरिएको उनले बताए ।


‘एक्स्पोलाई चार भागमा विभाजन गरेर व्यवस्थापन गरेका छौंं,’ शारडाले भने, ‘प्रदर्शनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा सांगीतिक कक्ष, बालउद्यान तथा मनोरञ्जन र खाना कक्षमा मेलालाई विभाजन गरेका छौंं ।’


प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैंक तथा बित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री, हस्तकला, तयारी पोषाक र जुत्ताचप्पलको स्टल रहने उनले बताए ।


‘सांस्कृतिक कक्षमा विराट गट ट्यालेण्ट रियालिटी शो, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, फेसन शो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुन्छ,’ उनले भने, ‘बाल उद्यान कक्षमा साहासिक तथा मनोरञ्जनात्मक खेलहरू र खाना कक्षमा साकाहारीका साथै मांशाहारी, जातीय परिकारको स्टल रहनेछ ।’


मुलुकमा राजनीतिक स्थायित्वसँगै चलेको आर्थिक विकास बेला विराट ट्रेड एक्स्पोले धेरैलाई व्यापार, व्यवसायका साथै औद्योगिक गतिविधिमा लाग्न प्रेरित गर्ने उद्देश्य रहेको शारडाको भनाइ छ ।


‘देश तथा प्रदेशको आर्थिक समृद्धिका लागि औद्योगिक लगानीका साथै बजार र व्यवसाय विकास बिस्तारको विकल्प नभएकाले यो एक्स्पोले महत्त्वपूर्ण भूमिक निर्वाह गर्नेछ,’ उनले भने, ‘दैनिक विदेश पलायन भइरहेका युवा जमातलाई र बेरोजगारी जीवन बिताइरहेकालाई यस एक्स्पोले नयाँ नयाँ प्रविधिका साथै व्यापार व्यवसायबारे जानकारी प्राप्त भई स्वरोजगारी सृजना गर्न प्रोत्साहित गर्छ ।’

प्रकाशित : मंसिर २४, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?