मोरङलाई ‘खुला दिसामुक्त’ घोषणा गरिने

मोरङ — मोरङ जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिने भएको छ । यहाँका स्थानीय तहहरूका शतप्रतिशत घरधुरीमा शौचालय निर्माण कार्य अन्तिम चरणमा रहेकाले जिल्ला समन्वय समितिले पुस महिनाभित्र मोरङलाई खुला दिसामुक्त क्षेत्र घोषणा गराउने तयारी थालेको हो । 

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोख्रेलले यहाँका १७ स्थानीय तहमध्ये तीन वटामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी रहेको बताए । जिल्लास्थित १७ वटा स्थानीय तहमध्ये विराटनगर महानगरको वडा १८ र १९, कटहरीको वडा २, ३ र ४ र जहदा गाउँपालिकको वडा २, ४ र ७ मा मात्रै केही घरधुरीमा शौचालय निर्माण गर्न बाँकी रहेको उनले बताए ।


सुनबर्षी नगरपालिका आउँदो २८ गते खुला दिसामुक्त घोषणा हुने कार्यक्रम तय भइसकेको छ चने बुढीगंगा गाउँपालिकामा शौचालय निर्माणको काम सम्पन्न भइसकेकाले जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई अनुगमनका लागि पत्राचार गरिसकेको उनले बताए ।


उनले कटहरी गाउँपालिकाको वडा १ आइतबार खुला दिसामुक्त घोषणा गरिएको बताए । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रमुख पोख्रेलले वडा अध्यक्ष कपुरलाल माझीलाई खुला दिसामुक्त वडाको प्रमाण पत्र प्रदान गरे ।


जिल्ला र गाउँपालिकास्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समितिले उक्त वडाको १ हजार ५७ घरधुरीमा शौचालय निर्माण भएर प्रयोग गरिरहेको अनुगमन प्रतिवेदन बुझाएपछि खुला दिसामुक्त घोषणा गरिएको हो ।


कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले वडा २, ३ र ४ मा पनि शौचालय निर्माणको काम तीव्र गतिमा भइरहेको बताए । गाउँपालिकालाई आउँदो २९ गते खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीका साथ शौचालय निर्माणमा काम धमाधम भइरहेको कामतले बताए ।


‘यस अभियानअन्तर्गत शौचालय निर्माण गर्न नसक्ने विपन्नहरूलाई गाउँपालिकाले रिङ, प्यानलगायतको सहयोगसमेत जुटाइदिरहेका छौं,’ उनले भने, ‘तर केही आफ्नो हैसियत हुँदाहुँदै पनि सरकारी अनुदान पाउने आशमा र परम्परागत जीवनशैलीले शौचालय निर्माणमा ढिलाइ गरिरहेकाले खुला ठाउँमा शौच गर्नेलाई सम्मान गर्ने अभियान सुरु गरेका हौं ।’


खुला दिसामुक्त अभियानमा हाटखोला प्रहरीको सहयोगमा बिहानै खुला ठाउँमा शौच गर्ने क्षेत्रमा गस्तीसमेत सञ्चालन गरिएको उनले बताए । ७ वटा वडा रहेको उक्त गाउँपालिकाको वडा १, ५, ६ र ७ खुला दिसामुक्त घोषणा भइसकेको छ भने वडामा शौचालय निर्माणको काम सम्पन्न भइसकेको उनले बताए ।


कामतले वडा ३ र ४ का करिब ५० घरपरिवारले मात्रै शौचालय निर्माणमा ढिलाइ गरिरहेकाले सम्मान गर्ने अभियान सुरु गरेको बताए । गाउँपालिकामा ९ हजार घरधुरी छ ।

प्रकाशित : मंसिर २६, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?