३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

समृद्ध बन्दै राजमार्गका बस्ती

जितेन्द्र साह

दमक, झापा — मोरङको विराटनगरबाट रंगेली हुँदै सुनवर्षीसम्म जनजीवन सामान्य देखिन्छ । तर मोरङको रतुवामाई नगरपालिकाको आमबाडी–उर्लाबारी सडक खण्डतर्फ मोडिएपछि चहलपहल सुरु हुन्छ ।

समृद्ध बन्दै राजमार्गका बस्ती

वरिपरि नयाँ चोक, बजार र बस्तीको विकास भइरहेको छ । स्थानीय घर, खेत र पसलमा व्यस्त भेटिन्छन् ।

यो सडक खण्डको सोमबारे मंगलबारे हुँदै उर्लाबारीसम्म पुग्दा जतात्यतै समृद्ध बस्ती देख्छौं । ‘प्रशस्त सम्भावना भएका राजमार्ग छेउछाउमा बसाइँ सरेका मिहिनेती एवं संघर्षशील पहाडबासीले गर्दा यो पुरा क्षेत्रले मुहार फेरेको हो,’ ४४ वर्षीया रत्न निरौलाले भनिन् । उनी उलार्बारी–२ की किसान एवं गृहिणी हुन् ।

विराटनगरबाट करिब ६१ किमि पूर्वोत्तरको उर्लाबारी नगरपालिका कार्यालय, अस्पताल, शिक्षण संस्था, चोक र बजारको सुन्दर स्वरूपले स्वत: नमुना नगरको झलक दिन्छ । नगरपालिका कार्यालयको बेभसाइटका अनुसार ७४.६२ वर्ग किमिमा फैलिएको यो थलोको ५४ हजार ६ सय ९६ जनसंख्यामा ५४.०२ प्रतिशत महिला छन् । यहाँ सरकारी र निजी गरी ८ उपचार संस्था, १६ बालविकास केन्द्र, चार सामुदायिक वन र १७ सामुदायिक शिक्षण संस्था छ ।


‘नगरबासीलाई चाहिने सबथोक यहाँ छ, हामीले अब कतै जानै पर्दैन,’ निरौलाले भनिन् । यो सुन्दर नगरीको पूर्वमा झापाको दमक नगरपालिका, पश्चिममा पथरीशनिश्चरे र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुंग गाउँपालिका र दक्षिणमा रतुवामाई नगरपालिका छ ।

‘जति अगाडि बढ्दै जान्छौं, त्यति विकास भएको देख्छौं,’ इलाम चुलाचुली गाउँपालिका–५ का युवा एलबी तामाङले भने । दमकमा जग्गा भएकाले उनी ओहोरदोहोर गरिराख्छन् । उर्लाबारीबाट ५ किमि पूर्वमा झापाको दमकमा आधुनिक चोक र बजार छ । यहाँको बजारमा काठमाडौंको दरबारमार्ग क्षेत्रको भन्दा सुन्दर माहोल छ ।

वरिपरि व्यवस्थित एवं झकिझकाउ चोक, गल्ली एवं पसल छ । बजारको चारै दिशामा सबैखाले सामग्री पाउने आधुनिक पसल छ । मुख्य बजारमा पार्किङ र आवागमन निषेध मात्र छैन, किनमेल गर्न आएकाको आरामका लागि बजारको मध्यभागमा दुवैतिर बस्नलाई लहरे बेन्च निर्माण गरिएको छ ।


वरिपरि थरिथरिका खाजाको स्टल पनि भएकाले स्थानीयले खानपिनको पनि आनन्द लिइरहेका हुन्छन् । ‘चोक त पहिलादेखि नै व्यवस्थित थियो, बजारको मुहार भने दुई वर्षमा फेरिएको हो,’ दमक–८, गणेशमान सिंह मार्गका पुराना बासिन्दा अर्जुन सिटौंलाले भने ।

स्थानीय क्लबहरू र सक्षम स्थानीयवासीसँग हातेमालो गरी नगरपालिकाले दमक बजारलाई मुलुककै उदाहरणीय बनाएको उनले बताए । ‘पहाड र मधेसबाट झरेका स्थानीय पौरखी बासिन्दा व्यवसायमा संलग्न भएर कायापलट गरेका हुन्,’ स्थानीय कर्माशेर्पा लामाले भने । दमक चोकदेखि करिब ८ किमि पूर्वोत्तरस्थित राई, लिम्बू एवं मगर बहुल इलामको चुलाचुली–१ का कृषक एवं पशुपालकको मुख्य बजार दमक नै हो ।

‘चुलाचुलावासीले हुन त वरिपरिको हाटबजारमा उत्पादन बेच्छन तर उनीहरूको पनि किनमेल एवं व्यवसायको मुख्य गन्तव्य दमक बजार नै हो,’ स्थानीय राजनीतिकर्मी दिपक राईले भने, ‘दमकमा व्यवसायको बिस्तारले चुलाचुलीमा कृषिको विकास भइरहेको छ, त्यहाँको कृषि उत्पादन एवं बंगुरले बजार पाएको छ ।’

सम्पन्नदेखि विपन्नसम्मले खानबस्न सक्ने स्तरीय होटेल एवं पसल यहाँ रहेको दमक चौकका व्यवसायी युवराज दंगालले बताए । ७५.८५ वर्ग किमिमा फैलिएको दमक बाहुनक्षेत्री, आदिवासी, जनजाति र दलित बहुल हो ।


पहाडबाट अवसरको खोजीमा राजमार्ग छेउछाउलाई कर्मथलो बनाएका जनसमुदायको श्रम र सीपले समृद्ध बस्तीहरूको निर्माण भइरहेको प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले कान्तिपुरलाई बताए ।

‘दिनरात खट्न सक्ने जाँगर भएकाहरू नवधनाढ्य बनेका छन्,’ उनले भने, ‘पृष्ठभूमि केलाउँदै जाँदा उनीहरूमध्ये कतिपय कुनै बेला सुकुम्बासीसरह जीवन बिताएको पाउँछौं, आँट भएमा विकास सम्भव छ भन्ने यो उदाहरण हो ।’

प्रकाशित : मंसिर २६, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?