कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिटामोल किन्न आधा दिन

संखुवासभा — सभापोखरी गाउँपालिका ५, फाकुवा र सिक्दिमका स्थानीय सिटामोल किन्न आधा दिन हिँड्छन् । उकालो ओरालो कम्तीमा ६ घण्टा हिँडेपछि बाह्रबिसे बजार आइपुगिन्छ । यी गाउँका स्थानीय सामान्य ज्वरो आउँदा पनि ६ घण्टा धाएर मात्रै बाह्रबिसे बजार पुग्छन् ।

सिटामोल किन्न आधा दिन

सभापोखरी गाउँपालिकाको केन्द्र रहेको बाह्रबिसे बजारमा मात्रै स्वास्थ्य संस्था र औषधिका बजार पसल छन् । त्यो पनि भरपर्दो छैन । ‘त्यसैले फाकुवा र सिक्दिमका स्थानीय बिरामी परेमा डोकोमा बोकेर बाह्रबिसे झर्छन्,’ स्थानीय सुरेश राईले भने, ‘गाउँपालिकाको केन्द्र बाह्रबिसे बजार तोकियो, सिक्दिम र फाकुवाका बासिन्दा एक गोली सिटामोल लिन आधा दिन हिँडेर आउँछन् ।’


गाउँपालिकासम्म सडक पुगे पनि त्यहाँबाट गाउँसम्म पुगेको छैन । फाकुवा र सिक्दिम दुई वटा वडा स्थानीय पुन:संरचनापछि बनेका नयाँ वडा हुन् । ती वडाहरूमा न त प्राथमिक उपचार गर्ने कुनै सरकारी स्वास्थ्य संस्था छन् । न त निजी क्लिनिक नै छ । पातलो गाउँबस्ती रहेको यहाँ सिकिस्त बिरामी परेमा ज्यान गुमाउन पर्ने बाध्यता छ, उनले भने, तत्काल कुनै उपचार गर्ने माध्यम छैन ।


सरकारी र निजी क्षेत्रबाट प्राथामिक स्वास्थ्य सेवा समेत पुग्न नसक्दा आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित हुनु परिरहेको उनले बताए । गाविसबाट गाउँपालिका भएपनि स्वास्थ्यको समस्या भने उस्तै छ । ‘स्थानीय सरकार बनेपछि सबै कुराको सुविधा हुन्छ भन्ने थियो’ उनले भने, ‘तर केही परिवर्तन भएन, गरिबलाई शिक्षा र स्वास्थ्यको सधै चिन्ता नै छ ।


‘सडक सञ्जाल नपुगेका कारण बिरामीलाई डोकोमा नै बोकेर बाह्रबीसे बजार पुर्‍याउनुको विकल्प समेत छैन’ उनले भने, ‘त्यसपछि हिँउदमा सदरमुकामसम्म गाडी भेटिन्छ, बर्षात्मा हिँडेरै जानुपर्छ ।’

एउटा मात्रै स्वास्थ्य संस्था भइदिए सहज हुने थियो सूर्य राईले भने, ‘धेरै ठाउँमा एम्बुलेन्स बिग्रेर बिरामी अस्पताल पुर्‍याउन सकिएन भन्ने सुन्छौं तर तर हाम्रो ठाउँमा डोको नै एम्बुलेन्स बन्छ । अप्ठ्यारो बाटोका कारण कहिले त बोकेर लैजान समेत समस्या भएको उनले बताए ।


सिक्दिम र फाकुवामा प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी तत्कालै राख्नुपर्ने अवस्था रहेको सभापोखरी गाउँपालिकाका अध्यक्ष रत्न सुब्बाले बताए । यी दुई वटा वडामा स्वास्थ्य समस्या अति नै आवश्यक छ, उनले भने, स्थानीयहरू सामान्य औषधि लिन समेत घण्टौं हिँड्नुपर्ने बाध्यता छ ।’


यस क्षेत्रलाई केन्द्रित गरेर स्वास्थ्य चौकीको स्थापना गर्न गाउँसभाले निर्णय गर्ने योजना रहेको उनले बताए । सदरमुकाम र आसपासका सुगम स्थानमा एनजीओले स्वास्थ्यका नाममा धेरै खर्च गरे पनि गाउँसम्म नपुग्ने गरेको स्थानीयको आरोप छ । सदरमुकाममा भने एक दर्जन बढी गैरसरकारी संस्था स्वास्थ्यको नाममा सेवा दिने भन्दै थुप्रिएका छन् ।

प्रकाशित : मंसिर २६, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?