बालक अपहरणको आरोपमा तीन पक्राउ, बालकको सकुशल उद्दार

दमक — सात वर्षीय भारतीय बालकलाई अपहरण गरेको आरोपमा झापा गौरीगञ्ज गाउँपालिकाका एक दम्पतीसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

बालक अपहरणको आरोपमा तीन पक्राउ, बालकको सकुशल उद्दार

पक्राउ पर्नेमा गौरीगञ्ज ६ खजुरगाछीका ४७ वर्षीय बद्री यादव, ३१ वर्षीय बिटु भनिने श्रीप्रसाद मुखिया र श्रीप्रसादकी श्रीमती २७ वर्षीया अञ्जुदेवी मुखिया छन् ।

उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । उनीहरुले भारतीयको सहयोगमा बिहार राज्य सुपोल जिल्ला किसनपुर थाना चोहट्टा पञ्चायत ठाढीधता २ पोष्ट मौजाहा निवासी मोहमद सद्दामका ७ वर्षीय छोरा महफुज आलमलाई अपहरण गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए ।


सुपोल जिल्लाकै राघोपुर थाना देवानगञ्ज २ स्थित मावली गाउँमा खेलिरहेका आलमलाई नामथर वतन नखुलेका दुई भारतीय नागरिकले मंसिर २० गते ललाईफकाई मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याएका थिए । उनीहरुले बालकलाई नेपालतर्फ मुखिया दम्पती र यादवलाई जिम्मा लगाएका थिए । उनीहरुले दुई दिनसम्म गौरीगञ्जमै राखेको र त्यसपछि दमकस्थित देउराली होटलको कोठा नं. १०७ मा बन्धक बनाएर राखेको एसपी ढकालले बताए । बालकलाई अपहरण गरि उनीहरुले बालकको परिवारलाई भारतीय १५ लाख रुपैयाँ फिरौती माग गरेका थिए । उनीहरुले फिरौती रकम नदिए बालकको हत्या गरिदिने चेतावनी समेत दिएको एसपी ढकालले बताए ।


घटनामा संलग्नलाई पक्राउ गर्नुका साथै अपहरण गरि बन्धक बनाएर राखिएका बालकको सकुशल उद्दार गर्न सफल भएको एसपी ढकालले बताए । अपहरणकारीलाई पक्राउ तथा बालकको उद्दारमा नेपाल र भारतीय प्रहरीले सहकार्य गरी अनुसन्धान अघि बढाएका थिए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि बुधबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको एसपी ढकालले बताए ।


प्रकाशित : मंसिर २६, २०७५ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?