आगलागीपीडितले राहत अझै पाएनन्

पटकपटकको आगलागीबाट पीडित भएकाको बिजोग

तेह्रथुम — सदरमुकाम म्याङलुङ बजार जलेर खरानी भएको मसिंर २२ गते १६ वर्ष पुग्यो । यसबीचमा बजारक्षेत्रमा तीन पटकसम्म आगलागी भयो । अर्बाैंको धनसम्पत्ति नोक्सानी भयो । पीडितको जीवनभरको कमाइ खरानी भयो । धेरै परिवार घरबारविहीन भए ।

आगलागीपछि भने बजारक्षेत्र पहाडी जिल्लाकै आधुनिक र नयाँ सहरको रुपमा विकास भयो । तर पीडित भने अहिले पनि आगलागीको सन्त्रासमै बाँचिरहेका छन् ।


सदरमुकाममा पटकपटक आगलागीका घटना भइरहे पनि सरकारले आगो लाग्नै नदिने र लागि हालेमा तत्कालै निभाउन सक्ने प्रभावकारी उपायको व्यवस्था गर्न नसक्दा जब हिउँदयाम सुरु हुन्छ, तब पीडितहरू सोही घटनाले त्रसित हुन्छन् ।


दु:खले बनाएको घर दुईपटक आगोले जलेपछि अर्काको घरमा शरणमा बसेका म्याङलुङ बजार चोकका अग्निपीडित चिरञ्जीविमान श्रेष्ठ फेरि पनि आगलागी हुने हो कि भन्ने त्रासले घर बनाउन नसकेको पीडा सुनाउछन् ।


पहिलोपटक भएको आगलागीबाट तंग्रिन नपाउँदै भएको अर्को आगलागीमा परी सबै सम्पत्ति जलेपछि उनी निरास छन् । भएभरको सम्पती जलेर घर बनाउन नसकेपछि उनी अहिले सरदमुकाममा रहेको तत्कालीन जलजले गाविसका पुर्व अध्यक्ष कपिलदेव सिंघकको घरमा आश्रय लिएर बसेका छन् ।


‘साथीभाइले केही दिनका लागि शरण दिएका छन्, थाहा छैन कहिले घर बनाउन सक्छु,’ उनले भने ।

१६ वर्षको अवधिमा म्याङलुङ बजारमा मात्र ९५ घर जलेर ध्वस्त भइसकेका छन् । २०५९ मंसिर २२ गते साँझ भएको आगलागीमा परी म्याङलुङ बजारको मुख्यचोकका ८५ घर जलेर ध्वस्त भएका थिए । त्यसताका आगोले जलेर खरानी भएका धेरै घर पक्की बनेका छन् ।


पक्की घरमा कच्ची घरको तुलनामा आगलागीको डर केही कम हुने भए पनि ढुक्क हुन भने नसकिएको अग्निपीडित भगवानमान श्रेष्ठको भनाइ छ । ‘त्यतिबेलै सरकारले बजार क्षेत्रमा दमकलको व्यवस्था गरीदिएको भए मेरो घर दोस्रो पटक आगोले जलिसक्ने थिएन,’ आगलागीपछि घरवारविहीन भएका चिरञ्जीवीमान श्रेष्ठले भने । अहिले भने म्याङलुङ र लालीगुराँस नगरपालिकासँग दमकल छन् ।


म्याङलुङ बजारपछि छिमेकी पहाडी जिल्लाका सरमुकामकाम फिदिम र फुङलिङ बजार पनि आगोले जले । यी बजार क्षेत्रमा आगलागी लगत्तै पर्याप्त पानी र दमकलको व्यवस्था गर्न पीडितले सरकारसँग माग गरेका थिए । तर पीडितको माग सुनुवाइ भएन । ०७३ पुस १ गते संक्रान्ती बजार जलेर खरानी भयो । तर त्यहाँ अहिलेसम्म दमकलको सुविधा छैन ।


बजार क्षेत्रमा आगलागी हुनै नदिने ठोस योजना बन्न नसकेको भए पनि आगलागीपछि पुनर्निर्माण भएका अधिकांश घरमा १० हजार लिटर क्षमताका भुमीगत पानी ट्याङकी निर्माण भने गरीएको छ । घर बनाउँदा एक आपसमा केही जमिन छोडेर बनाउने र घर अगाडिपछाडिको भागमा सवारी गुड्न सक्ने सडकको भाग छोडिएको छ ।


बजार क्षेत्रमा सडक, ढल, बिजुली, खानेपानी, टेलीफोन लगायतका भौतिक पूर्वाधार निर्माण गर्दा पनि संभावित आगलागीलाई ध्यानमा राखेर गरीएको अग्नीपिडीत एवं कांग्रेस सभापति गोविन्द ढुंगानाले बताए ।


‘बजार क्षेत्रको पुनर्निर्माण गर्दा आगलागी प्रतिरोधी घर निर्माणमा विशेष ध्यान दिएका छौंं,’ ढुंगानाले भने । म्याङलुङ नगरपालिका क्षेत्रभित्र पछिल्लो समय बनेका र बन्ने तयारीमा रहेका घरलाई आगलागी प्रतिरोधी घरको रुपमा निर्माण गर्न अलग्गै नक्सा नै तयार गरी नक्सा पास गर्ने काम भैरहेको कार्यकारी म्याङलुङ नगरपालिकाका नगर प्रमुख संजय तुम्बाहाम्फेले बताए ।


‘बेवास्ता गरियो’

सरकारले तत्कालीन समयमा अग्निपीडितलाई दिने भनेर आश्वासन दिएको राहत रकम र अन्य सहयोग नदिएको पीडितले १६ वर्षपछि पनि गुनासो गरीरहेका छन् ।


तत्कालिन समयमा सरकारले आगलागी क्षेत्रमा पर्याप्त मात्रामा भौतिक पूर्वाधारको विकास गरीदिने भनेको तर हालसम्म नगरीदिएको अग्निपीडित नारायणलाल श्रेष्ठले गुनासो गरे ।


पीडितका नाममा त्यस समय देशभरबाट संकलन भएको राहत रकममा समेत त्यसताका व्यापक भ्रष्टाचार भएको पीडितले अहिले पनि सम्झिरहेका छन् ।


पीडितलाई तत्कालीन समयमा देशभरीवाट संकलन भएको राहत रकम जनही १ लाख २५ हजारका दरले वितरण गरीएको थियो । क्षति भएको सम्पतीको ५ प्रतिशत पनि राज्यवाट सहयोग नपाएको भन्दै पिडीतले आगलागी भएको १६ वर्ष सम्म पनि गुनासो गरिरहेका छन् ।

प्रकाशित : मंसिर २७, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?