कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अतिक्रमणले नासिने अवस्थामा लामपोखरी

संरक्षण नहुँदा सुक्न थाल्यो

संखुवासभा — सिलिचोङ गाउँपालिका ४ माङ्तेवामा रहेको ऐतिहासिक लाम पोखरीको संरक्षण नहुँदा अस्तित्व गुम्ने अवस्थामा पुगेको छ । ‘अलौकिक शक्ति’ रहेको भनिएको पोखरीको संरक्षण हुन नसक्दा नासिने अवस्थामा हो ।

अतिक्रमणले नासिने अवस्थामा लामपोखरी

दशक अघिसम्म पानीले भरिएको पोखरी पछिल्लो समय पानीको सतह घटै गएको छ । पोखरीको दक्षिण दिशातर्फको जमिनको भाग खिईदै गएकाले पनि पोखरीमा पानी कम हुँदै गएको हो ।


पोखरी वरिपरि व्यक्तिगत स्वमित्वको जमिन भएकाले बन फँडानी हुने गरेको छ । पानीको सतह घट्नुको अर्को मुख्य कारण जंगल फडानी पनि हो । पहिले घना जंगलभित्र रहेको पोखरी अहिले खुला पाखामा सुक्दो अवस्थामा छ ।


जंगलभित्र रहेको पोखरी नजिक कोही गए अनौठो आवाज आउने, मेघ गर्जने र पोखरीबाट अनौठो वस्तु देखा पर्ने गरेको ९० बर्षीय स्थानीय हिकमतसिं राईले बताए । ‘ठूलो क्षेत्रफलमा रहेको पोखरीको नजिक कोही जान सक्दैनन् थिए’, उनले, ‘हामी केटाकेटी हुँदा कोही जानु हुँदैन भन्थे, त्यहाँ कोही पुगे बिरामी परेर मृत्यु हुन्थ्यो ।’


त्यो बेला पोखरी नजिक पुगेकै कारण गाउँका एक जनाको मृत्यु भएको उनको भनाई छ । ‘पोखरीमा दैवी शक्ति वा कुनै अलौकिक शक्ति रहेको विश्वास गरिन्थ्यो, उनले भने, ‘शक्ति भएको मान्यताका कारण धामी झाक्रीहरूले पनि टाढैबाट पोखरीको दर्शन गर्थे ।’


पछि बिस्तारै पोखरी शक्तिबिहीन बन्दै गएपछि पोखरी वरिपरिको जंगल विनास हुँदै गएको अर्का स्थानीय गौमान तामाङ बताउँछन् । यसरी पौराणिक महत्व बोकेको पोखरीको अहिले संरक्षण नहुँदा आहालमा परिणत हुने सम्भावना रहेको उनले बताए ।


पोखरीको संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीयको राम्रो आयस्रोत बन्न सक्ने स्थानीय मोतिबहादुर कुलुङको भनाई छ । पोखरीको पानी संरक्षण गरी अन्यत्रबाट थप पानी मिसाए पोखरीको आकार बढाएर आकर्षक बनाउन सकिने समेत उनले बताए ।


सिलिचोङ गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङ यस्ता पौराणीक र पुरातात्वीक महत्वको स्थलहरूलाई संरक्षण गर्ने योजना रहेको बताउँछन् । लामपोखरी पर्यटनसँग पनि जोडिएकाले अहिले निर्माणक्रममा रहेको पर्यटन गुरु योजनामा समेटिएको उनको भनाइ छ । ‘अहिले लामपोखरी रहेको भूभाग व्यक्तिगत की सरकारी भन्ने स्पष्ट छैन’ उनले भने, ‘लामपोखरीलाई सुर्के डाँडा हुँदै नागिटारको पदमार्गमा जोड्ने प्रारम्भिक योजना गरेका छाैं ।’

प्रकाशित : मंसिर २७, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?