पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ — प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा शुक्रबार बेलुकादेखि हिमपात सुरु भएको छ । यो सिजनकै पहिलोपटक हिमपात भएको हो । हिउँले ३ हजार १ सय मिटर उचाइको माथिल्लो फेदीदेखि मन्दिरसम्मै ढाकेको पाथीभरा क्षेत्र विकास समिति सदस्य गोपाल न्यौपानेले बताए ।

पाथीभरा क्षेत्रमा हिमपात

डेढ सयभन्दा बढी तीर्थयात्रीले हिउँसँग रमाउँदै पाथीभरा मन्दिरमा पूजापाठ गरेका थिए । हिउँपरेको पाथीभरा क्षेत्रको दृश्य कैद गर्न र हिउँ खेल्न सदरमुकाम फुङलिङबाट आइतबार बिहान टोलिसमेत गएको थियो ।


सदरमुकाम फुङलिङवाट नजिकैको क्षेत्रमा हिउँ परेकाले हिउँसँग रमाउन चाहनेका लागि अवसर रहेको न्यौपानेले बताए । एक सातासम्म नविल्ने र रहिरहने भएकाले हिउँको मजा लिन अझै पनि जान सकिने उनले बताए ।


शनिबार बिहानको मौसम खुलेको र हिउँले ढाकेको डाँडादेखि कञ्चनजंघा, मकालु, कुम्भकर्ण हिमालहरू समेत देखिएकाले पाथीभरा जानेका लागि थप उत्साह भएको थियो । पूजा गर्न गएकाहरू सकेर पनि हिउँ खेल्न दिनभरजसो व्यस्त भएका थिए ।


माथिल्लो फेदिदेखि माथिको क्षेत्रको पैदल मार्गमा समेत हिउँ प्रशस्तै रहेकाले पैदल यात्रीले भने सचेतना अपनाउनुपर्ने न्यौपानेको सुझाव छ । हिउँमा चिप्लने र लड्ने सम्भावना हुने भएकाले लौरोको प्रयोग गर्नु उचित हुने उनले बताए । तीर्थयात्रीका लागि काफ्ले पार्टीदेखि माथिल्लो फेदीसम्मका व्यवसायीले नि:शुल्क लौरो उपलब्ध गराउने गरेका छन् । उता उच्च हिमाली क्षेत्र घुन्सा, ओलाङचुङगोलामा पनि शुक्रबार साँझ हिउँ परेको स्थानीयले बताएका छन् ।


भेटीमा ५ का नोट ७५ हजार

मन्दिरमा सबैभन्दा सानो पैसा सवैभन्दा बढी चढाइन्छ । ताप्लेजुङको पाथीभरा मन्दिरमा पनि त्यस्तै भयो । नोटको सबैभन्दा सानो ५ दरका नोट सबैभन्दा बढी भेटियो ।


आम्दानीका हिसावले भने सयको सबैभन्दा बढी । साउनदेखि कार्तिक मसान्तसम्मको गणनामा ७४ हजार नौ सय वटा पाँचका नोट भेटिएको पाथीभरा भेटी व्यवस्थापन समितिका सदस्य उदय भट्टराईले बताए ।


४६ लाख २८ हजार जम्मा हुँदा १० का नोट ५२ हजार वटा थिए भने २० का २४ हजार आठ सय वटा । ५० का १४ हजार ९ सय ३७, एक सयका ११ हजार ५ सय आठ, पाँच सयका नौ सय ९० र हजारका आठ सय ४५ वटा नोट पाइएको छ ।


आम्दानीका हिसावले भने एक सयका नोटबाट ११ लाख ५० हजार आठ सय भएको छ । नोटका हिसावले यो चार महिनाको सबैभन्दा बढी रकम हो । समितिका सदस्य गोपाल न्यौपानेका अनुसार एक हजारको नोटबाट ८ लाख ४५ हजार उठेको छ भने पाँच सयबाट चार लाख ९५ हजार ।


५० का नोटबाट ७ लाख ४६ हजार ८ सय ५० संकलन भएको छ । २० का नोटबाट चार लाख ४६ हजार, १० का बाट ५ लाख २० हजार र पाँचका नोटबाट ३ लाख ७४ हजार पाँच सय जम्मा भएको छ । पाथीभरामा चढाएको पैसा संकलन गरेर मन्दिर परिसरमा टक्टक्याउने र माथिल्लो फेदी अस्थायी प्रहरी चौकीमा ल्याएर राखिन्छ । यहाँ नोट पैसा राख्ने बाकस राखिएको छ ।


यसको चावी प्रहरी र मन्दिरका कर्मचारीले एक/एक वटा राखेका छन् । बोरामा लगाएर ल्याएको नोटलाई सदरमुकाम फुङलिङमा सटही गरिन्छ । प्रत्येक नोटको रङ, फूलपाती टक्टक्याएपछि मिलाएर बिटो बनाउने र बैंकमा पुर्‍याउने गरिएको छ ।


गणनास्थल जिल्ला समन्वय समितिको कोठामा भने सिसिक्यामरा राखिएको छ । नोट बाहेकका सिक्का पैसा भने बोरामा सदरमुकाम ल्याएर बैंकलाई जिम्मा दिइन्छ । यो पटकदेखि सिक्का पैसा समितिकै तर्फबाट सरसफाइ गर्ने, टल्काउने र बैंकमा बुझाउने तयारी गरिएको भट्टराईले बताए । बैंकले पनि सफा गरेर ल्याउन प्रस्ताव गर्ने गरेका छन् । गत वर्ष झापा दमकको कन्काई बैंकले सफा गर्ने गरी लगेको थियो । सफा गर्दा लाग्ने पैसा भने समितिले नै बेहोर्नुपर्छ ।


गत वर्ष कन्काई बैंकले धुने, टल्काउने आफैंले गरेको थियो । राष्ट्र बैंकले रिट्ठाको धूलो, सर्फ पानीले धोएर सफा गर्न र धानको ढुटोले पुछ्न सुझाउने गरेको छ ।

प्रकाशित : पुस १, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?