२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘पाथीभराको प्रचार प्रसारमा कमी’

पाथीभराका यात्रु बोक्ने चालक मन्दिरको महिमाबारे अनभिज्ञ
पर्यटकलाई गरिने सत्कार सहयोगमा नपुगेको गुनासो

ताप्लेजुङ र इलाम — भारतको सिक्किमका कानुन मन्त्री विक्रम प्रधान वर्षमा एकपटक पाथीभरा दर्शनका लागि आउँछन् । यो वर्ष पनि गत कात्तिकमा आए र फर्किए । यो उनको छैटौं वर्षको पाथीभरा दर्शन हो ।

‘पाथीभराको प्रचार प्रसारमा कमी’

अनौपचारिक रूपमा घरपरिवार साथीभाइसँग आउने उनले प्रत्येक पटक गाडीमा यात्रा गर्दा चालकलाई पाथीभरा माताको महिमा के हो भनेर सोध्ने गरेका छन् । नेपाल प्रवेश गरेपछि काँकडभिट्टादेखि यातायातका साधन पुग्ने फुङलिङ नगरपालिका १० फुरुम्वूको काफ्ले पार्टीसम्म पुग्दा आफु चढेको सवारी चालक र अरू चालकलाई भेटे जिज्ञासा राख्ने गरेका छन् ।


उनले पाउने जवाफ भने, ‘खै, मलाई त थाहा छैन,’ भन्ने मात्रै हुन्छ । छैटौं वर्षको अवधिमा उनले चालकका मुखबाट पाथीभराको महत्त्वबारे सुन्न पाएका छैनन् । यो कुरा उनले पाथीभराको विकासमा क्रियाशील समितिदेखि ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदसम्मलाई सुनाए ।


ग्रामीण पर्यटनको विकासमा क्रियाशील भारतको सिलीगुडिका राज बसुको बुझाइमा पर्यटनको विकास गर्ने पहिलो खुड्किलो गाडीका चालक हुन्, त्यसपछि होटल व्यवसायी । उनीहरूको व्यवहारले पर्यटकीय विकास र प्रचार हुने कि नहुने भन्ने कुराको निर्धारण गर्छ । भारतको कोलकातामा सुन्तला महोत्सव गरेर नेपाली भासिलाई एकैथलोमा जुटाएका उनले पूर्वी नेपालको एक नम्बर प्रदेशको पर्यटन विकासको चाहना राखेका छन् ।


यसले नेपाल र भारतको पूर्वी हिमालय क्षेत्र समेट्ने उनको बुझाइ छ । यसै विषयमा आफ्नो राय प्रस्तुत गर्न उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौंमै गएर भेटेका छन् । प्रधान र बसुमात्रै होइन ग्रामीण पर्यटन प्रवद्र्धनमा क्रियाशील ग्रीन जेनेरेशन झापाका अध्यक्ष अर्जुन कार्की होटल व्यवसायी र यातायात चालकको व्यवहारमा परिवर्तन ल्याए पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण उपलब्धि हुने बताउँछन् ।


त्यसका लागि आफ्नो संस्थाले तालिमको व्यवस्था गर्न पर्यटन बोर्डमा प्रस्ताव गरेको उनले बताए ।

‘उहाँहरू (पर्यटनबोर्ड) ले पोजेटिभ रूपमा लिनु भएको छ, हाम्रो मान्छेको संस्कार राम्रो भए पर्यटन क्षेत्र राम्रो हुन्छ,’ कार्कीले थपे, ‘पूर्वी नेपालको पर्यटकीय क्षेत्रको राम्रो प्याकेज बनाए, भारतको नर्थ र वेस्ट बंगालका पर्यटक बर्सेनि करिव ५ लाखको संख्यामा ल्याउन सकिने आँकलन छ ।’


अहिले ती क्षेत्रका पर्यटक सिक्किम जाने गरेको र एकै ठाउँमा गइरहनेहरूले नयाँ गन्तव्य खोज्ने गरेको कार्की बताउँछन् । सिक्किमका पर्यटकीयस्थल बनावटी भए पनि चालक, व्यवसायीको व्यवहार राम्रो भएको कार्कीको दाबी छ । उनको भोगाइमा त्यहाँका चालकले साना, ठूला सबैखाले पर्यटकलाई नमस्कार, गुडमर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भनेर सम्बोधन गर्छन् ।


होटलदेखि बस्नेसम्मको चाँजो मिलाइदिन्छन । हरेक पर्यटकीय स्थलबारे जानकारी गराउँछन् र जाउजाउ बनाउँछन् । त्यहाँको ट्रान्सपोर्टेसन पारदर्शी छ । हाम्रोमा नेपालको प्रवेशद्वार काँकरभिट्टादेखि नै ठीक विपरीत छ । गाडीमा बोलाउने, चढाउने फरकफरक हुन्छन् ।


रेटको कुरा हुँदैन यात्रु बोलाइदिएको कमिसन यात्रुलाई नै बोकाउँछन् । यात्रुको अवस्थालाई ध्यान नदिएर डिस्को गीत घन्काइदिन्छन् । पर्यटन बोर्ड र ट्राभल एजेन्सीले प्याकेजको व्यवस्था मिलाउनुपर्नेे कार्कीको जोड छ । रुट पर्मिटको व्यवस्था भन्सारबाटै भए बीच बाटोमा पुगेका पर्यटकले दु:ख नपाउने भएकाले सरकारले यसमा गम्भीर हुनुपर्ने पर्यटन व्यवसायी बताउँछन् ।


भन्सार नाकामा नहुँदा आफ्नै गाडी लिएर गएका पर्यटकले आधा बाटोमा दु:ख पाउने गरेका छन् । पर्यटकीय स्थल भएका सबै ठाउँमा सबै सिजनमा चलाउन सक्ने गरिएको होटल खोल्न नसकिने भएकाले होमस्टे बढाउन जोड दिनुपर्ने वसुले बताए । प्रत्येक घरमा प्रत्येक दिन मान्छे हुने, खाने बस्ने व्यवस्थापन नियमित हुने भएकाले होमस्टे सञ्चालन अनिवार्य रहेको उनले बताए । होमस्टे भए कुनै पनि पर्यटकले खान बस्ने कुराको गुनासो गर्न नपाउने बसुले सुनाए ।


धार्मिक, हिमाली शृङखला मात्रै नभएर कृषि पर्यटनलाई पनि सँगै लैजानुपर्नेमा उनको जोड छ । ‘यसो गर्न सके पर्यटन कहिले पनि सिद्धिदैन, सधैंभरि ताजा रहन्छ,’ उनले भने । अहिले धार्मिक पर्यटकको रूपमा भारतको सिक्किम, आशाम, मनिपुर लगायतको क्षेत्रबाट आउने गरेका छन् ।


भुटानबाट आउने धेरैले हलेसी महादेवस्थल जाने चाहना गर्छन् भने बाँकी पाथीभरा जान चाहन्छन् । धार्मिक स्थलबाहेक कञ्चनजंघा, कुम्भकर्ण, मकालु लगायतका हिमशृङखला भएको क्षेत्रमा कम पर्यटक आउने होटल व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष दिनेश खवासले बताए ।


उनले व्यवसायीहरूलाई तालिमको भने खाँचो रहेको स्विकारे । ‘नयाँ कुरा सिक्ने, गर्ने काम त भइनैरहेको छ, तैपनि सीपमूलक तालिम भए अझ राम्रो हुन्छ,’ खवासले भने । व्यवसायीहरूले पर्यटकलाई एक पटकको मात्रै सम्झने गरेकाले समस्या रहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईले बताए ।


पूर्वी नेपालमा सडकको पहुँचभन्दा नजिकै हिमाली शृङखलाहरू, लालीगुराँस क्षेत्र, धार्मिकस्थल भएकाले प्राकृतिक पर्यटकीय स्थलहरू प्रसस्तै रहेका छन् । केवल योजना बनाएर निम्त्याउन मात्रै बाँकी रहेको पर्यटन व्यवसायीले सुनाए ।

प्रकाशित : पुस २, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?