कोसी अञ्चल अस्पतालमा बिरामीको चाप

जितेन्द्र साह

विराटनगर — कोसी अञ्चल अस्पतालको स्थापना भएको १ सय २८ वर्ष भयो । यो अवधिमा महानगर विराटनगर र वरिपरिका अन्य नगरमा ठूलाठूला निजी अस्पताल, नर्सिङ होम र क्लिनिक खुले । 

कोसी अञ्चल अस्पतालमा बिरामीको चाप

पूर्वाञ्चलका १६ जिल्लामा थुप्रै सरकारी एवं निजी स्वास्थ्य संस्थाको जन्म भयो । तर १९४७ सालमा स्थापना भएको विराटनगरस्थित उक्त अञ्चल अस्पतालमा बिरामीको चाप कहिल्यै घटेन ।


जहिले र जुन विभागमा घुइँचो मात्र देखिन्छ । सहुलियत शुल्क, अर्धशुल्क, न्यून शुल्क र नि:शुल्क उपचार हुने उक्त अस्पतालको आकस्मिक एवं बहिरंगमा दिनहुँ औषत एक हजार सेवाग्राही आउँछन् ।


निम्न मध्यमवर्गीय एवं विपन्नले महँगो शुल्क तिरेर निजि स्वास्थ्य संस्थाको विज्ञबाट उपचार सेवा लिन नसक्नु बिरामीको चाप कायम रहने प्रमुख कारण भएको उक्त अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रोशन पोखरेलले बताए ।


उनको अनुसार यस अस्पतालमा लगभग सम्पूर्ण रोगका लागि एमडी स्तरको चिकित्सकको सुविधा उपलब्ध हुनुले समेत बिरामीलाई आकर्षित गरिरहेको हुन्छ । उक्त अस्पतालमा सरकारले १५ जना र अस्पताल विकास समितिले २५ जना मेडिकल अधिकृत नियुक्त गरेको छ ।


बार्षिक झन्डै २ लाख ३० हजार सेवाग्राहीले सेवा लिने गरेको उक्त अस्पतालले जनाएको छ । यहाँ मेडिसिन, हाड, छाला, प्रसुति, मुटु, दाँत, क्यान्सर र सघन उपचार कक्षलगायत १६ विभाग छ । ‘हाडजोर्नी दु:खेर यहाँ आएको हुँ,’ ५६ वर्षीय परशुराम कार्कीले भने । मोरङ केराबारी गाउँपालिका–९, देवीझौडाका उनले ३५ वर्षदेखि उपचारका लागि आउने गरेको बताए । ‘बिहानदेखि दिउँसोसम्म भएभरका सबै ठूला डक्टर यही भेट्छन्, उपचार गराउन सहज हुन्छ,’ कार्कीले भने, ‘प्राइभेट अस्पताल र क्लिनिकमा जानु परेको छैन ।’


चौविसै घण्टा आकस्मिक सेवा भएको यो अस्पतालमा बिहान ९.३० बजेदेखि बिरामीको लाम रहुन्जेल बहिरंग सेवा सञ्चालन हुन्छ । पालो रहेको चिकित्सक नआएमा तुरुन्तै पूर्जि काउन्टर र अस्पताल प्रशासनमा गुनासो गर्ने प्रबन्ध मिलाइएको छ ।


‘सेवाग्राहीले तत्काल त्यो चिकित्सक आउने/नआउने जानकारी पाउनु पर्छ र वैकल्पिक चिकित्सक समेत पठाउँछौं,’ पोखरेलले भने, ‘सेवाग्राहीले अस्पतालमा भोग्ने कुनै पनि समस्या र कर्मचारीले खराब व्यवहार गरेमा मेसुलाई, सामाजिक सेवा इकाई तथा प्रशासनमा सूचना दिन सक्छन् ।’


सबैभन्दा बढी मेडिसिन विभागमा दैनिक औसत ३ सय ५०, प्रयोगशालामा ३ सय, प्रसूतिमा १ सय ५०, छालामा २ सय ५०, हाड, नाक, कान, घाँटी, एक्सरे र सल्यक्रिया सय/सय जना, दन्त विभागमा ८० जना, मुटु एवं रक्तचापसम्बन्धी ४० सेवाग्राही आउँछन् ।


‘केही जटिल प्रकृतिका परीक्षण बाहेक दिसापिसाब र रगत परीक्षणको सेम्पल दिएकै दिन दिउँसो २ बजेसम्म रिपोर्ट दिन्छौं,’ प्रयोगशाला निरीक्षक ललित चौधरीले भने । उक्त अस्पतालमा थायरायड र मधुमेहका कठिनभन्दा कठिन परीक्षण हुन्छ ।


‘सरकारी अनुदानबाट आएको विश्वकै उत्कृष्ट एवं महँगा यन्त्रबाट जाँचिने हुनाले ल्याब रिपोर्ट विश्वसनीय छ,’ उनले भने । निजी अस्पतालको तुलनामा यहाँ आधी, एक चौथाइ एवं न्यून शुल्कमा एक्सरे जाँच एवं विभिन्न खाले परीक्षण हुने गरेको प्रयोगशाला प्रमुख जयबेन्द्र यादवले जनाए ।


सरकार र अस्पताल विकास समितिद्वारा नियुक्त दुई विज्ञ चिकित्सकले यहाँ मुटु एवं रक्तचापको बिरामीलाई हेर्छन् । यहाँ निजी अस्पतालभन्दा चार गुणा कम शुल्कमा मुटुको जाँचका लागि ईसीजी र इकोकार्डियोग्राम सेवा उपलब्ध छ ।


‘बिरामीको अवस्था हेरि औषधि दिने, आईसीयूमा राखेर उपचार गर्ने, मुटुको भल्भ फेर्ने वा सल्यक्रियाको स्थितिमा मुलुकको उपयुक्त सरकारी अस्पतालमा रेफर गर्छौं,’ डा.सर्वेश झाले भने । उनी मुलुककै बरिष्ठ मुटुरोग विशेषज्ञमध्येका हुन् । झाले भने,‘कठिनभन्दा कठिन रोगको उपचारबाट विपन्न समुदायलाई वञ्चित हुन नदिन सरकारी अस्पतालको स्तरोन्नति हुनैपर्छ ।’


दाँतको उपचारका सम्बन्धमा यस अस्पताललाई वीर अस्पतालपछिकै स्तरिय मानिन्छ । ‘दाँतको आधारभुत उपचार बाहेक एक्सरे गर्ने र खोल्ने समेत गर्छौ,’ डा. सुधीर श्रेष्ठले भने, ‘ओपीडीमा बिरामी भएसम्म चिकित्सक टोली बस्छन् ।’ छाला तथा यौन रोग विभागमा लहरे ३ जना मेडिकल अधिकृत बस्छन् । ‘मौसमअनुरूप हुने छालाजन्य रोगबाट पीडित बढी आउँछन्,’ डा.असित घिमिरेले भने, ‘सुरुमै आउनेभन्दा समस्या बल्झिएपछि आउने बढी हुन्छन् ।’


‘खल्तीमा एक सुको नभएका पनि हाम्रो अस्पतालमा आइपुगे भने उपचार पाएरै जान्छन्,’ मेसु पोखरेलले भने । सरकारले अस्पतालको सामाजिक सेवा एकाइमार्फत बिरामीको आर्थिक अवस्था बुझी अर्धशुल्क, न्यून शुल्क र नि:शुल्क उपचार समेत उपलब्ध गराइरहेको छ ।


उनको अनुसार यो सुविधाअन्तर्गत अस्पतालले वार्षिक करिब डेढ करोड रुपैयाँ बराबरको छुट दिँदै आएको छ । तर सरकारले गत वर्ष अस्पताललाई ६५ लाख र यसपालि मात्र ४५ लाख रुपैयाँ उपलब्ध गराएको उनले बताए ।


‘सरकारले दिएको रकम सकियो, अस्पतालकै आम्दानीबाट धानिरहेका छौं,’ मेसु पोखरेलले भने । अस्पतालको वार्षिक आय करिब १२ करोड रुपैयाँ छ । यसमध्ये लगभग १० करोड रुपैयाँ तलबभत्ता वितरणमै सकिन्छ । ‘बाँकी रकमले विविध खाले म्यानट्यानेन्स गर्दै ठीक छ,’ उनले भने ।

प्रकाशित : पुस ३, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?